राजनीति

भारतीय राजदूतावासतर्फ औंला ठड्याउँदै विप्लवले दिए कडा चेतावनी

काठमाण्डौ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीले नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्ने तयारी गरिरहेको बताएका छन् । आइतबार पार्टीको आठौं महाधिवेशन उद्घाटन समारोहलाई राजधानीमा सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन् । माओवादीले अब देशी विदेशी प्रतिक्रियावादीहरुका विरुद्ध लड्ने विचारको उद्घाटन भएको बताउँदै उनले लैनचौरको कुर्सीबाट किटानु सरेर केही नेताहरु हराएजसरी आफुहरु नहराउने स्पष्ट पारे ।

भारतीय राजदूतावासतर्फ संकेत गर्दै उनले भने, ‘लैनचौरको कुर्सीबाट हाम्रो पार्टीमा किटाणु सर्यो, त्यसबाट केही नेता हराए, धरमराए लोप भए, हामी हराएका छैनौ, हामी ती किटाणुसँग लड्न तयार छौ।’  जब देशमा समस्या आइपर्छ तब नेपाली जनता उठेको इतिहास स्मरण गर्दै महासचिव चन्दले यो महाधिवेशन मात्र नभई विचार र स्वाधिनताको उद्घाटन भएको बताए ।

उनले विगतमा माओवादी पार्टी हारेर शान्ति प्रक्रियामा आएको नभई जितेर आएको समेत दाबी गरे । उनले भने,‘ हजारौ हजारौ जनमुक्ति बनाएर जनयुद्ध लड्यौं, जनयुद्धले देशमा परिवर्तन ल्याएका छ तर धेरै निराशा ल्याएको छ, शान्ति प्रकृयामा हामी जितेर आएका हौं, संसदवादी, काँग्रेससँग हारेर आएका होइनौ, हामी जितेर शान्ति प्रकृयामा आएका हौं।’

उनले आफ्नो पार्टीले अब विदेशी हस्तक्षेपका विरुद्ध लड्ने तयारी गरिहेको समेत बताए । आफ्नो पार्टी खान नपाएको भोका नङ्गाका पार्टी भएको उल्लेख गर्दै उनले विदेशीहरुका सबै किसिमका हस्तक्षेपको विरुद्धमा लड्ने प्रतिबद्धता जनाए । उनले सम्राज्यवादी पार्टीहरुले हेप्न खोजेको आरोप लगाउँदै जनता एक ढिक्का भए हेप्न नसक्ने ठोकुवा गरे ।  उद्घाटन समारोहमा हज्जारौं कार्यकर्ता र सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।