काठमाण्डौ । काठमाण्डौ उपत्यका र यसको उत्पतिबारे निकै ठूला बहसहरु हुने गरेका छन् । त्यतिमात्र होइन, काठमाण्डौ उपत्यकाको अस्तित्व देखिएको कति भयो र यसले भावी दिनमा कतिसम्म जनघनत्वलाई थेग्न सक्छ भन्ने विषयहरु पनि बेला–बेलामा उठान भैरहेका छन् । त्यतिमात्र होइन सिमित भूगोलमा अवस्थित यो उपत्यकाले धेरै ठूलो जनघनत्वलाई थेग्न नसक्ने र राजधानीलाई बाहिर विकेन्द्रीत गर्ने बहसहरु पनि बेला–बेलामा हुने गरेका छन् ।
तर राजधानी सार्न अति महंगो हुने र यसको व्यवस्थापनलमा चर्को भार पर्ने भएकोले त्यसको साटो सरकारले मुलुकभर दशवटा क्षेत्रीय शहरहरुको परिकल्पना समेत गरिसकेको छ । यता, मुलुक संघीय ढाँचामा गएपछि राज्यहरु विकेन्द्रीत हुने र उपत्यकाको व्यवस्थापन सहज हुने आंकलन समेत गरिदैछ ।
सरकारले सारेको वैकल्पिक उपायनै उपत्यकाको व्यवस्थापनमा सही निश्कर्ष हुनसक्ने सरोकारवालाहरुको ठम्याई छ तर त्यसको साटो हामीले काठमाण्डौ उपत्यकाको भू–बनौट र यसको उत्पतिबारे एउटा छुट्टै प्रसंगलाई यहाँ समेटेका छौ, जसले प्राचीन उपत्यकामा सुरु भएको पहिलो मानव बस्ती र त्योभन्दा अघि यहाँ रहेको नागदहको रोमाञ्चक विषयलाई जोड्ने कोसिस गरिएको छ ।
प्राचीन इतिहासमा काठमाण्डौ उपत्यका आफैमा एउटा विशाल पोखरीको रुपमा रहेको थियो । यसलाई नागदह भनिन्थ्यो । नेपाली सभ्यताको बंशावली र कर्कपेटिकका अनुसार विशाल नागदहको उत्तर पश्चिम भागमा एकजना विपश्वी ऋषि बस्ने गर्दथे । जसको नाम विपश्वी बुद्ध रहेको थियो ।
उनी नागदहको उत्तर–पश्चिम अर्थात अहिलेको नागार्जुन डाँडा वरिपरि बसेका थिए । त्यही बेला उनले नागदहको उत्तर–पश्चिम भागमा एउटा कमलको विजारोपन गरिदिए । त्यसको केही समयपछि नागदहमा सुन्दर कमल फुल्यो र त्यसैमा एउटा ज्योर्तिलिङ उत्पत्ति भयो । केही समयपछि ती ऋषि आफ्ना शिष्यहरुलाई छाडेर निकै टाढा गए । त्यसको केही समयपछि सोही ठाउँमा शिखी बुद्ध, यम्भु बुद्धसँगै चीनबाट मञ्जुश्री पनि आइपुगे ।
सायद यम्भू बुद्धले नै आफैले नामाकारण गरेको हुनाले सो ज्यार्तिलिङको नाम स्वयम्भू हुन गएको इतिहासकारहरुले बताउने गरेका छन् । मञ्जुश्रीकै योजनामा सो पोखरी अर्थात नागदहलाई चोभारको गल्छीबाट छिनाएर खोलिदिए र विस्तारै काठमण्डौ उपत्यकाको भूगोल देखापरेको भनाई छ । शिखी, यम्भु र मञ्जुश्री एकैचोटी उपत्यकामा आएका थिए । त्यसको निकै सयमसम्म सो भूगोलमा बसेका मञ्जुश्रीले नै दह खोलिदिए र केही समयपछि काठमाण्डौ उपत्यकामा पहिलो वस्ती बसालिदिए ।
काठमाण्डौ उपत्यका वरिपरिका डाँडामा भने त्यसअघि नै वस्तीहरु थिए । उनले निर्माण गरेको पहिलो बस्ती स्वयम्भूदेखि जयवागेश्वरीसम्म फैलिएको थियो । यसले पशुपतिनाथको अस्तित्व पनि सो समयभन्दा अगाडि देखिनै थियो भन्ने देखिन्छ । यद्यपि, पशुपतिनाथको स्थापना र त्यसको विकासमा प्राचीन राजाहरुको इतिहाससँग पनि जोडिने गरेको छ ।
मञ्जुश्रीले सो पहिलो बस्ती जसलाई क्षेत्रीयहरुको राज्य घोषणा गरियो । त्यसमा धर्माकर नाम गरेका एकजना क्षेत्रीयलाई राजा बनाएर मञ्जुश्री चीन फर्किएका थिए । त्यसपछि काठमाण्डौ उपत्यकाको सुन्दर र मलिलो भूगोलमा सोही वस्तीका मानिसहरु गाई र भैसी गोठालाका रुपमा देखापरे ।
पछि तिनैलाई इतिहासकारहरुले गोपालवंशी र महिषपाल वंशी घोषणा गरिएको देखिन्छ । त्यहीबेला नीप जातिहरुको बसोबास भएकोले यस उपत्यकाको नाम ‘नेपाल’ भएको समेत भनाई छ । यद्यपि, ‘नेपाल शब्द’को बारेमा भने अनेकौ किंवदन्ती समेत पाइन्छन् । यो करिब पाँचहजार वर्षअगाडिको इतिहास हो । त्यसपछि विस्तारै कपिलवस्तु, जनकपुर, सिम्रौनगढतिरबाट पनि विभिन्न जातिहरु काठमाण्डौको सुन्दर भूगोल र मलिलो माटोमा रमाउन थाले ।
शाक्य र लिच्छबीहरु समेत काठमाण्डौ उपत्यकामा कपिलवस्तुबाटनै आएको बताईन्छ । कपिलवस्तु र रामग्राम राज्यको रोहीणी नदीको पानी आफ्नो खेतीमा प्रयोग गर्ने विषयमा भीषण लडाई हुँदा त्यसबेला सिद्धार्थ गौतमले सो मुद्धाको फस्र्यौट समेत गरेका थिए । रामग्राम गौतम बुद्धको मावली समेत थियो ।
पछि कपिलवस्तु र रामग्राममा सोही खालका द्धन्द्धहरु देखापरेपछि शाक्य लागयतका जातीहरु काठमाण्डौ उपत्यकामा आएको बताइन्छ । त्यसपछि विस्तारै काठमाण्डौ उपत्यकाले आफ्नो अस्तित्व देखाउँदै गएको इतिहासमा उल्लेख छ ।
त्यसर्थ, यो भूमी निकै मलिलो मात्र होइन, पोखरीका कारण निकै कमजोर पीँध भएको समेत हुनसक्ने भूगोलविदहरुको भनाई छ । यसमा शहरीकरणको व्यवस्थापन गर्दा सयौं वर्षपछिको दुरदर्शिता प्रदर्शन गरेर मात्र गर्नुपर्ने सरोकारवालाहरु बताउने गर्छन् । श्रोतः विभिन्न ऐतिहासिक पुस्तक र गुगलमार्फत खोज