पु.समाचार

गोप्य रुपमा यसरी पो चल्दा रहेछन् प्रहरीका गाडी, खुल्यो नयाँ रहस्य !

काठमाण्डौ । तीन महिनाअघि महानगरीय प्रभाग इमाडोलका प्रहरीले घुस मागेको भन्दै प्रहरी मुख्यालयमा उजुरी प¥यो। प्रभागका प्रमुख इन्स्पेक्टर बोधराज रेग्मीलगायतका प्रहरीमाथि छानबिन गर्दा गाँजासहित पक्राउ परेका स्थानीय युवकसँग प्रभागका प्रहरीले आफ्नो गाडीका इन्धन खर्च भन्दै पैसा मागेको खुल्यो।

प्रभागका लागि संगठनले गाडी दिए पनि इन्धन खर्च दिएको थिएन। त्यही समस्या देखाउँदै प्रहरीले सहयोगका रूपमा घुस मागेको थियो। प्रभागमा तल्लो तहका प्रहरीले पहिलेदेखि नै त्यसरी स्थानीयसँग इन्धनका नाममा पैसा लिँदै आएका थिए।

मुलुकभरका अधिकांश प्रहरी कार्यालयको अवस्था यस्तै छ। गाडी दिने, तर इन्धन नदिने गरेका कारण धेरै प्रहरी कार्यालयले सर्वसाधारणसँग ‘घुस’ इन्धन खर्च जुटाउँछन्। पक्राउ परेका व्यक्तिहरूसँग केही प्रहरीले इन्धनका नाममा सहयोग माग्ने गरेका छन्, जसका कारण प्रहरीहरू विवादमा पर्दै आएका छन्। कतिपय अवस्थामा इन्धनकै नाममा घुस माग्न पनि प्रहरीलाई सजिलो भएको छ ।

देशभरि नेपाल प्रहरीका २५ सय तीनवटा कार्यालय छन्। जसमध्ये १२ सय कार्यालयमा सवारीसाधन छन्। तर, चार सय ४३ वटा कार्यालयमा मात्र गाडीका लागि बजेट चल्छ। बजेट नचल्ने कार्यालयमा इन्धनको सुविधा हुँदैन। जसका कारण देशभरिका करिब सात सय कार्यालयमा इन्धन खर्चको समस्या छ। प्रहरी सहप्रवक्ता एसएसपी ठाकुर ज्ञवालीका अनुसार नेपाल प्रहरीसँग मोटरसाइकल र गाडी गरेर १९ सय ८५ वटा सवारीसाधन छन्। गाडी भएका धेरै कार्यालयमा इन्धन खर्च नहुने उनको भनाइ छ ।

‘कतिपय प्रहरी कार्यालयले गाविस र नगरपालिकाबाट समेत इन्धन लिन्छन्,’ एसएसपी ज्ञवाली भन्छन्, ‘केहीले माथिल्ला प्रहरी कार्यालयबाट लिने गरेका छन्।’ सर्वसाधारणबाट इन्धन खर्च नलिन निर्देशन हुँदै आएको उनले जानकारी दिए। कतिपय इन्धनको सुविधा भएकै कार्यालयमा पनि इन्धनले नपुग्ने उनको भनाइ छ। व्यवस्थापिका–संसद्का सदस्यहरूलाई जिल्लामा स्कर्टिङ गर्नुपर्ने भएकाले इन्धन खर्च धेरै हुने गरेको प्रहरीले जनाएको छ। सरकारले आफूहरूलाई पर्याप्त बजेट नदिएकाले गाविस, नगरपालिका तथा जिविसबाट बजेट पाउनुपर्ने माग नेपाल प्रहरीले राख्दै आएको छ ।

इन्धन र गाडी मर्मतका नाममा घुस माग्ने नेपाल प्रहरीमा संस्कृति नै बनिसकेको छ। बजेट चल्ने कार्यालयका प्रहरीले पनि गाडी बनाउन सरकारले बजेट नदिएको भन्दै अनुसन्धानमा तानिएका व्यक्ति तथा स्थानीय व्यवसायीसँग पैसा माग्ने गरेका छन् । शनिबारको नयाँ पत्रिकामा लेखिएको छ, गाडी र इन्धनका नाममा पैसा माग्दा ‘घुस’ मागेको आरोप नलाग्ने भएकाले उनीहरूले यस्तो तरिका अपनाउने गरेका छन्।

स्रोतका अनुसार धेरैसँग इन्धन र गाडी मर्मतका लागि सहयोग मागेको जम्मा रकम प्रहरीले आफ्नै खल्तीमा हाल्ने गरेका छन्। प्रहरीमा बजेटको अभाव रहेकाले समस्या भएको सहप्रवक्ता एसएसपी ज्ञवाली बताउँछन्। तर, कुनै पनि बहानामा सहयोग मात्र नभई उपहारसमेत नलिन निर्देशन दिइएको उनको दाबी छ।

प्रहरी अधिकारीहरूले इन्धनको कुपन आफन्तलाई समेत बाँड्ने गरेको स्रोत बताउँछ। खासगरी जिल्ला प्रहरी कार्यालयमा कुपनको बढी नै दुरुपयोग हुने गरेको छ। राजधानीमै पनि यस्तो समस्या छ। उपत्यकाका प्रहरी कार्यालयहरूमा प्रशस्त इन्धन खर्च जाने गरेको छ, तर धेरै खर्च नहुने भएकाले उनीहरूले कुपनको दुरुपयोग गर्दै आएका छन्। आवश्यकताको मूल्यांकन गरी इन्धन खर्च वितरण हुन नसक्दा कतै अभाव त कतै दुरुपयोग हुने गरेको प्रहरी अधिकारीहरू नै बताउँछन्।