अन्तर्राष्ट्रिय

बमबारीमा संयुक्त अरब इमिरेट्सका पाँच अधिकारीसहित ५७ को मृत्यु

एजेन्सी। अफगानिस्तानको सहरहरूमा मङ्गलबार भएका बमबारीमा परी संयुक्त अरब इमिरेट्सका पाँच अधिकारीसहित ५७ व्यक्तिको मृत्यु भएको समाचार छ । दक्षिणी कान्दाहारमा रहेको एक सरकारी कार्यालय परिसरका एक सोफामा लुकाएर राखेको बम विस्फोट हुँदा १२ व्यक्तिको मृत्यु भएको थियो ।

तीमध्ये पाँच जना भने संयुक्त अरब इमिरेट्सका अधिकारी रहेका बताइएको छ । यस आक्रमणमा परी कान्दाहार प्रान्तका उप गभर्नर अब्दुल शाम्सीको पनि मृत्यु भएको छ ।

यद्यपि अफगानिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदूत भने सो विस्फोटनबाट बच्नु भएको बताइएको छ ।

यस आक्रमणको केही घण्टा अगाडि अफगानिस्तानको संसद भवननजिकै भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा ३८ व्यक्तिको मृत्यु हुनका साथै अन्य ८६ जना घाइते भएका थिए ।

त्यसैगरी मङ्गलबार बिहान सबैरै अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको प्रान्तीय राजधानी लास्कार घामा भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका थिए ।

कान्दाहारमा भएको आक्रमणको तालिवानी आतङ्ककारी समूहले आफूहरूले नगरेको दाबी गरेका छन् भने काबुलमा अवस्थित संसदमा भएको आक्रमणको भने आफूहरूको हात रहेको दाबी गरेका छन् ।