राजनीति

बदलियो एमालेको रणनीति, अब यस्तो तयारी

काठमाण्डौ । स्थानीय निर्वाचन मिति घोषणा भएको स्थितिमा संविधान संशोधन प्रस्ताव छलफलपछि मतदानबाट टुंग्याउन अवरुद्ध संसद् खुलाउने निष्कर्षमा पुगेको एमालेले पार्टीको रणनीति बदलेको छ। प्रस्तावको विपक्षमा मतदान गर्ने गरी सदन खुलाउने निष्कर्षमा पुगेको एमालेले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले जसरी पनि संशोधन पारित गरेपछि मात्रै निर्वाचन मिति घोषणा गर्ने मोर्चासँग सहमति गरेपछि रणनीति बदलेको हो।

‘शेरबहादुरजीले विपक्षीबाट चोरेर भए पनि संशोधन पारित गर्न साम, दाम, दण्ड, भेदको नीतिअनुसार दुईतिहाइ पु¥याउने कुरा गर्नुभयो, यो अत्यन्त घिनलाग्दो खेलको प्रस्ट संकेत हो,’ उपाध्यक्ष वामदेव गौतमले भने, ‘अब संशोधन प्रस्ताव फेल हुने सुनिश्चित देखिए मात्रै मतदानका लागि सदन खोल्ने निर्णयमाथि पुनर्विचार गर्छौँ, अन्यथा अवरोध गरेर भए पनि राष्ट्रिय हितविरुद्धको प्रस्ताव पारित हुन दिन्नौँ।’
मंगलबारको नयाँ पत्रिकामा लेखिएको छ, यसअघि एमालेले निर्वाचन मिति घोषणा भए संशोधन प्रस्तावको सट्टा राष्ट्रिय सभाको निर्वाचकमण्डल फेर्ने गरी पूरक संशोधन ल्याइए मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने मूल्यमा पारित गर्न तयार रहेको संकेत गरेको थियो।

बालुवाटार स्रोतका अनुसार संविधान संशोधनपछि मिति घोषणा गर्ने मोर्चाका नेताहरूसँगको सहमतिपछि प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीसहित शीर्ष तहका नेताहरूसँग अनौपचारिक संवाद गर्ने ‘मुड’मा छन्। आगामी १० फागुनसम्म संसद् स्थगित भए पनि यसबीचमा अनौपचारिक संवादबाटै एउटा सहमतिमा पुग्न सकिनेमा उनी आश्वस्त छन्।

‘अहिले पनि प्रधानमन्त्रीज्यूले एमालेका नेताहरूसँग अनौपचारिक संवाद गरिरहनुभएकै छ, वार्ता नै नभएको होइन, तर निष्कर्ष आइहाल्ने स्थिति नभएकाले औपचारिक छलफल नभएको हो,’ गजुरेलले भने, ‘त्यहाँभित्र पनि बुझाइको अन्तर रहेकाले कुनै न कुनै निकास आउँछ।’