राजनीति

नेपालसँग जोडेर चीन र भारतको एक्कासि टक्कर, यसकारण देखियो अब खतरनाक संकेत !

-समाचार विश्लेषण

काठमाण्डौ । नेपालमा जारी राजनीतिक संक्रमणको अवसर पारेर छिमेकी लगायतका शक्ति राष्ट्रहरुले मुख खोल्न थालेका छन् । केही वर्षअघिसम्म कुटनीतिक अवसरलाई मुल्यांकन गरेर मात्र मुख खोल्ने छिमकी भारत र चीन यसबेला भने खुल्लेआम नेपालको विषयमा बहस गर्न उद्धत देखिन थालेका छन् । पश्चिमा राष्ट्रहरु भने भारत र चीनको दाँजोमा यो परिवेश निम्त्याइसकेका छैनन् ।

यो परिवेश कसरी सिर्जना भयो ? के नेपालको राजनीतिक तरलता मात्र यसमा दोषी छ ? एउटा शासकीय व्यवस्थाको अन्त गर्दै अर्को व्यवस्थामा फड्को मार्ने बेला छिमेकीहरुको आँखा पर्नु स्वाभाविक भए पनि पछिल्लो समयमा भारत र चीनले देखाएको अनावश्यक चासोको विषयलाई गम्भीर ढंगले सुक्ष्म अध्ययन नगरे राष्ट्रको अस्तित्वमा समेत प्रश्नचिन्ह खडा हुनसक्ने कुटनीतिक मामलामा दख्खल राख्नेहरु बताउन थालेका छन् ।

भारत खुल्लेआम नेपालमा जारी भएको नयाँ संविधानका सवालमा ठाडो निर्देशन दिइरहेको छ भने चीनले भारतले नेपालमा बढी नै हैकमवाद चलाएको भन्दै कडा चेतवानी दिने स्तरमा पुगेको देखिन्छ । भारतको ठाडो हस्तक्षेपले नेपालीहरुको मनोभावनामा नकारात्मक असर त पारेको छ नै । सोही मनोभावनालाई बुझेर चीनले नेपाललाई दिन सुरु गरेको सहयोगबाट पनि सजग भने हुनुपर्छ नै । तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले नयाँ संविधान जारी गर्दा असहमति जनाउने भारतसँग त्यसपछि आएको केपी ओली नेतृत्वको सरकारले ठूलै चूनौतीको सामना गर्नुपर्यो ।

ओली नेतृत्वको सरकारविरुद्ध भारत पूरै खनियोनै । त्यसकारण पनि ओली नेतृत्वको सरकार बढी चीनतर्फ ढल्कियो । परिणामस्वरुप, तत्कालीन सरकार र चीनबीच दिर्घकालीन व्यापारिक सम्झौताहरु समेत भए । चीनसँग गरेका दिर्घाकालीन महत्व राख्ने योजनाहरुको आधारमा यसबेला ती सम्झौताहरुको कार्यन्वयन गर्ने रफ्तारमा देखिन्छ चीन । भारतले नेपालमा गर्ने हस्तक्षेपको दाँजोमा चीनको नेपाललाई हेर्ने दृष्टिकोण भने फरक देखिने गरेको छ । ड्रयागनको उपमा पाएको सो राष्ट्रको पनि आफ्नै आन्तारिक स्वार्थ त हुन्छनै तर उसले छिमेकीहरुविरुद्ध हुने हस्तक्षेपको विरोध गर्दै आइरहेको छ । यद्यपि, चीनले गर्ने गतिविधिहरुप्रति पनि नेपाल सजग भने हुनैपर्छ ।

नेपालकोसँग जोडेर चीनले भारतलाई किन दियो चेतावनी ?
भर्खरै नेपालसँग जोडिएको एउटा व्यापारिक मामलासँग जोडेर चीनले भारतलाई कडा चेतावनी दिएको छ । बेइजिङबाट नेपालका लागि छुटेको कार्गो रेल र त्यसले ल्याउने व्यापारिक वस्तुको विषयलाई लिएर भारतले असन्तुष्टि जनाएको महसुस गरेपछि चीनले आफ्नो कदमविरुद्ध भारतले चासो लिन नमिल्ने भन्दै चेतावनी दिएको हो ।

xi-jin

चीनियाँ बजारले नेपाली बजारमा प्रत्यक्ष प्रभाव पार्नसक्ने भन्दै चीनको यो कदमले आफ्नो बजारलाई नराम्रोसँग प्रभावित पारिदिनसक्ने भन्दै असन्तुष्टि जनाउँदै आएका खबरहरु बाहिर आएका छन् । बेइजिङबाट प्रकाशित त्यहाँको लोकप्रिय सरकारी मुखपत्र ग्लोबल टाइम्सले समाचार प्रकाशित गर्दै भनेको छ, ‘चिनियाँ सामाग्री निर्यातलाई भारतमा निर्मित वस्तुको विक्रीको चूनौतीको रुपमा लिइए, त्यसले अन्त्यहिन समस्या निम्त्याउन सक्छ ।

चिनियाँ कार्गो रेल सञ्चालनको विषयमा भारतले नेपालको बजार खोस्न लागेको ठाने त्यसले चीन र भारतबीचको सम्बन्धमै समस्या ल्याइदिन सक्छ ।’ चिनियाँ सरकारी मुखपत्रको रुपमा रहेको टाइम्समा उल्लेखित यो समाचारबाट पनि स्पष्ट हुन्छकि नेपालको सवालमा छिमेकीहरु आन्तारिक प्रतिस्पर्धामा लागेका छन् ।

सतहमा हेर्दा व्यापारिक प्रतिस्पर्धा जस्तो देखिएपनि यसले निकै ठूलो चूनौती ल्याइदिनसक्ने जानकारहरु बताउँछन् । भारत र चीनको क्षेत्रीय प्रतिस्पर्धाले नेपाललाई निकै ठूलो प्रभाव पर्न सक्ने समेत आंकलन गरिदैछ । चीनले दोश्रोपटक नेपालका लागि भन्दै भर्खरै कार्गो रेल ल्हासा, सिगात्से हुँदै केरुङसम्मका लागि पठाएको छ । सो रेलमा नेपालका लागि आवश्यक व्यापारिक वस्तुहरु रहेका छन् ।

ओली नेतृत्वको सरकारको पालामा पहिलोपटक चीनले काठमाण्डौ लक्षित रेल पठाएको थियो । भारतले त्यो बेला पनि असन्तुष्टि जनाएको थियो । नेपालमा सरकार परिवर्तनसँगै चीनसँगको सम्बन्धमा पनि केही सिथिलता आएको देखिन थालेको देखेपछि भारतले केही राहात महसुस गरेजस्तो देखिए पनि चीनका श्रृंखलाबद्ध कदमहरु पछि उसले ठाडै असन्तुष्टि जनाएको देखिएको छ । यसले नेपाललाई व्यापारिक फाइदा भन्दापनि राष्ट्रियताको सवालमा समेत सिधा चूनौतीको संकेत देखिएको एकथरी विश्लेषकहरुको भनाई छ ।
भारतले अब के गर्ला ?
वास्तवमा नेपालको राजनीतिक रंगमञ्चमा सरकार परिवर्तनको श्रृंखला नौलो विषय होइन, तर जुन सरकार आएर चीनसँग सम्झौताहरु गर्छ, सरकार परिवर्तन हुने वित्तिक्कै ती सम्झौताहरु अलपत्र हुने गरेका छन् । अहिले पनि त्यस्तै अवस्था देखिएको छ । ओलीले गरेका सम्झौताहरु मात्र होइन, अघिल्ला सरकारहरुले गरेका सम्झौताहरु समेत अलपत्र परेपछि चीनले नेपाललाई विश्वासनै गर्न छाडेको देखिन्छ । भारतको समर्थनमा बन्ने सरकारहरु चीनको विपक्षमा देखिने गर्नाले ठूलो असर परेको देखिन्छ । त्यसकारण, चीनले पछिल्ला वर्ष भने अघिल्ला सरकारले गरेका सम्झौताकै आधारमा काम अघि बढाउन सकिने संकेत पछिल्लो कदममार्फत दिइरहेको छ । यद्यपि, पछिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारले भने चीनलाई फकाउने उद्धेश्यका साथ अघिल्ला सम्झौताका आधारमा चीनलाई काम गर्न झक्झकाइरहेको देखिएको छ ।

nepal-china-and-india

यसले भारत सरकारलाई थप चिढ्याउन सक्ने धेरैको अनुमान छ । चीनले काठमाण्डौ लक्षित रेल छाड्ने वित्तिक्कै भारतबाट नेपालतर्फ व्यापारिक सामानहरु ल्याइरहेको भारतीय रेल रोकेका खबरहरु बाहिर आइरहेका छन् । चीनले काठमाण्डौलक्षित रेलवे यातायातको सुरुवात गर्नासाथ भारतले पनि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म रेलवे बनाउने दिर्घकालीन योजना अघि सारेको छ । यसले नेपालसँग जोडिएर भएको दुइ देशबीचको चर्को प्रतिस्पर्धालाई प्रतिबिम्बन गरेको स्पष्ट हुन्छ । चीनले नेपालसँगको सामिप्यतालाई घनिष्ठ बनाउँदै लगेमा उसले नेपाल सरकारसँग असन्तुष्टि जनाउने निश्चित छ ।

त्यतिमात्र होइन, नेपालको सन्दर्भमा दुई ठूला मुलुकहरुबीचको प्रतिस्पर्धाले कतै पाकिस्तानको हविगतमा त मुलुक पुग्दैन भन्ने आशंकाहरु समेत गरिन थालेका छन् । व्यापारिक मुद्धाले सुरक्षा र राजनीतिक मुद्धालाई समेत अघि ल्याइदियो भने सानो मुलुक नेपाललाई ठूलै अनिष्ठ आइलाग्न सक्ने आंकलन गरिन थालिएको छ । त्यतिमात्र होइन, नेपालमा सत्ता समीकरणमा समेत यसको प्रतिबिम्बन देखिन सक्ने विश्लेषकहरु बताउँछन् । यो सवालमा नेपालले असंलग्न परराष्ट्र नीतिलाई अबलम्बन गर्दै दुवै छिमेकीहरुलाई उपयोग गर्ने नीति लिन सके फाइदा पुग्न सक्ने विश्लेषकहरु बताउँछन् ।