समाचार

स्वास्थ्यमा ५० प्रतिशत कर्मचारी अभाव

सिन्धुली । यहाँका विभिन्न स्वास्थ्य केन्द्रमा ५० प्रतिशत कर्मचारी अभाव छ ।

कर्मचारीका अभावमा स्वास्थ्य केन्द्र नै अहिले बन्द हुने अवस्थामा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लामा सरकारी स्वामित्वका ५५ स्वास्थ्य संस्थामा ३७२ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि हाल १४३ जना स्वास्थ्यकर्मीको दरबन्दी खाली रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका निमित्त कार्यालय प्रमुख दीपेन्द्र रायले बताए।

गत असारसम्ममा केही कर्मचारी करारमा राखिए पनि साउनदेखि उनीहरुसँगको करार अवधि सकिएकाले जिल्लाको स्वास्थ्य क्षेत्रमा अहिले कर्मचारीको अभाव रहेको रायले बताए। कर्मचारीको अभावमा जिल्लाभित्र सञ्चालित प्रसूतिगृह समेत बन्द हुने अवस्थामा पुगेको छ ।

हाल जिल्लाका २० स्थानमा प्रसूतिगृह सञ्चालनमा छन् । तीमध्ये अधिकांश एक अनमीका भरमा मात्रै सञ्चालन हुँदै आएको छ । निमित्त कार्यालय प्रमुख रायले भने “एक जना कर्मचारीले कति सेवा सुविधा दिने, उसको विकल्प नहुँदा वा ऊ बिरामी भएको अवस्थामा प्रसूतिगृह बन्द गर्नुको विकल्प छैन, जिल्लाका प्रत्येक प्रसूतिगृहमा मासिक १२/१५ जना महिला प्रसूतिका लागि आउने गरेका छन् तर पनि सेवाग्राहीको चापको आधारमा कर्मचारी धेरै अपुग रहेका छन् ।”

जिल्लाका २० स्थानमा सञ्चालित प्रसूतिगृहका कारण जिल्लामा मातृ शिशु मृत्युदर शून्यमा झरे पनि कर्मचारीको अभावमा यो सङ्ख्या बढ्न सक्ने आङ्कल गर्न थालिएको छ । अहिले प्रसूतिगृह सञ्चालन रहेका स्थानमा कर्मचारी नभएको अवस्थामा गर्भवतीले घरमा नै नवजात जन्माउन बाध्य हुन्छन् भने स्वास्थ्यमा कुनै जटिल समस्या आए मृत्यु समेत हुन्छ । यदि प्रसूतिगृहलाई नियमित रुपमा सञ्चालन गर्ने हो भने कम्तीमा पनि दुई जना वा त्यसभन्दा बढी सङ्ख्यामा अनमी वा स्टाफ नर्स चाहिने रायले बताए।

कर्मचारीको चरम अभाव भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले दरबन्दीअनुसार ५१ अहेव र अनमीको माग गर्दै लोकसेवालाई पत्र पठाइएको कार्यालयले जनाएको छ । कार्यालयले यस वर्षका लागि १६ अहेव र ३२ अन्य कर्मचारीको समेत माग गरेको छ ।

कर्मचारी अभावका कारण जिल्लाका १० स्थानमा रहेका खोप केन्द्र समेत सञ्चालन हुन सकेका छैनन् । निमित्त कार्यालय प्रमुख रायले भन्नुभयो “करारमा राखेर भए पनि जनस्वास्थ्य कार्यालयले जिल्लाका १९५ खोप केन्द्र सञ्चालन गरी जिल्लाका ८४ प्रतिशत बालबालिकालाई खोप दिन सफल भए पनि अब स्थायी कर्मचारी वा करारका कर्मचारी तत्काल नराख्ने हो भने खोप लिने बालबालिकाको सङ्ख्या ५० प्रतिशतमा झर्ने निश्चित छ ।”
कार्यालयका अनुसार सरकारले सिन्धुलीमा सात हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको छ । रासस