विशेष

यसकारण, प्रचण्ड टोपबहादुरको आँखामा तारो बने !

-समाचार टिप्पणी

काठमाण्डौ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा केही दिनअघि संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरिएपछि अहिले मुलुकको राजनीतिक रंगमञ्चमा तरंग आएको छ । सरकारले चालेको सो कदमविरुद्ध यसबेला देशव्यापी रुपमा विरोधका आवाजहरु उठिरहेका छन् ।  प्रतिपक्ष मात्र होइन, सत्ता गठबन्धनकै नेताहरु पनि पाँच नम्बर प्रदेशलाई मधेस र पहाडलाई अलग गराउन खोजेको भन्दै आन्दोलनको नेतृत्व गर्न पुगेका छन् । एमालेले यो प्रस्तावको चर्को विरोध गरिरहेको छ भने कांग्रेस र माओवादी केन्द्रका चन्द्र भण्डारी र टोपबहादुर रायमाझी पश्चिम नेपालमा चर्किरहेको आन्दोलनको नेतृत्व गर्न बुटवल पुगेका छन् । यसबाट एउटा प्रश्न उठ्छ माओवादी केन्द्रका प्रभावशाली नेता रायमाझीनै किन सो आन्दोलनमा होमिए ?

 रायमाझीले केही दिनअघि बसेको माओवादी केन्द्रको बैठकमै पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावविरुद्ध नोट अफ डिसेन्ट लेखे । उनले यो प्रस्तावले राष्ट्र विखण्डन हुने भएकोले आफुलाई मान्य नहुने दाबी गर्दै नोट अफ डिसेन्ट लेखेपछि पश्चिमका अधिकांश जिल्लाका नेता र कार्यकर्ता टोपबहादुको निर्णयको पक्षमा उभिएको देखिएको छ ।

शुक्रबार मात्र बुटवलमा आयोजित विशाल जनप्रदर्शनमा एमालेका अतिरिक्त कांग्रेस र माओवादीका नेताहरुले सरकारलाई पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी ल्याइएको संविधान संशोधनको प्रस्ताव फिर्ता गर्न सरकारलाई बाध्य पारिने उद्घोष गरे । सो उद्घोष गर्नेमध्ये माओवादी केन्द्रका नेता रायमाझी पनि एक थिए ।

टोपबहादुर रायमाझीले किन यो प्रस्तावको विरोध गरे ?
रायमाझी माओवादी केन्द्रका प्रभावशाली नेता हुन् । शसस्त्र जनयुद्धताका बाबुराम भट्टराई निकट नेताका रुपमा रहेका उनी पछिल्ला वर्ष भट्टराईलाई समेत छाडेर माओवादी केन्द्रभित्रै अटाइरहेका छन् । जब माओवादी सत्ता र आन्दोलनको नेतृत्वमा पुग्ने गर्छ, त्यसबेला टोपबहादुर रायमाझीको प्रभाव सतहमा आउने गर्छ । यो उनको व्यक्तिगत र राजनीति विशेषता जस्तै देखिएको छ । शसस्त्र जनयुद्धका बेला बाबुरामको पक्षमा देखिएका उनी बाबुराम र हिसिला पार्टी कार्वाहीमा पर्दा उनलाई पनि कार्वाही गरिएको थियो । उनीसँगै दिनानाथ शर्मा पनि कार्वाहीमा परेका थिए ।

राजनीतिक आन्तारिक संघर्षको उत्तारचढावसँगै रायमाझी योपटक भने प्रचण्डको कित्तामा देखिएका छन् तर यतिबेला भने उनले प्रचण्डकै नेतृत्वमा रहेको पार्टीले अघि सारेको संविधान संशोधनको विपक्षमा बैठकमै नोट अफ डिसेन्ट जारी गरेका छन् । त्यतिमात्र होइन, उनले बैठकमा नोट अफ डिसेन्ट जारी गर्दै प्रचण्ड र उनको पछि लाग्नेहरुलाई एउटा हुँकार पनि छेडेका छन् । भनेका छन, ‘पहिले पार्टीभित्र बाबुराममा समस्या देखिएपछि उनलाई छाडियो, अहिले पनि त्यस्तै समस्या देखिदैछ ।’ उनले भनेको आधिकारिक कुरा बाहिर नआएपनि रायमाझीको यो भनाईको संकेत प्रचण्डप्रति थियो भन्ने प्रस्टै बुझ्न सकिन्छ । उनको असन्तुष्टि संविधान संशोधन प्रस्ताव विरुद्धको लडाईमा आएर छताछुल्ल भएको छ ।

बाबुरामलाई छाडेपछिका रायमाझी
जानकारहरुका अनुसार वास्तवमा रायमाझीको पार्टीभित्रको असन्तुष्टि तत्काल आएको होइन, यो निकै लामो समयदेखि कुण्ठाको विष्फोट हो । लामो समय बाबुरामको कित्तामा रहेका उनलाई प्रचण्ड नेतृत्वको माओवादीमा के पुगेन ? त्यसको बारेमा खासै कुरा बाहिर नआएपनि गठबन्धन सरकारमा जाने बेला र नेतृत्व गर्ने बेलामा पार्टीभित्र रायमाझीले राख्ने गरेका मागहरुको उचित सुनुवाई नभएका खबरहरु बारम्बार बाहिर आइरहेका हुन्थे । चाहे त्यो केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनाउने कुरामा होस् वा त्यसअघि र पछि निर्माण भएका सरकारमा सहभागी हुने विषयमा होस्, रायमाझी राजनीतिक सतहमा बहसका विषय भइनै रहे । पार्टी बैठकमा जे जस्ता कुरा भएपनि बाबुरामबाट उनलाई छुटाउन प्रचण्डले हरियो घाँस देखाएकै हुन् भन्ने स्पष्ट छ ।

सरकारमा लैजाने र सत्ताको स्वाद चखाएर लोभ्याउन माहिर प्रचण्डले रायमाझीलाई बाबुरामबाट छुटाई छाडे तर माओवादी केन्द्रभित्र पछिल्लो अवस्थामा टोपबहादुरलाई हेर्ने देष्टिकोण पहिलेको जस्तो नभएको श्रोतले बताएको छ । सायद, पार्टीभित्रको रायमाझीको असन्तुष्टि न्यायपूर्ण मागको नाममा बुटवलको जनसागरमा पुगेर विष्फोट भएको हुनसक्ने समेत एकथरी विश्लेषकहरुको भनाई छ । उनी यसबेला बाबुरामसँग सम्बन्ध गाँस्न सक्ने वा एमालेसँग नजिक हुँदै गरेका प्रसंगहरु पनि सुनिन थालेका छन् । तर त्यसलाई उनले पार्टीको बैठकमै फिका सावित गरिदिएका छन् ।

उनले पाँच नम्बर प्रदेश टुक्र्याउन नहुने माग एमालेभन्दा पहिले आफुले उठाउँदै आएको र आफ्नो मागको पछि एमाले लागेको स्पष्ट पारेपछि आफु एमालेसँग नजिक भएको नभई एमालेचाहि आफ्नो नजिक आएको प्रस्ट पारेका छन् ।

वास्तवमा प्रचण्ड टोपबहादुरको आँखामा तारो बन्नाको कारण रायमाझी आफै पार्टीभित्र प्रभावशाली युवा नेता बन्न चाहेका कारण पनि हुनसक्छ । विगतमा पश्चिमबाट प्रचण्डले वर्षमान पुन र नन्दकिशोर पुनहरुलाई काखी च्यापिरहँदा रायमाझीहरु उपेक्षाका पात्र बनिरहे । यस्ता थुप्रै कारणहरुले पनि प्रचण्ड रायमाझीको आँखामा तारो बन्दै गइरहेका हुन सक्छन् । प्रचण्डले नस्वीकार्दा केही वर्षअघि पश्चिमकै खरा क्रान्तिकारी युवा नेता विप्लवहरुले आफ्नो कित्ता निर्माण गरेझै टोपबहादुरले पनि त्यस्तै आफ्नो बाटो तय गर्ने त होइनन् ? प्रश्न उठेको छ ।

वास्तवमा रायमाझी बाबुराम छाडेपछि माओवादी केन्द्रभित्र आँखाको कसिंगर नै बनेका हुन त ? यो विषयमा प्रस्ट हुन अहिले निकै हतारो हुन्छ तर इतिहासले भने यसको पुष्टि भने गरेरै छाड्ने जानकारहरु बताउँछन् ।