आर्थिक

भारतले जवाफ नफर्काएपछि नेपाल अन्योलमा

काठमाडौं । सरकार र नेपाल राष्ट्र बैंकले पटक-पटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ ।  भारत सरकारले ३१ डिसेम्बरसम्म पुराना पाँचसय र हजार दरका भारु नोट सटही गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । सो अवधिभित्र सटहीबारे कुनै जवाफ नआएपछि नेपालीसँग भएको भारु साटिने सम्भावना लगभग टुंगिएको छ ।

जवाफनै नआएकाले छिमेकी मुलुकमा भएको आफ्नो मुद्रा संकलित गर्न भारत तयार छैन भन्ने सन्देश प्रवाह भएको राष्ट्र बैंकका एक अधिकारीले बताए नेपालस्थित भारतीय दूतावासले एक महिनाअघि नोट सटही सुविधाबारे मोडालिटी माग गरेको थियो । राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा समूहनै बनाएर सटहीबारे मोडालिटी तयार गरेको थियो ।

उक्त मोडालिटी भारतीय दूतावासलाई बुझाएको एक महिना बित्दा पनि कुनै जवाफ प्राप्त नभएको सिवाकोटीले बताए । ‘अहिलेसम्म हामीलाई कुनै जवाफ पनि दिएका छैनन्,’ उनले भने, ‘मिडियामा भारतीय टोली नेपाल आउन लागेको भन्ने खबर आएका छन् । तर, त्यसबारे हामीसँग कुनै संकेतसम्म नगरिएकाले विश्वास गर्ने ठाउँ छैन ।’

के हुन्छ घाटा ?
भारु सटही सुविधा नपाउँदा नेपालले कुन आकारमा वित्तीय घाटा सहनुपर्छ भन्ने स्पष्ट अनुमान कसैले पनि गर्न सकेको छैन । कतिपय व्यवसायी, सुरक्षाकर्मी र राष्ट्र बैंकका अधिकारी पनि धेरै नेपालीले आफूसँग भएको भारतीय रुपैयाँ सटही गरिसकेको दाबी गर्छन् । आइतबारको नयाँ पत्रिकामा लेखिएको छ, नेपालीलाई २५ हजार रुपैयाँसम्म मात्रै पाँच सय र हजार दरका भारु ल्याउन पाउने कानुनी व्यवस्था छ । तर, व्यवसायीले आठदेखि १० अर्ब भारु नेपालीसँग रहेको अनुमान गरेका थिए । त्यसमध्ये अधिकांश पैसा साटिएर भारतीय बैंकमा जम्मा भइसकेको स्रोतको भनाइ छ ।