राजनीति

प्रचण्ड नेतृत्वको सरकारमाथि खनिए फेरि माओवादीका अर्का नेता, अब के गर्लान् प्रचण्डले ?

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद अमनलाल मोदीले थारु र मधेसीका माग सम्बोधन नभए संसारको कुनैपनि शक्तिले रोक्न नसक्नेगरी भीषण आन्दोलन हुने चेतावनी दिनुभएको छ । शुक्रबार रिपोर्टस् क्लव नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो चेतावनी दिनुभएको हो ।

नेता मोदीले थारु, आदिवासी, मधेसी, मगर लगायतका मागहरु सम्बोधन नभए अर्को टिकापुर घटना दोहोरिन सक्ने समेत चेतावनी दिनुभयो । समयमै माग सम्बोधन गर्न सरकारलाई उहाँले आग्रह गर्नुभयो । समयमै माग सम्बोधन नगरिए ठूलो संकट आउने खतरा औंल्याउँदै उहाँले सरकारले यो सवालमा ढिलासुस्ती गरे चाहेर पनि नेपाल आफ्नो हातमा नरहने खुलासा गर्नुभयो ।

सांसद मोदीले भन्नुभयो,‘टिकापुर घट्ना एउटा नमूना मात्रै हो, यदि थारु, आदिवासी, मगर, मधेशीहरुका माँगहरु सम्बोधन भएन भने संसारको कुनैपनि शक्तिले अब हुने आन्दोलन रोक्न सक्दैन्।’

साक्षात्कारमा बोल्दै सांसद मोदीले यदि समयमै माँग सम्बोधन नगरिए मुलुकमा ठूलो संकट आउने संकेत गर्दै भन्नुभयो,‘यदि माग सम्बोधन गर्न सरकारले ढिलासुस्ती गर्यो भने चाहेरपनि हाम्रो देश हाम्रो हातमा रहँदैन।’

नेता मोदीले कैलाली, कञ्चनपुर, झापा, मोरङ, उदयपुर र सप्तरीका थारुहरुलाई बेग्लै प्रदेश नदिए कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले थारुहरुको माँग सम्बोधन नभईकन सरकारले जबरजस्ती चुनावको मिति घोषणा गरे आफूहरु बाध्य भएर त्यसको प्रतिकारमा उत्रिने समेत चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रा मागहरु सम्बोधन नभईकन चुनाव घोषणा गरिए, हामी कुनै हालतमा मान्दैनाौं ।’ आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकार विरुद्ध खनिएपछि नेता मोदीको यो टिप्प्णी सुनेर धेरैले आश्चर्य मानेका छन् । तर प्रधानमन्त्रीले कस्ता प्रतिक्रिया दिने हुन् त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।