विशेष

देउवाको ‘दिल्ली मिसन’ ले राजनीतिक असन्तुलनको संकेत, प्रचण्ड सकसमा, चीन आक्रामक !

-रंगलाल रिमाल 

काठमाण्डौ । पछिल्लो समय नेपालको राजनीतिक समीकरणमा ह्वात्तै फेरबदल आउने संकेत देखिइनसके पनि छिमेकी राष्ट्रहरुसँगको सम्बन्धको समिकरणले भने त्यो संकेत दिन थालेको छ । केही महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढलेसँगै छिमेकी मुलुकहरुसँगको सामिप्यतामा निकैनै धेरै परिवर्तनहरु देखिएका छन् ।

सरकारको नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आएपछि भारतसँगको सामिप्यतामा घनिष्ठता आएको देखिन्छ भने चीन सशंकित हुँदै गएको छ । यसले नेपालको राजनीतिक समीकरणमा परिवर्तनका संकेतहरु समेत देखिन सक्ने विश्लेषकहरु बताउछन् । चीनले प्रचण्ड नेतृत्वको सरकारका गतिविधिमाथि समेत प्रश्न उठाउन थालेको छ भने राजनीतिक दलका शीर्ष नेताहरुका गतिविधिमा समेत शंका गरिरहेको छ ।

किन आक्रामक बन्दैछ त चीन ? के चीनको सक्रियताले नेपालको राजनीतिक समीकरणमा फेरबदल ल्याउन सक्छ ? भारतसँग आवश्यकताभन्दा बढी किन घनिष्ठता गाँस्दैछ प्रचण्ड नेतृत्वको सरकार ? प्रचण्ड र देउवा कसलाई बढी पत्याउँछ चीनले ? भारतले देउवा र प्रचण्ड कसलाई बढी पत्याउँछ ? यी आदी प्रश्नहरुका उत्तरहरु नेपालको पछिल्लो राजनीतिक समिकरणको प्रसंगमा जोडिएर आउँछन् ।

किन नेपालप्रति आक्रामक बन्दैछ चीन ?
एक वर्षअघि नेपालले नयाँ संविधान जारी गरेदेखि नेपाल र भारतबीचको विवाद सतहमै छताछुल्ल भएको थियो । भारत चाहान्थ्यो आफ्नो निर्देशनमा नेपालको नयाँ संविधान जारी होस् र आफु अनुकुल नेपाललाई चलाउन पाइयोस् । सादगी जीवन निर्वाह गरेर आएका नेपाली कांग्रेसका सन्त नेता सुशील कोइराला त्यसबेला प्रधानमन्त्री थिए ।

china-1

उनको नेतृत्वमा संविधान जारी भएपनि भारतसँगको मुकाबिला भने तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरे । नयाँ संविधान जारी भएको केही महिनामै केपी ओली सरकारको नेतृत्वमा आएका थिए । त्यसपछि नेपाल र चीनको घनिष्ठता बढ्यो । घनिष्ठता मात्र बढेन नेपाललाई फाइदा पुग्ने थुप्रै सन्धि सम्झौताहरु समेत भए । त्यसले भारत आक्रमक बन्दै गयो । उसले नाकाबन्दीको दुस्प्रयास समेत गर्यो । त्यसपछि नेपालमा सत्ता फेरबदलको मौका कुरिरहेको भारतले प्रचण्ड प्रधानमन्त्री बनेको मौका पारेर आफ्नो सम्बन्धलाई सुदृढ पार्ने अवसर प्राप्त गर्यो । जसले भारतीय प्रधानमन्त्री प्रणव मुखर्जीको नेपाल भ्रमण समेत जुर्न सफल भयो ।

वास्तवमा उल्लेखित पछिल्ला प्रसंगसम्म आइपुग्दा भारतीय राष्ट्रपति र चीनका राष्ट्रपतिले नेपालको भ्रमण गर्ने कुरामा निकै ठूलो भित्री प्रतिस्पर्धा समेत भएकै हो । सरकार फेरबदलसँगै चिनियाँ राष्ट्रपति आउने प्रसंग ओझेल पर्दै गयो । ओली नेतृत्वमा रहँदा चीनसँग भएको सन्धि सम्झौताहरु समेत अनिर्णित हुन पुगे ।

त्यसपछि चीनले नेपालको नेतृत्व र राजनीतिक दलहरुप्रति शंका गर्न थाल्यो । पछिल्लो समयमा त चीनले सरकार र शीर्ष नेताहरुकै कारण नेपाल–चीनबीचको सम्बन्ध धरापमा परेको संकेत दिइसकेको छ । केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टी निकट एक संस्थाको आयोजनामा भएको कार्यक्रम र त्यहाँ स्वतन्त्र तिब्बत अभियानको नेतृत्व गरिरहेको समुहको संरक्षक रहेका दलाई लामा समेत सहभागी भएको प्रसंग जोडिएका खबर बाहिर आए ।

त्यसलगत्तै चीनले नेपालको परराष्ट्र मन्त्रालयसँग जवाफ समेत मागिसकेको छ । उसले चीनलाई असर पार्ने गतिविधिहरु काठमाण्डुबाट हुन लागेको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ । यो नेपालका लागि अशुभ संकेत हो ।

देउवाको रणनीति अब भारतलाई फकाउने
नेपालको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यसबेला भारत भ्रमणमा रहेका छन् । देउवा भारतीय जनता पार्टीको ‘थिंक ट्यांक’ संस्था इण्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा त्यहाँ निम्त्याइएका हुन् । सो कार्यक्रममा भारतीय जनता पार्टीका अध्यक्ष अमित साह समेत सहभागी रहेका थिए ।

modi

देउवाले भारतीय जनता पार्टीका अतिरिक्त त्यहाँका शीर्ष दलका नेताहरुसँग समेत भेटघाट गरिरहेका छन् । मंगलबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेटेका छन् (यो समाचार तयार पार्दासम्म भने भेटिसकेका छैनन्) यसले के देखाउँछ भने अबका केही महिनापछि प्रधानमन्त्री हुने ‘रोलक्रम’ मा रहेका देउवा दिल्लीलाई थप खुसी बनाउने अभियानमा छन् । उनलाई केही दिनअघि जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ उपाधिसहित सम्मान समेत गरेको थियो ।

देउवाले त्यहाँ ‘डेमोक्रेसी एण्ड प्रोगेस इन् एसियन सेन्चुरी’ विषयक शीर्षकमा आफ्नो धारणा समेत राखेका थिए । देउवाको दिल्ली भ्रमण आफैमा अर्थपूर्ण यसकारण पनि रहेको छकि भावी सरकारको नेतृत्व गर्ने गाँठो कस्न थप सार्थक बन्दै गएको देखिन्छ ।

देउवाको रणनीति प्रचण्डका लागि सकस !
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय आफ्नै मन्त्री र सचिवालयसँग समेत आक्रोश पोख्दै राम्रो काम गर्न नसेकेको भन्दै आलोचना गरिरहेका छन् । सरकार निर्माण भएको ३ महिना पुगिसक्दा समेत मन्त्रीहरुले केही काम गरेको नदेखिएको भन्दै सार्थक र जनअपेक्षित काम गर्न उनले कडा निर्देशन समेत दिएका छन् । नौ महिनाकालागि सम्झौता भएर निर्माण भएको सरकारका ३ महिना त्यत्तिक्कै बितेपछि प्रचण्डलाई अहिले निकै सकस परेको देखिन्छ ।

prahanda

त्यसैले उनले आन्तारिक कुराकानीमा पनि भन्ने गरेका छन, ‘एकजना मात्र दौडिएर हुन्न, सबै मन्त्री र सचिवालयको टिम पनि लाग्नुपर्यो, यो सीमित समय पार्टीको भविष्यसँग समेत जोडिएको छ । अहिले केही गरिएन भने पार्टीको समेत भविष्य समाप्त हुने खतरा छ ।’

प्रधानमन्त्री दाहालले अहिले देउवाको दिल्ली भ्रमणलाई समेत नजिकबाट नियालिरहेका छन् । उनको गतिविधि प्रचण्ड र उनको नेतृत्वको सरकारका लागि समेत चूनौती हो । चैत्रसम्ममा स्थानीय निर्वाचन गरिसक्नुपर्छ । अन्यथा, सरकारको औचित्यतामाथि नै प्रश्न उठ्छ । त्यसपछि नेपाली कांग्रेसका लागि स्वत सरकारको नेतृत्व छाडिदिनुपर्छ । त्यसका लागि अहिलेदेखिनै देउवाले दिल्लीसँग आफ्नो अनुकुल वातावरण बनाउन सुरु गरिसकेका छन् । यो कुरा प्रचण्डले राम्रोसँग बुझेका छन् ।

प्रधानमन्त्री दाहालको अबको रणनीति
अबका करिब ६ महिना प्रधानमन्त्री दाहाल र उनको नेतृत्वको सरकारका लागि निकै ठूलो चूनौती बन्दैछन् । उनका अबका रणनीतिहरु निकै कडा र आक्रामक हुनेछन् । जनताले महसुस गर्ने खालका बोल्ड निर्णय गर्ने तयारीमा प्रचण्ड देखिन्छन् ।

भर्खरै विद्युत प्राधिकरणको नेृत्वमा आएका कुलमान घिसिङलाई उर्जामन्त्री जनार्दन शर्मामार्फत ठाडो निर्देशन दिन लगाएर उनले काठमाण्डौ उपत्यकालाई लोडसेडिङ मुक्त सहर बनाउने घोषणा गरिसकेका छन् । तिहार लगत्तै सरकारले गरेको यो महत्वपूर्ण काम हो । यद्यपि, यो विषयमा समीक्षा हुन बाँकीनै छ ।

अबका दिनमा दाहाल नेतृत्वको सरकारले स्थानीय निकायको निर्वाचनको लागि विशेष पहल लिने भन्दै तयारी गरिरहेका खबरहरु बाहिर आइरहेका छन् । यो अभियान प्रचण्ड, उनको नेतृत्वको सरकार र उनको नेतृत्वकै पार्टीको भविष्य समेत जोडिएकोले यसका लागि उनी आक्रामक ढंगले लाग्ने तयारीमा रहेको बुझिएको छ ।

संविधान कार्यान्वयन र संशोधनको प्रक्रियामा समेत कठिन बहसहरु सुरु भइरहेका छन् । यी कठिनतालाई व्यवस्थापन गर्नु पनि सरकारको अर्को ठूलो चूनौतीको विषय हो ।