राजनीति

साना दलहरुविरुद्ध नारायणमान बिजुक्छेको कडा टिप्पणी !

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले साना दलहरुलाई सरकारमा जानबाट रोक लगाउनुपर्ने बताएका छन्  ।  भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः उमाविको १७ औँ, ख्वप कलेजको १५ औँ र शारदा कलेजको २६ औँ वार्षिकोत्सवको अवसरमा ख्वपः उच्च माध्यामिक विद्यालयमा आजबाट सुरु भएको बृहत शैक्षिक एवम् विज्ञान प्रर्दशनीको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

थ्रेसहोल्ड नराख्दा अस्थिर सरकार बन्छ भन्नु गलत भएको बताउँदै उनले स्थिर सरकार बनाउन साना दललाई सरकारमा जान नपाउने व्यवस्था गर्नुपर्ने बताए ।

‘थ्रेसहोल्डले अस्थिर सरकार बन्छ भन्नु गलत हो, नेपाली काँग्रेस, एमाले र माओवादीले नै सरकार बनाउँदा साना पार्टीलाई सरकारमा लगेका हुन्, अस्थिर सरकारको जिम्मेवारी पनि तीन दलले लिनुपर्छ’, बिजुक्छेले भने, ‘ठूला दलले आफ्नो स्वार्थ पुरा गर्न साना दललाई सरकारमा लैजाने, अनि थ्रेसहोल्ड नराख्दा अस्थिरता आउँछ भन्नु गलत हो ।’

कार्यक्रममा उनले ख्वपः विश्वविद्यालयको स्वीकृतिको काम अब अगाडि बढ्ने बताउँदै उनले सम्बन्धन नपाए भक्तपुरका जनता आन्दोलनमा होमिन तयार भएको बताए ।