अन्तर्राष्ट्रिय

राष्ट्रपति भवन अन्तर्राष्ट्रिय सेनाको नियन्त्रणमा

एजेन्सी। पश्चिम अफ्रिकी क्षेत्रीय सेनाको फौजले गाम्बियाको राजधानी बन्जुलमा रहेको राष्ट्रपति भवन नियन्त्रणमा लिएको छ । पराजित भएपछि पनि पद त्याग्न अस्वीकार गर्दै आएका निवर्तमान राष्ट्रपति याह्या जामेहले देश छोडेको भोलिपल्ट नै आइतबार अन्तर्राष्ट्रिय सेनाले राष्ट्रपति भवन नियन्त्रणमा लिएको हो ।

पश्चिमी अफ्रिकी मुलुकहरुको आर्थिक समूह (इकोवास) ले पठाएको सेनालाई राष्ट्रपति भवन नियन्त्रणमा लिन सुरुमा केही गाह्रो भएको थियो ।

राष्ट्रपति भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका उच्चअधिकारी र अन्तर्राष्ट्रिय सेनाका प्रमुखका बीचमा केही घन्टा वार्ता भएको थियो । “यहाँ केही समस्या छैन । हामी शान्ति चहान्छौँ । शान्ति नै राम्रो कुरा हो, वार्ता चलिरहेका बेला राष्ट्रपति भवनमा सुरक्षाका लागि खटिएका गाम्बियाका एक सुरक्षाकर्मीले भने ।

निवर्तमान राष्ट्रपति जम्मेह राजधानी बन्जुलबाट आफ्ना सरसामान, झोलीतुम्बासहित शनिबार राति नै गिनीको राजधानीतर्फ निर्वासनका लागि पलायन भएका थिए ।

जाँदाजाँदै निवर्तमान राष्ट्रपति जामेहले निजी झोलीतुम्बा भन्दै कडा सुरक्षाका बीच थुप्रै ट्रकमा टनाटन सरसामान पनि ओसारी साथमै लैजान भ्याएका थिए ।

गाम्बियामा सत्ता हस्तान्तरण सम्बन्धमा धेरै दिनसम्मको उतार–चढाव, खिचातानी र झन्डै सुरु हुन लागेको रक्तपातपूर्ण विद्रोहपश्चात् पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको मध्यस्थतामा निवर्तमान राष्ट्रपति जामेहले अन्ततोगत्वा सत्ता त्याग गरे ।

पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनका प्रतिनिधिसँगको अन्तिम वार्ता र छलफलपछि गत शनिबार बेलुकी उनले सत्ता परित्याग गर्ने घोषणा गरेका थिए ।

निर्वासनमा जानुभन्दा केही समय अघि उनले गाम्बियाको सबै राजनीतिक समस्या शान्तिपूर्ण ढङ्गले सुल्झाउन सघाउने वचनबद्धता व्यक्त गर्नुभएको र यस क्रममा एक थोपा पनि रक्तपात आवश्यक नभएको बताउनुभएको जनाइएको छ ।

चारैतर्फबाट यसको विरोध भएको र पश्चिम अफ्रिकी राष्ट्रहरुको सङ्गठनको दबाबपछि उनले देशमा देखावटी निर्वाचनको प्रणाली बसालेका थिए । तर गत डिसेम्बरको राष्ट्रपतीय निर्वाचनमा प्रतिपक्षी दलका उम्मेदवार आडमा ब्यारोको अप्रत्याशित विजयबाट उनी तर्सिए ।

राष्ट्रपति जामेह सन् १९९४ को जुलाई महिनामा भएको रक्तपातपूर्ण सैनिक विद्रोहको माध्यमबाट शक्ति हातमा लिई जबर्जस्ती गाम्बियाको शासन सत्तामा आएका थिए ।