राजनीति

माओवादी नेताहरुमाथि बर्सिए ढुंगामुढा, मुश्किलले जोगिए उर्जामन्त्री शर्मा !

अर्घाखाँची । उर्जामन्त्री जनार्दन शर्मा र माओवादी केन्द्रका अर्का एक नेताले पाँच नम्बर प्रदेश टुक्रयाउने अभिव्यक्ति दिएलगत्तै अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा स्थानीयबासीले ढुंगामुढा बर्साएका छन् । उर्जामन्त्री शर्मा र माओवादी नेता डिलाराम आचार्यले प्रदेश टुक्राउने अभिव्यक्ति दिनासाथ सो घटना घटेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका माओवादी केन्द्रका नेता एवम् उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेश टुक्रिए पनि अर्घाखाँचीबासीहरुलाई असुविधा नहुने अभिव्यक्ति दिएका थिए । प्रमुख अतिथि शर्माले पाँच नम्बर प्रदेश टुक्रिएपछि अर्घाखाँचीबासी सुरुङमार्गमार्फत आफ्नो राजधानी पोखरा पुग्ने आश्वासन दिएका थिए ।

त्यसअघि माओवादी नेता डिलाराम आचार्यले दिएको अभिव्यक्तिले समेत स्थानीयबासी आक्रोशित भएका थिए । नेता आचार्यले पाँच नम्बर प्रदेश टुक्रिएर केही हुँदैन, देश टुक्रिनु भएन भन्ने अभिव्यक्ति दिएका थिए । दुवै नेताको अभिव्यक्ति आएलगत्तै स्थानीय युवाहरुले मञ्चमै ढुंगामुढा गरेका थिए ।

युवाहरुले ढुंगामुढा गर्न थालेपछि सबै स्थानीयबासीहरु खनिएका थिए । त्यसपछि मञ्चमा रहेका प्रमुख अतिथि शर्मा लगायतका नेताहरु घेराबन्दीमा परेका थिए । उनीहरुलाई त्यहाँ रहेका स्थानीय कार्यकर्ता र सुरक्षाकर्मीले जोगाएका थिए ।  उर्जामन्त्री शर्मा बिहीबारदेखि सुरु भएको अर्घाखाँची महोत्सव उद्घाटन गर्न त्यहाँ पुगेका थिए ।