राजनीति

एमाले नेता महेन्द्र पाण्डेको दाबीलाई दिलु पन्तले यसकारण सिधै अस्वीकार गरिन् !

काठमाण्डौ । नेकपा एमाले निकट भातृसंगठन युवा संघ नेपालभित्र चर्को विवाद देखिएको छ । सो पार्टीको संस्थापन पक्ष र माधव नेपाल पक्षबीच चर्को विवाद देखिएको हो । लामो समयदेखि विवादमा रहेको सो संगठनको १७ महिनापछि माघ २३ देखि २६ गतेसम्म केन्द्रीय समिति बैठक बसेको थियो । केन्द्रीय समिति बैठकमा नेपाल पक्षका युवा संघ पदाधिकारीहरुले संस्थापन पक्षले एकलौटी ढंगले निर्णयहरु लागू गरेको आरोप लगाउँदै ती निर्णयहरु आफुहरुका लागि मान्य नहुने बताउँदै आएका छन् ।

संघको केन्द्रीय समिति बैठकमै लफडा भएको खबर बाहिर आएको छ । यद्यपि, बैठककमा भएका निर्णय र बाहिर सार्वजनिक भएका खबरहरुलाई युवा संघ नेपाललाई हेर्ने पार्टीगत जिम्मेवारी पाएका एमाले नेता महेन्द्र पाण्डेले ठाडै अस्वीकार गरेका छन् । उनले निकै लामो समयसम्म बस्न नसकेको संघको बैठक आफु आएर सम्पन्न गरेको समेत दाबी गरेका छन् । संघभित्र देखिएको विवादका विषयमा स्पष्ट पार्दै उनले भने, ‘अहिले पनि कसै कसैलाई सम्मेलन नगरौं भन्ने थियो, दुई चारजना साथीहरुको त्यो मनासाय प्रस्ट देखिन्थ्यो तर त्यसलाई हामीले इन्कार गरेर बैशाखमा सम्मेलन गर्ने तयारी गरेका छौ । पार्टीभित्र संस्थापन पक्षले एकलौटी ढंगले निर्णय लागू ग¥यो भन्ने कुरा सही होइन् ।’

संघको बैठकले आगामी वैशाख ९ गतेदेखि १२ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ । ‘युवा संघभित्र संस्थापन पक्ष र अर्को पक्ष छ जस्तो लाग्दैन, सामान्य केही विषयमा विवाद भएको हो, त्यसलाई आगामी फागुन पहिलो हप्ता बस्ने पार्टीको पोलिटब्यूरो बैठकमा लगेर हल गरिन्छ,’ पाण्डेले स्पष्ट पारे ।

उता, नेपाल पक्षधर समुहको नेतृत्व गर्दै आएकी युवा संघकै उपाध्यक्ष दिलु पन्तले भने नेता महेन्द्र पाण्डेको दाबीलाई समेत इन्कार गर्दै संगठनभित्र एउटा पक्षले जबर्जस्ती ढंगले निर्णयहरु लागू गर्ने गरेको आरोप लगाएकी छन् । उपाध्यक्ष पन्तले संगठनभित्र थुप्रै कुराहरुमा केही व्यक्तिहरुले अराजक ढंगले निर्णयहरु गर्ने गरेको स्पष्ट पारिन् । पन्तले भनिन्, ‘पार्टीको नियमावली लागू गर्ने विषयदेखि आर्थिक पारदर्शिता, निर्णय गर्ने र कार्यान्वयन गर्ने कुराहरुमा समेत संगठनभित्र केही व्यक्तिवादी प्रवृत्ति हावी भएको सत्य हो, हामीले यसको विरोध गर्दै आइरहेका छौ ।’ उपाध्यक्ष पन्तका अनुसार एमालेको पार्टी नियमावलीमा कुनै पनि जनवर्गीय संगठनले उसको भातृसंगठन खोल्न पाउने भन्ने कुरा उल्लेख छैन, तर यहाँ अन्तरजिल्ला पार्टी कमिटीको नाममा संगठनहरु खोलिएका छन् । यो आफैमा विवादस्पद कुरा हो ।

महाधिवेशन गर्ने माग संस्थापन पक्षको नभई आफुहरुको माग भएको बताउँदै बैशाखमा महाधिवेशन गर्ने विषयमा पनि आफुहरुसँग गम्भीर छलफल नभएको आरोप उपाध्यक्ष पन्तले लगाइन् । जबर्जस्ती ढंगले निर्णय लागू गरेर जाने उहाँहरुको मनासाय हो भने यो आफुहरुलाई मान्य नभएको पन्तको स्पष्टोक्ति थियो । उनले जर्बजस्ती गर्दै गए संगठनमा समानान्तर कमिटी निर्माण हुनसक्ने संकेत समेत दिइन् ।

उता,उपाध्यक्ष पन्तको समुहले लगाएको अरोपप्रति संघका अध्यक्ष राजिव पहारीले ठाडै अस्वीकार गरेका छन् । पहारीले भनेका छन्, ‘बैठकमा कुनै विवाद भएको छैन, बाहिर आएको हल्ला अनावश्यक हल्ला मात्र हो ।’ अध्यक्ष पहारीले बैठकमा राष्ट्रिय अन्तर्राष्ट्रिय महत्व राख्ने ३९ वटा निर्णय भएको समेत बताएका छन् । संघमा विवाद भएको हल्ला वाहियात भएको बताउँदै आगामी बैशाखमा दशौं महाधिवेशनको तयारीमा संघ जुटिसकेको स्पष्ट पारे । उनले संघका केन्द्रीय सदस्य बालिका खड्का लगायत ४ जनालाई कार्वाही गरिएको समेत स्पष्ट पारे ।

त्यस्तै, संघका उपाध्यक्ष रमेश पौडेलले पनि बैठकमा कुनै विवाद नभएको स्पष्ट पारे । उनले भने, ‘साथीहरुले बैठक बहिष्कार गरेका होइनन्, चिया खान बाहिर निस्कँदा गरेको गफ बाहिर आएको हो ।’ उपाध्यक्ष पौडेलले कुनै पनि विरोध संस्थागत ढंगले भएमात्र मान्य हुने जनाउँदै विरोध गर्ने पक्षले संस्थागत नाटिस जारी नगरेकोले त्यसको अर्थ नहुने बताए ।