आर्थिक

पश्चिम सेती आयोजनाबारे चिनियाँ कम्पनीले माग्यो विस्तृत विवरण

काठमाण्डौ । सरकारले भनेअनुसार ७५० मेगावाटमै डिजाइन गर्न चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआईसी) ले आयोजना सम्बद्ध तथ्यांक आफूसित नभएकाले तत्काल उपलब्ध गराउन लगानी बोर्डलाई पत्राचार गरेको छ। अघिल्लो मंगलबार सीटीजीआईसीसित भएको बैठकमा उसले जलाशययुक्त आयोजनाको जडित क्षमता ६ सय मेगावाट हुने र सुक्खायाममा उत्पादन हुने ऊर्जा ३१ प्रतिशतमात्र हुने प्रस्तुति गरेपछि सरकारले पुरानो सहमतिअनुसार गर्न आग्रह गरेको थियो।

सीटीजीआईसीले पश्चिम सेतीको विस्तृत र अद्यावधिक अध्ययन पूरा गरी प्रतिवेदन तयार गर्न अत्यावश्यक तथ्यांक आफुसित नभएको गुनासो गरेको छ। विद्युत् प्राधिकरणसित २५ प्रतिशत पुँजी (इक्विटी) लगानी गर्ने सम्झौता गरेको भोलिपल्टै सीटीजीआईसीले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई पत्र लेख्दै ‘जलाशययुक्त पश्चिम सेती विकासका लागि तत्काल आवश्यक सूचनाु माग गरेको हो।

चिनियाँ कम्पनीले प्राधिकरणसित गत मंगलबार संयुक्त लगानी सम्झौता गरेको थियो। उक्त पत्रको बोधार्थ ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई दिइएको छ। शुक्रबारका पत्रपत्रिकामा लेखिएको छ, लामो समयदेखि आफूले पश्चिम सेतीको प्रारम्भिक डिजाइन र सम्भाव्यता अध्ययनका क्रममा विद्युत् खरिद दरसम्बन्धी संरचना, नीति, नेपालको विद्युत् प्रणाली योजना, जग्गा प्राप्ति र पुनर्बास नीतिसम्बन्धी जानकारी उपलब्ध गराइदिन अनुरोध गर्दै आएको उल्लेख गर्दै सीटीजीआईसीका अध्यक्ष लु गोजुनले आफुले अहिलेसम्म प्राप्त गर्न नसकेको गुनासो पत्रमा गरेका छन्।

‘आयोजनालाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान यस्ता सूचनाबिनै हामीले विगतका बैठकमा प्रस्तुत गरेका र अनुमान गरिएका तथ्यांकलाई आधार मानेर सम्भाव्यता अध्ययन पूरा गर्यौां, अध्यक्ष गोजुनले पत्रमा भनेका छन्। पत्रमा सीटीजीआईसीले तयार गरेको प्रतिवेदनको प्रस्तुति र त्यसपछि लगत्तै लगानी बोर्ड, ऊर्जा मन्त्रालय र प्राधिकरणसित भएका छुट्टाछुट्टै बैठकमा आफूलाई अनौचारिक तथा मौखिक रूपमा सम्भाव्यता अध्ययन दोहोर्या्उन भनिएको उल्लेख छ। ‘आयोजनाको जडित क्षमता, सुक्खायाममा हुने ऊर्जा उत्पादन र जलाशय अनुकरण (रिजभ्र्वायर सिमुलेसन)जस्ता पक्षलाई पनि विचार पुर्यानउन यी तथ्यांक आवश्यक पर्छन्, जुन कुरा यसअघिका बैठकमा उठाइएको थिएनु, पत्रमा छ। अघिल्लो मंगलबार प्राधिकरणसित भएको बैठकमा सीटीजीआईसीले आफुले गरेको आयोजनाको जलविज्ञान अध्ययनका आधारमा जडित क्षमता ६०० मेगावाट हुने प्रस्तुति गरेको थियो ।

२०६९ साल चैतमा भएको समझदारीमा ७५० मेगावाट निर्माण गरिने भनिएकोमा हाल आएर ६०० मेगावाट गर्न नहुने तर्क नेपाली पक्षले गरेको थियो। ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनाको क्षमता ७५० मेगावाटमै गर्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए। सीटीजीआइसीले लगानी बोर्डलाई नेपालको कुल जडित क्षमता, सुक्खायाममा उत्पादन हुने ऊर्जाको प्रतिशत, सुक्खायाममा प्रतिदिन न्यूनतम सञ्चालन हुने घन्टा र त्यसका लागि आवश्यक अन्य तथ्यांक औपचारिक रूपले उपलब्ध गराउन आग्रह गरेको छ। नेपालमा ऊर्जा बजारको अनुसन्धानका लागि नेपालको विद्युत् प्रणाली योजनासहित विद्युत् माग प्रक्षेपण र प्रसारण प्रणाली योजना, उत्पादित ऊर्जा उपयोगका लागि प्रसारण लाइन निर्माणसम्बन्धी भएका प्रगति विवरण दिनुपर्ने पत्रमा छ।