पथरी (मोरङ), असार १३, २०७३ । मोरङको दुर्गम गाउँ सिंहदेवीमा स्थानीय नारायण राईले सुरु गर्नुभएको चियाखेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ ।
चियाको व्यावसायिक खेती भन्ने बित्तिकै आम नेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । विकासको कुनै पूर्वाधार नभएको बेला १८ वर्ष अघि राईले ५० रोपनीमा सुरु गर्नुभएको चियाखेती हाल २५० रोपनीमा विस्तार भएको छ ।
वैदेशिक रोजगारमा ओमन पुगेर ११ वर्ष कमाएको सबै आर्जन उहाँले चियाखेतीमा लगाउनु भएको छ । नारायणकी पत्नी बीना खजुम भन्नुहुन्छ– “चिया रोप्दा धेरैले खिल्ली उठाए तर अहिले राम्रै भएको छ ।” उहाँले आफ्नो मातृभूमि टि स्टेट कम्पनीले वार्षिक तीन हजार किलो ग्रिन टी उत्पादन गरिरहेको बताउनुभयो ।
आफ्नै प्रशोधन मेसिनले प्रशोधित ग्रिन टी (हरियो चिया)को माग उच्च भए पनि मागअनुसार उत्पादन गर्न नसकेको सञ्चालिका बीनाले बताउनुभयो । चिया बगानमा हाल गाउँकै ३० जनाले रोजगार पाएका छन् ।
चियाखेतीमा लगातार लाग्नुभएका राईलाई २०७१ मा सरकारले राष्ट्रपति सम्मानबाट पुरस्कृत ग¥यो । पुरस्कृत भएपछि चियाखेतीप्रति उहाँको झनै लगानी र उत्साह बढेको छ । बीना भन्नुहुन्छ– “धेरै जिम्मेवारी थपिएको महसुस भएको छ । नारायणको दम्पतीले चियाबाट चमत्कार देखाएपछि स्थानीय वुद्धमान राई, डकलसिंह राईलगायतका थुपै्र किसानले आफ्नो पाखो बारीमा चियाखेती सुरु गर्नुभएको छ । डकलसिंहले भन्नुभयो– “चियाखेती भर्खरै सुरु गरेको हो राम्रो भइरहेको छ ।”
उत्तरी मोरङका आठ वटा पहाडी गाविसमध्ये सबैभन्दा दुर्गम गाविस हो, सिंहदेवी । २०६८ सालको जनगणनाअनुसार जम्मा दुई हजार ४७८ जनसङ्ख्या रहेको सिंहदेवीमा ५६६ घरधुरी रहेका छन् ।
तर, मोरङका अन्य पहाडी गाविसको तुलनामा निक्कै समृद्ध मानिएको सिंहदेवी गाविसबाट बसाइँ सर्ने क्रम रोकिएको छ । स्थानीय सरोज अधिकारीका अनुसार सिंहदेवीमा जेफाल पर्यटन विकास संस्थाको गठनसँगै होमस्टे सुरु भयो । यहाँ होमस्टे, नगदेबालीको खेतीमा आकर्षण र सडक जोडिएपछि हाल आएर तराईका मानिस जग्गा किन्न थालेका हुन । रासस