पु.समाचार

यस्तो थियो प्रचण्ड र मोदीबीच भएको गोप्य कुराकानी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए ।

उच्च स्रोतका अनुसार मोदीले यो सम्बन्ध सुदृढ पार्ने दायित्व वर्तमान नेतृत्वले लिनुपर्ने भन्दै प्रचण्डको पनि समान दृष्टिकोण देखेर आफू प्रभावित भएको बताएका थिए । ‘नेपाल–भारत सम्बन्ध परिपूर्ण बनाउँ, दुवै पक्षलाई लाभ हुन्छ,’ मोदीको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले मोदीलाई धार्मिक र राजनीतिक भ्रमणका लागि दिएको निम्तोको जवाफमा मोदीले छिटै समय मिलाउने पनि बताएका छन् ।
भेटमा मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले राष्ट्रपतिजी जाँदै हुनुहुन्छ, यो सफल पारौँ । म पनि नेपाल भ्रमणको समय जुराउनेछु ।’ दुवै प्रधानमन्त्रीबीच हटलाइनमा रहेर आपसी समस्या समाधान गर्ने सहमति भएको छ ।

यसबारे मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसलाई चाँडै नै व्यवस्थित बनाउन म हरसम्भव कोसिस गर्नेछु ।’ डिपिआरमा मोदीको जोड भारतीय प्रधानमन्त्री मोदीले माथिल्लो कर्णाली, सप्तकोसी उच्च बाँध र पञ्चेश्वरको नाम नै लिएर डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्न नेपालसँग आग्रह गरेका छन् ।

‘पहिला डिपिआर तयार गरौँ, त्यसपछि शीघ्र कार्यान्वयनमा जोड दिउँ, भारत आफ्नोतिरको सबै समस्या समाधान गर्न तयार छ, तपाईँहरू पनि गर्नुहोस्,’ मोदीको भनाइ उद्धृत गर्दै एक नेपाली अधिकारीले बताए ।

भारतीय प्रधानमन्त्री मोदीले सन् १९५० को सन्धिमा के–के संशोधन गर्ने भन्ने विषय समेटेर प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।
यसअघि सन् २०१४ मा नेपाल भ्रमण गर्दा पनि मोदीले यही भनेका थिए ।

स्रोतका अनुसार प्रचण्डसँग मोदीको भनाइ थियो, ‘के–के संशोधन गर्ने हो, प्रस्ताव ल्याउनुस्, आपसी हित र सम्बन्ध सुदृढ हुने गरी जे गर्नुपर्छ, गरौँला ।’ उनले प्रबुद्ध समूहले जनताबीचको सम्बन्ध परिवर्तित हुने गरी प्रस्ताव ल्याउने पनि अपेक्षा व्यक्त गरेका थिए ।

मोदीले एकीकृत जाँच चौकीमा नेपालतिरको समस्या समाधान गर्न आग्रह गरेका छन् । मोदीले सीमापार रेल्वेका लागि नेपालतर्फ जग्गा अधिग्रहणलगायतको समस्या समाधान गर्न पनि आग्रह गरे । पेट्रोलियम र ग्यास पाइपलाइनमा संयुक्त रूपमा काम गर्न र नयाँ सम्भावना खोज्न पनि मोदीले आग्रह गरेको स्रोतले बतायो ।

प्रचण्डसँग मोदीले काठमाडौं–लुम्बिनी रेल्वे लाइनको सर्भेका लागि बैठकमा प्रस्ताव गरेका थिए । नेपाल र चीनबीच चीनले सर्भे गर्ने सहमति यसअघि नै भइसकेको छ । ‘हामीलाई यो आग्रह गर्नुहुन्छ भने कार्यान्वयनका लागि तयार छौँ,’ मोदीको भनाइ उद्धृत गर्दै एक अधिकारीलाई उदृत गर्दै आइतबारको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।