राजनीति

नेपाली राजनीतिका खेलाडी र जनताले पढ्नै पर्ने एउटा इतिहास,जोसँग भीमबहादुर जोडिएका छन् !

काठमाण्डौ । नेपाली कांग्रेसभित्र एक इमान्दार र कर्तव्यनिष्ठ नेता भीमबहादुर तामाङको निधन भएको आज ४ वर्ष पुगेको छ । नेपाली राजनीतिक इतिहासमा विपीवादलाई अंगाल्ने एक सिद्धान्तनिष्ठ नेताका रुपमा रहेका स्व.तामाङले नेपाली कांग्रेसलाई मात्र होइन, सम्पूर्ण नेपाली राजनीतिक मूलधारलाई एउटा महत्वूर्ण सन्देश दिएर विदाई भएको आज ४ वर्ष पुगेको छ । भीमबहादुर तामाङ नेपाली कांग्रेसका नेता हुन् तर पनि सबै दल र तिनका नेता कार्यकर्ताका लागि प्रिय र आदर्श पात्र थिए ।

राजनीतिको दौरानमा नेपाली कांगे्रसमा पाँच दसक काम गरेका उनका अनुयायीहरु करौडौं पुगेका छन् तर नेपाली कांग्रेसभित्र उनको बाटो अबलम्बन गर्नेहरु कति हुने हुन ? त्यो भने हेर्न बाँकी नै छ, त्यो भविष्यमा देखिने कुरा हो ।

भीमबहादुर तामाङको पुर्ख्यौली घर दोलखा जिल्लाको झुले गाविस हो । बिसं १९९० सालको असार महिनामा भारतको खर्साङमा जन्मिएका तामाङको मृत्यु वि.सं. २०६९ साल मंसिर १६ गते भएको थियो ।

२०१४ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका तामाङ २०१७ सालमा राजा महेन्द्रले शासन सत्ता हातमा लिई लोकतन्त्र खोसे पछिको सशस्त्र क्रान्ति र २०२८ सालमा बिपीको आह्वानमा भएको क्रान्तिमा बन्दुक बोकेर होमिएका थिए । २०३६ र २०४६ को आन्दोलनमा सक्रिय तामाङ २०६२र६३को जनआन्दोलनमा सडकमा आएका थोरै वृद्ध नेतामा पर्छन् । बिपी कोइरालासँगै लामो समय भारत निर्वासनमा रहेका तामाङ २०३६ सालको जनमतसंग्रह अघि नेपाल फर्किएका थिए ।

आफ्नो प्रारम्मिक शिक्षा भारतको दार्जिलिङमा पूरा गरेका उनी बिपीको प्रजातान्त्रिक समाजवादलाई मूल सिद्धान्त मान्ने र व्यवहारमा गान्धीवादी नेताका रुपमा मानिन्छन् । उनको सादा जीवन, सरल र पारदर्शी जीवनशैली कांग्रेसवृत्तमै नमुनाका रूपमा लिइन्छ ।

सन् २०१० सेप्टेम्बर २२ मा काठमाडौंमा भएको नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा सुशील कोइराला काङ्ग्रेस सभापति चुनिए । सुशिलले १ हजार ६ सय ५२ मत ल्याए, जुन पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५० प्रतिशत भन्दा बढी मत थियो । उनका निकट प्रतिद्वन्द्वी शेरबहादुर देउवाले १ सय ३ सय १७ मत मात्रै ल्याएका थिए । सो महाधिवेशनमा त्यागी नेता तामाङले भने मत संख्यामा दोहोरो अङ्क पनि कटाउन सकेनन्। उनी त्यसबेला सभापतिमा उठेका थिए । उनले ७८ मत मात्रै ल्याएका थिए । कूल मतदाता संख्या ३ हजार ८० भएकोमा ३ हजार ६४ मत मात्रै खसेको थियो । १५ मत बदर र २ मत खाली थियो ।

भीमबहादुर तामाङ आफैमा त्यागी नेता हुन भन्ने प्रमाण त उनको सादगी जीवन र जीवन जिउने कलाले सिकाउँछ । ‘भीमबहादुर बीपी कोइरालाको साँचो अनुयायी हुनुहुन्थ्यो। बीपीले अघि सार्नुभएको कांग्रेसका मूलभूत सिद्धान्त प्रजातन्त्र, राष्ट्रियता र समाजवादप्रतिको उहाँको निष्ठा अविचलित थियो। अहिले समावेशिताको सवालले हलचल पैदा गरेको बेला उग्र समावेशी नेताहरूले भीमबहादुरलाई आफूतिर तान्न के मात्रै गरेनन्१ तर, उहाँले सन्तुलित समावेशिताको पक्ष लिएर मुलुकको वास्तविकताको प्रतिनिधित्व गर्नुभयो। उहाँ भन्ने गर्नुहुन्थ्यो―कांग्रेसले त शुरूदेखि नै समावेशी सिद्धान्तलाई अँगालेको छ नि, त्यसलाई अझ् सशक्त पार्दै लग्ने पो हो, भीमबहादुर र कुलबहादुर गुरुङ जस्ता नेताकै कारण यो हलचलमा पनि कांग्रेसभित्र उग्र समावेशी नाराको नगन्य प्रभाव परेको छ।’ भीमबहादुरलाई नजिकबाट बुझेका नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले एउटा लेखमा भनेका छन् ।

अधिकारीले लेखेका छन्, ‘लोकतान्त्रिक राजनीतिका सिपाही भीमबहादुर खेलका नियमहरूलाई विनासंकोच स्वीकार्नुहुन्थ्यो। जनमत संग्रहमा बहुदल पराजित हुँदा, संसदीय र संविधानसभा निर्वाचनहरूमा चार पटक पराजित र एक पटक विजयी हुँदा तथा पार्टीभित्र सभापतिको निर्वाचनमा पराजित हुँदा उहाँले हारलाई संयमित एवं विनयशील भएर स्वीकार गर्नुभएको र जितलाई सहजतापूर्वक लिनुभएको थियो।’

स्व.तामाङ र उनको पारिवारिक स्थिति अनि उनको मानिसहरुसँग घुलमिल हुने बानी ब्यहोराको प्रशंसा गर्दै अधिकारी लेख्छन्, ‘राजनीतिमा लाग्दा भीमबहादुरको परिवार छिन्नभिन्न भयो, तर उहाँले यो निजी मामलालाई आफैंमा सीमित राख्नुभयो । यति लामो संगतमा पनि मैले उहाँकी छोरी छिन् भन्ने थाहा पाइनँ। यति हुँदाहुँदै पनि उहाँ अत्यन्त सामाजिक र पारिवारिक व्यक्ति हुनुहुन्थ्यो। मेरो घरमा ९४ वर्षकी आमादेखि साना केटाकेटी सबैको प्रिय र स्वीकार्य उहाँ जहाँ–जहाँ बस्नुभयो, त्यस घरको परिवारसँग कहिल्यै नटुट्ने सम्बन्ध रह्यो। भीमबहादुरको मृत्युमा दमन र भुवन ढुंगानाले शोक मनाइरहँदा उहाँहरूका छोराछोरी नीतिका, निमेष र निशेष पनि शोकमग्न भए। यस्तो अद्भुत चरित्र, व्यक्तित्व र क्षमता थियो उहाँको।

दोलखामा भीमबहादुरको के छ मलाई थाहा छैन, हैन भने उहाँ जमिन नभएको व्यक्ति हो। तर, जमिनसँग लगाव पत्याइनसक्नु थियो। जेलमा होस् वा बाहिर― माटोसँग जोडिएरै रहनुभयो फूल र फलफूलका सौखिन भीमबहादुर। बोटबिरुवालाई चाहिने प्राङ्गारिक मल समेत आफैं तयार गर्ने उहाँका प्रिय फूल थिए― क्याक्टस, गोदावरी, सयपत्री र गुलाफ। फूलको सोखमा उहाँको बाल्यकाल बितेको कालिम्पोङ्गको प्रभाव देख्न सकिन्थ्यो।

अधिकारी लेख्छन्, ‘२०३१–३२ सालतिर दमन ढुंगानाको मित्रको रूपमा मैले भीमबहादुर तामाङलाई चिनेको हुँ। त्यो सामान्य पहिचान क्रमशः मित्रता र घनिष्ठतामा बदलिंदै गयो। सधैं टोपी, कोट, पाइन्टको पहिरनमा एउटा झेला भिर्ने भीमबहादुर जाडो धेरै हुँदा ज्याकेटसम्म थप्नुहुन्थ्यो, त्यत्ति हो। ६ दशक लामो राजनीतिक यात्रामा करीब डेढ वर्ष मन्त्री भएर पद छोड्दा एकसरो लुगा र एउटा सानो गुण्टा बाहेक उहाँसँग केही थिएन। कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईसँग दाँज्न मिल्ने उहाँको यो जीवनशैली मृत्युपर्यन्त कायम रह्यो।

राजनीतिमा लाग्नुअघिका शिक्षक भीमबहादुरले त्यतिबेलाको विकट दोलखामा शिक्षाको प्रकाश छर्नुभयो। लामोसाँघु–जिरी सडक र जिरी प्राविधिक शिक्षालय निर्माणमा सहयोग गर्ने स्वीस सरकारको मुक्तकण्ठले प्रशंसा गर्नुहुने भीमबहादुरदोलखाको जुनसुकै विकास गतिविधिमा एकनास सक्रिय रहनुभयो। महीनामा कम्तीमा दुई पटक जिल्ला पुग्नुहुने उहाँले विकासलाई राजनीतिक दाउपेचमा पर्न नदिन र अन्य राजनीतिक दलसँग सामञ्जस्य राख्न उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो। माथिल्लो तामाकोशीमा अवरोध नआओस् भन्नेमा सचेत उहाँ तामाकोशीबाट अरू थप २०००–३००० मेगावाट बिजुली उत्पादन गर्न सकिने कुराबाट अत्यन्त उत्साहित हुनुहुन्थ्यो।

२००७ सालको क्रान्तिलाई आधुनिक नेपाल निर्माणको सबैभन्दा महत्वपूर्ण घटना मान्नुहुने भीमबहादुर त्यो क्रान्तिमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिकाकै कारण २०१३ सालमा पार्टीको सदस्य बन्नुभयो, भद्रअवज्ञा आन्दोलनमा सरिक हुनुभयो, २०१५ सालको निर्वाचनमा पार्टीको पक्षमा सक्रिय हुनुभयो, २०१७ सालको राजाको कदमपछि निर्वासनमा गएर नेपाली कांग्रेसले शुरू गरेको सशस्त्र क्रान्तिमा धनुषा, महोत्तरी, उदयपुर, सिन्धुलीमा खट्नुभयो। त्यसपछि कहिले काराबास, कहिले निर्वासन उहाँको नियति बन्यो। ’

स्व.तामाङको माथि उल्लेखित प्रसंगहरुमा जे जस्तो इतिहास भेटिए पनि उनले अबलम्बन गरेका मार्गहरुलाई नेपाली कांग्रेसमात्रै होइन, नेपालका अन्य राजनीति पार्टीका नेता–कार्यक्रर्ताहरुले समेत अबलम्बन गर्न सके पछिल्ला दिनमा खस्कँदै गएको नेपालको राजनीतिक संस्कार र प्रवृतिको बाटोले सही दिशा लिन सक्ने कुरामा दुईमत छैन ।