पु.समाचार

चीनसँगको संयुक्त सैन्य अभ्यास, ‘डिफेन्स डिप्लोमेसी’ मा नयाँ पाइला

काठमाडौं । नेपाली सेनाले चीनको जनमुक्ति सेनासँग संयुक्त सैनिक अभ्यास गर्ने निर्णय गरेर ‘डिफेन्स डिप्लोमेसी’ मा नयाँ पाइला चालेको छ । विभिन्न मुलुकसँग संयुक्त तालिम, सेमिनार, अध्ययन र बैठक गर्दै आइरहेको भए पनि नेपालले संयुक्त सैन्य अभ्यास गर्न लागेको चीन तेस्रो मुलुक हो । नेपाली सेनाले सन् २०११ देखि भारतसँग ‘सूर्य किरण’ नाम दिएर संयुक्त अभ्यास गर्दै आइरहेको छ भने अमेरिकासँग विपद् व्यवस्थापनको क्षेत्रमा संयुक्त अभ्यास गर्दै आएको छ ।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले संयुक्त अभ्यासबारे चीनसँग प्रारम्भिक छलफल भएको बताए । ‘दुवैतर्फबाट आ–आफ्ना एजेन्डा प्रस्तुत भएका छन् । यसलाई अन्तिम रूप दिन बाँकी छ,’ कार्कीले भने, ‘अभ्यासको मोडालिटी तयार पारेर दुवै पक्ष बसेर अन्तिम रूप दिने छौं ।’ उनले अभ्यासको मोडालिटी नै तयार नभइसकेका कारण मिति तोकिइनसकेको बताए । ‘दुवैतर्फबाट मिति प्रस्ताव भएको छ, अन्तिम रूप लिएको छैन ।’ उनले दुई मुलुक बीचको हुन लागेको अभ्यासलाई नियमित प्रक्रियाको संज्ञा दिए । ‘यो मेलेटरी डिप्लोमेसी सम्बन्धको विस्तारको कुरा हो,’ कार्कीले भने ।

नेपाल–चीन संयुक्त सैनिक अभ्यासलाई राष्ट्रको वैदेशिक नीति र सुरक्षा सम्बन्धको आधारमा अघि बढाइन्छ । २०६२र६३ पछि नेपाली सुरक्षा निकायसँग चिनियाँ सैनिकको सम्बन्ध विस्तार भएको हो । त्यसयता चीनले सशस्त्र प्रहरी बलको पाँचखालमा निर्माणाधीन तालिम केन्द्रलाई सहयोग गर्नुका साथै सेनालाई पनि गैरसैनिक सहयोग गर्दै आइरहेको छ । आइतबारको कान्तिपुरमा लेखिएको छ, यसपटक भने चीनले नेपाली सेनासँग ‘कोर’ सैनिक सम्बन्ध स्थापित गर्न लागेको हो ।

नेपालमा संविधान जारी भएपछि त्यसलाई लिएर असन्तुष्टि जनाउँदै करिब ५ महिना भारतले नाकाबन्दी लगायो । त्यसबेला केपी ओली सरकारले चैत ७–१४ सम्म चीन भ्रमण गरी दुई मुलुकबीचमा पहिलो पटक व्यापार र पारवहन सम्झौता गर्योब । त्यही व्यापार तथा पारवहन सम्झौतालाई टेकेर कूटनीतिक सम्बन्धका आधारमा सैनिकतर्फ पनि संयुक्त सैन्य अभ्यास अघि बढाइएको हो ।

‘सबैभन्दा पहिला राजनीतिक इच्छा शक्ति हो, त्यसपछि काम गर्न सहज हुन्छ,’ सैन्य जानकार तथा सेनाका पूर्वरथी डा। प्रेमसिंह बस्न्यातले भने । चीनसँग कूटनीतिक सम्बन्धलाई अघि बढाएपछि त्यसअनुसार सुरक्षातर्फको सम्बन्धलाई पनि जोड दिइएको छ ।