पु.समाचार

भारतीय राष्ट्रपतिको बुधबारबाट हुने नेपाल भ्रमणको बिषयमा नेताहरु यसो भन्छन् !

काठमाडौं । विभिन्न पार्टी नेता एवम् पूर्व परराष्ट्रमन्त्रीहरुले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने नेपालको तीन दिने राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धमा न्यानोपन र व्यापकता बढ्ने बताएका छन् ।

नेकपा ( एमाले) का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले छिमेकी देशको राष्ट्राध्यक्षको यस भ्रमणले आपसी सम्बन्धमा न्यानोपन ल्याउने बताए । उनले भने, “नेपालले संयुक्त राष्ट्र सङ्घको वडापत्रअनुरुप यस भ्रमणलाई राष्ट्रिय हितमा उपयोग गर्नुपर्छ ।”

नेता रावलले भ्रमणको तयारीबारे सरकारले आफूहरुसँग परामर्श नगरेको र भारतीय राष्ट्रपति आउने दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको विषयमा भने आलोचना गरे ।

नेकपा (माओवादी केन्द्र) नेता एवम् पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले दुई देशबीचको भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउने बताउँदै भ्रमण कार्यकारी प्रकारको नभएकाले दुई देशबीचका ठोस समस्याको समाधानतर्फभन्दा पनि आपसी सम्बन्ध राम्रो बनाउने वातावरण सिर्जनामा केन्द्रित हुने अपेक्षा व्यक्त गरे ।

नेपाली काँग्रेसका नेता एवम् सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणले आपसी सद्भाव अभिवृद्धि गर्ने भएकाले यसको कहाँ कति सदुपयोग गर्न सकिन्छ भन्नेबारेमा नेपालले सोच्नुपर्ने बताए । केसीले आपसी सम्बन्ध र आर्थिक विकासका दृष्टिले भ्रमणले सानिध्यता बढाउने धारणा राखे ।

मन्त्री केसीले भने, “नेपालको राष्ट्रिय हित र स्वाभिमानका साथै सम्बन्ध सुदृढ बनाउने गरी यसलाई अवसरका रुपमा प्रयोग गर्न सक्नुपर्छ ।”

त्यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पछिल्ला समयमा नेपाल र भारतबीचको सम्बन्धमा सुधार आएको र भ्रमणले थप सद्भाव बढाउने प्रतिक्रिया दिए । सामाजिक, आर्थिक र धार्मिकरुपमा पनि भ्रमणको महत्व रहेकाले यसबाट सम्बन्धमा घनिष्टता बढ्ने ठाकुरको भनाइ छ ।

यसरी गरियो सवारी पूर्वाभ्यास

भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणका लागि सवारी आवागमनको पूर्व अभ्यास मंगलबार गरिएको छ । सवारी पूर्व अभ्यासका क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकलको प्रयोग गरिएको थियो ।

नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पूर्वअभ्यास सोल्टी होटल पुगी पुनः प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आएको थियो ।

राष्ट्रिय सभागृहबाट लैनचौरस्थित भारतीय दुतावास तथा लैनचौरमै रहेको रेडिसन होटल पुगी राष्ट्रपति कार्यालय, शितलनिवासमा पूर्व अभ्यास सवारी चलाइएको थियो ।

पूर्व अभ्यास सवारी शीतलनिवासबाट बत्तीसपुतलीस्थित होटल द्वारीकाज पुगी पशुपति मन्दिरसम्म गएको थियो । पशुपति मन्दिरबाट राष्ट्रपति मुखर्जी बस्ने भनिएको बौद्धस्थित होटल हायात पुगी सवारी पूर्व अभ्यास समापन भएको थियो ।
सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङ, सञ्चार सम्बन्ध बिच्छेद गरिदिने जामर सहितको गाडी तथा एम्बुलेन्स लगायतको व्यवस्था गरिनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले राष्ट्रपति मुखर्जी पुग्ने स्थानहरुमा आज सवारी आवागमनको पूर्वअभ्यास गरिएको जानकारी दिए ।
भाइटीकामा अवरोध

सवारी पूर्व अभ्यासका कारण केही समय सवारी अवरोध हुँदा तिहारमा टीका लगाउन हिँडेका सर्वसाधारणले कठिनाइ भोग्नु परेको थियो । तर, तिहारका कारण सडकमा कम सवारी गुडेकाले अन्य समयजस्तो लामो जाम भने सर्वसाधारणले भोग्नु परेन ।

भ्रमणको क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनका विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

भ्रमणको तयारी पूराः परराष्ट्र

भारतका राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीनदिने नेपालको राजकीय भ्रमणको तयारी पूरा भएको भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जीबाट हुन लागेको राजकीय भ्रणमका लागि आवश्यक सुरक्षासहित सबै प्रबन्ध मिलाइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका राष्ट्राध्यक्षको भ्रमण हुँदा सुरक्षालाई हामीले मुख्य प्राथमिकता भएकाले त्यसको जिम्मेवारीका साथ सम्पूर्ण तयारी पूरा गरिएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । मुखर्जीको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

अठार वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं ०५५ जेठ १४ गते नेपालको भ्रमण गरेका थिए ।

भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरु राजधानीका चोक(चोकमा राखिएको छ । उनको सवारी पर्ने सडकमा स्वागतार्थ द्वारहरु बनाइएका छन् । राष्ट्रपति मुखर्जीको स्वागतका लागि सबै प्रबन्ध पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्नेछिन् । परराष्ट्रमन्त्री डा। महतका अनुसार राष्ट्रपति मुखर्जीको पुग्ने तथा सहभागी हुने सबै कार्यक्रम व्यवस्थित गरिएको छ ।

राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतलनिवासमा भेटवार्ता गर्नेछन् । उनको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्ने छन् भने सोही दिन उनलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ ।

भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन पनि हुनेछ । उनले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई सम्बोधन गर्नेछन् । राष्ट्रपति मुखर्जी नेपालमा रहँदा राजनीतिक दलका नेताहरुले उनीसँग शिष्टाचार भेट गर्नेछन् ।

भारतका राष्ट्रपतिले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने तथा उनको सम्मानमा नागरिक अभिनन्दन गरिनेछ । सोही दिन उनी पोखराको भ्रमणमा जानेछन् ।

राष्ट्रपति मुखर्जी शुक्रबार काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । रासस