विशेष

प्रचण्ड र कनकमणिबीचमा देखिएको एउटा शुभ संकेत, जो यसरी नजिक भए !

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको माओवादी धार र उनले सुरु गरेको अभियानको कहिलेकाही चौतर्फी विरोध गर्नेहरुको समुह नेपाली राजनीतिक रंगमञ्चको सतहमा देखिने गरेको छ । २०५२ सालबाट शसस्त्र जनयुद्धको नेतृत्व गरेका प्रचण्ड र उनको पार्टीको विरोध गर्नेहरु अहिले पनि निकै देखिन्छन् । त्यसमा समुहसहित व्यक्तिगत रुपमै पनि आफ्नो पृथक विचारमार्फत सो अभियानको कटु आलोचना गर्ने नेपालका शीर्ष व्यक्तिहरु पनि निकै छन् । तीमध्ये नेपालको स्थापित सञ्चार गृह हिमाल मिडिया हाउसका सञ्चालक कनकमणि दिक्षित पनि एक हुन्, जसले माओवादी विद्रोह र त्यसले बेला बेलामा लिने गरेका कार्यदिशाका विरुद्धमा उनले चौतर्फी धावा बोल्दै आएको सबैलाई थाहा छ ।

मुलुकमा हत्या,हिंसाको माध्यामबाट रुपान्तरण सम्भव छैन भन्ने सोचका साथ माओवादीहरुले थालेको अभियानलाई नै रुपान्तरण गर्नुपर्ने विचारका साथ दीक्षितले कट्टर आलोचना गरेको देखिदै आएका छन् भने दीक्षितलाई पनि आशंका व्यक्त गर्नेहको समुह निकै ठूलो छ । यद्यपि, यो विरोधलाई दिक्षितले बेला बेलामा वैचारिक विरोध भएको संकेत पनि दिने गरेका छन् । के कनकमणिसँग प्रचण्ड र उनको पार्टीप्रति व्यक्तिगत दुश्मनीनै हो त ? के उनले गरेका विरोध निहित व्यक्तिगत स्वार्थसँग जोडिएको थिए त ? के उनले सञ्चालन गरेको सञ्चारगृहले माओवादी विद्रोहको मात्रै कडा आलोचना गर्दै आएको छ त ? इत्यादि प्रश्नहरुको समीक्षा त अहिल्यै गरिहाल्न हतारो हुनसक्छ, यसको समीक्षा इतिहासमा हुन्छ ।

यद्यपि, आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनै कनकमणि प्रमुख रहेको एउटा कार्यक्रमको उद्घाटन गरे । साझा यातायात सहकारीका अध्यक्ष रहेका कनकमणिले प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथि बनाए र सो कार्यक्रममार्फत थपिएका ३० वटा साझाका बसहरु उपत्यकामा सञ्चालन गर्न सुरु गरे । प्रधानमन्त्रीले त्यो कार्यक्रमको उद्घाटन मात्रै गरेनन्, साझा बस चढेर सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयसम्म यात्रा गरे । यात्रामा उनलाई स्थानीय विकास मन्त्री हितराज पाण्डे, नेकपा एमालेका नेता एवम् सांसद केशब बडाल लगायतले साथ दिए । कार्यक्रम निकै रोमाञ्चक समेत बन्यो ।

प्रचण्ड, माओवादी र कनकमणिको सम्बन्ध
सुरुको पारिवारिक पृष्ठभूमि हेर्ने हो भने प्रधानमन्त्री दाहाल र कनकमणि दीक्षित निकै फरक स्तरबाट उठेका व्यक्तित्वहरु हुन् । कनकमणिहरु काठमाण्डु उपत्यकामा स्थापित भएर बसेका परिवार हुन्, जसको पहिले र अहिले दरबार र दरबारनिकट व्यक्तिहरुसँग राम्रो सम्बन्ध थियो र छ । आचार्य कुल घरानबाट उठेका उनीहरुले आफ्नो नामको पछि दीक्षित लेख्नुमा दरबारको हात रहेको समेत बताइन्छ, यद्यपि, यो स्पष्ट रुपमा बाहिर आएको छैन । उता, प्रचण्ड सामान्य परिवारबाट कम्युनिष्ट आन्दोलनमा होमिएर स्थापित भएका नेता हुन्, जसले लामो संघर्षपछि नेपालको राजनीति सतहमा आफुलाई उभ्याउन सफल भए, तर उनले लिएको बाटोलाई कनकमणिले कडा आलोचना सुरु गर्दै आइरहेका छन् । कनकमणिले माओवादी विद्रोह र त्यसको कडा आलोचना गर्नुको कारण उनको दरबारसँगको सम्बन्धले पनि काम गरेको हुनसक्ने एकथरीको विश्लेषण छ भने अर्कोथरीे जनमासको जनमत बुझ्दा उनी आफैमा अन्याय सहन नसक्ने व्यक्ति भएकोले पनि विरोध गरेको हुनसक्ने धेरैको बुझाई छ । सत्ता, शक्ति र मिडियाको आडमा उनले आधारभूत तहबाट उठेको विद्रोहलाई हेर्ने दृष्टिकोण बनेको हुनसक्ने समेत एकथरी विश्लेषकको भनाई छ । जसले जे भने पनि नागरिक अगुवा तथा पत्रकार कनकमणि दिक्षित प्रचण्डले नेतृत्व गरेको सो धारको कट्टर आलोचकका रुपमा चिनिन्छन् ।

हिमाल मिडियामाथि माओवादीको प्रतिशोध
२०५२ सालबाट शसस्त्र संघर्ष सुरु गरेको माओवादीका गतिविधिमाथि शसस्त्र द्धन्द्धताकादेखिनै हिमाल खबर पत्रिकाले कडा आलोचना गर्दै खबरहरु प्रकाशित गरिरहन्थ्यो । उसले लेखेका समाचार विश्लेषण, टिप्पणी र सम्पादकीयमाथि माओवादी नेता र कार्यकताको आँखा पुगिरहन्थे । सो म्यागाजिनले गरेका कडा टिप्पणीका कारण माओवादी नेता कार्यकर्ता कनकमणिदेखि चिंढिदै गए । त्यसैको परिणामस्वरुप शान्तिपूर्ण प्रक्रियामा आएका बेला माओवादीका कार्यकर्ताले हिमाल मिडियामाथि आक्रमण नै गरे । उनीहरुले कनकमणिलाई समेत चेतावनी दिएका थिए तर हिमाल खबर पत्रिकाले माओवादीको आलोचना गरिरहन्छ र गरिरहेको छ ।

उनीहरुबीच प्रत्यक्ष–अप्रत्यक्ष रुपमा वाक युद्धहरु समेत भएका इतिहास छन् । तर सो मिडियाले आफ्नो न्यायपूर्ण तर्क पनि दिइरहेको छ, उसले भन्ने गरेको छ, ‘जनताको सुसुचित हुने अधिकारको प्रवाहलाई हामी रोक्न सक्दैनौ, हाम्रो यात्रा जारी रहन्छ ।’ त्यसपछि माओवादी पार्टी र कनकमणिबीचको द्धन्द्ध सतहमै देखाप¥यो । कनकमणिलाई माओवादीले द्धन्द्धमा आफ्नो तर्फबाट पीडित भएकाहरुलाई उचालेको आरोप लगाइरहेको छ भने दिक्षितको माओवादीहरुको अतिवादी यात्राले देश तहस–नहस भएको निश्कर्ष छ ।

पछिल्लो वर्ष अख्तियारले कनकमणिलाई गिरफ्तार गरिएको घटनासमेत माओवादीसँग जोडेर हेरिएको एकथरीको बुझाई छ । किनभने अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई प्रचण्डकै सहमतिमा नियुक्ति दिइएको र त्यसको केही समयमै कनकमणिलाई साझा लगायतका संघ–संस्थामा अकुत भ्रष्टाचार गरेको भन्दै अख्तियारले गिरफ्तार गर्न निर्देशन दिएको थियो । तर पछि कनकमणि छुटेका थिए ।

यी घटनाले के देखाउँछ भने दिक्षित र यो धारबीच निरन्तर टक्कर भैरहेको छ र यसको सीमा कता हो निश्चित भैसकेको छैन् । यही बेला नागरिक अगुवाका रुपमा समेत परिचित दीक्षितले प्रचण्डसँग निकटता जोड्न लागेका हुन कि भन्ने संकेत दिएका छन् । जसलाई आइतबार भएको साझा यातायातको कार्यक्रमले पुष्टि गरिदिएको छ ।

हुन त एउटा सामान्य सहकारीको कार्यक्रममा प्रधानमन्त्रीको हैसियतमा प्रचण्डको प्रमुख आतिथ्यता हुनु नौलौ कुरा होइन । त्यसका लागि कनकले प्रचण्डलाई माओवादीको रुपमा होइन, प्रधानमन्त्रीको रुपमा आमन्त्रण गरेका हुनसक्छन्, तर उनको लामो ऐतिहासिक पृष्ठभूमि हेर्दा भने यो कदमले सम्बन्ध सुधारको संकेत पनि दिएको छनक हुन्छ । यदि त्यसो हो भने दीक्षितले चालेको यो कदम शुभ संकेत हो । यसमा दुवै पक्षलाई बधाई दिन पनि कन्जुस्याई गर्नुहुन्न् ।