अन्तर्राष्ट्रिय

रसियामा ५० जना माझी समुद्रमा फसे

एजेन्सी । रसियाको सुदूरपूर्वी सहर भ्लादिभोस्टकमा माछा मार्न गएका माझीहरु बसेको हिउँको विशाल ढिक्का पानीमा तैरिएर बग्दा करिब ५० जना माझी सामुद्रिक क्षेत्रमा फसेका सहरका सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुलाई उद्धार गर्न भ्लादिभोस्टकबाट आपतकालीन सेवा प्रदायक समूहहरुलाई उक्त स्थानमा पठाइसकिए पनि उनीहरुलाई उद्धार गर्न भने नसकिएको बताइएको छ ।

रसियामा सामुद्रिक क्षेत्रमा चिसो याममा माछा पार्न जाँदा बर्सेनि सयौँ मानिसले ज्यान गुमाउने गर्छन् ।

भ्लादिभोस्टकको आपतकालीन सेवा प्रदायक संस्थाले सहर नजिकै सामुद्रिक क्षेत्रमा माछा मार्न असुरक्षित भनी यसैहप्ता सूचना जारी गरेपनि यसलाई बेवास्ता गर्दा उक्त घटना हुन पुगेको बताइएको छ ।