राजनीति

प्रधानमन्त्री दाहालको भारत भ्रमण, यस्तो छ दिल्लीको आन्तारिक तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ३० भदौदेखि २ असोजसम्म औपचारिक भारत भ्रमणमा जाने निश्चित भएको छ । प्रधानमन्त्रीको विशेष दूतका रूपमा २ देखि ७ भदौसम्म भारत भ्रमण गरेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले भ्रमणको मिति तय गरेका हुन् । हालसम्म कूटनीतिक च्यानलमार्फत तय भएअनुसार ३१ भदौमा प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच औपचारिक वार्ता हुनेछ । चारदिने भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डले दिल्लीबाहिरको कुनै एउटा प्रान्तको भ्रमण गर्ने गरी कार्यतालिका तयार भइरहेको छ । यद्यपि, नेपाल र भारत सरकारले भ्रमणबारे औपचारिक घोषणा गर्न बाँकी रहेको भन्दै नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।

मोदीको प्रतीक्षा
प्रधानमन्त्री प्रचण्डका विशेष दूत भएर दिल्ली पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिलाई ४ भदौमा भारतका प्रधानमन्त्री मोदीले सेभेन रेसकोर्सस्थित निवासमा भने, ‘भारत सरकार प्रधानमन्त्री प्रचण्डसँग भेटका लागि व्यग्र प्रतीक्षारत छ । म आफैँ पनि व्यक्तिगत रूपमा उहाँलाई स्वागत गर्न आतुर छु ।’ मोदीसँग करिब ५० मिनेट कुराकानीमा निधि प्रधानमन्त्री प्रचण्डलाई राम्रो स्वागत गर्ने दिल्लीको मुड बुझेर फर्किए । भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीका अनुसार प्रचण्डले भारतमा भव्य स्वागत र सम्मान पाउनेछन् र विकाससँग सम्बन्धित प्रचण्डको चाहना र नेपाल सरकारले कूटनीतिक च्यानलमार्फत पठाएका एजेन्डामा खुलेर छलफल गर्न भारत तयार छ ।
पञ्चेश्वरको डिपिआर टुंगिने
लामो समयदेखि सहमति हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० यसपटक प्रधानमन्त्रीको भ्रमणका क्रममा टुंगो लाग्नेमा नेपाल र भारत दुवै पक्ष विश्वस्त छन् । दुवै पक्षबीच यसबारे कूटनीतिक र प्राविधिक तहमा कुराकानी भइरहेको छ । डिपिआर टुंगिएमा दुई वर्षभित्र यसको कार्यान्वयन प्रारम्भ हुनेछ ।
विकासकेन्द्रित छलफल हुने
भारतीय उच्च अधिकारीले प्रधानमन्त्री प्रचण्डको आसन्न भ्रमणमा विकास र सहयोगकेन्द्रित छलफल हुने बताएको छ । ‘प्रधानमन्त्री प्रचण्ड आफ्नो छोटो कार्यकालका बीचमा पनि विकास निर्माणका क्षेत्रमा केही स्मरणयोग्य काम गर्न चाहनुहुन्छ भन्ने हामीले बुझेका छौँ, त्यहीअनुसार नेपालबाट विषयगत बुँदाहरू पनि आएका छन्,’ भारतीय विदेश मन्त्रालयका एक अधिकारीले अघिल्लो साता दिल्लीमा नयाँ पत्रिकासँग भने, ‘भारत र नेपालका केही खास राजनीतिक र सुरक्षाजन्य विषयमा कुराकानी होला, तर मुख्य रूपमा कुराकानी विकासमा केन्द्रित गरौँ भन्ने नेपालको चाहना पाएका छौँ । हामी त्यहीअनुसार तयारी गर्दै छौँ ।’
भूकम्पपीडितलाई सहयोग
भूकम्पपीडित प्रतिपरिवारलाई भारतका तर्फबाट एक लाख रुपैयाँका दरले सहयोग गर्न नेपालले कूटनीतिक च्यानलमार्फत प्रस्ताव पठाइसकेको छ । यसबारे उपप्रधानमन्त्री निधिले भारतीय अधिकारीसँग छलफल गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी र विदेशमन्त्री सुषमा स्वराजले प्रधानमन्त्रीको भ्रमणमा भारतका तर्फबाट यो सहयोग घोषणा गर्ने चाहना व्यक्त गरे । यसअघि भारतले दिएको अनुदान सम्झौतामा नकट्ने गरी भारतले भूकम्पपीडितलाई सहयोग गर्नेसम्बन्धी सम्झौता हुनसक्ने सम्भावना छ ।
भ्रमणका सम्भावित एजेन्डा
– भूकम्पपीडित परिवारलाई सहयोग
– हतियार खरिदबापत तिर्नुपर्ने रकम मिनाहा
– बौद्ध र हिन्दू सर्किटहरूको निर्माण
– पशुपति क्षेत्रका मन्दिरहरूको पुनर्निर्माण, धर्मशाला निर्माण
– खुला आकाश सम्झौता
– नेपाल प्रहरी एकेडेमी निर्माण
– पूर्व–पश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन
– हुलाकी राजमार्ग निर्माणमा थप सहयोग
– कास्कीको ढिकुरपोखरीमा पोलिटेक्निक इन्स्टिच्युट स्थापना
– पञ्चेश्वरको डिपिआर टुंग्याउने
– नेपाली सेनाका लागि हेलिकोप्टर खरिद
-सम्झौताहरूको समयबद्ध कार्यान्वयन