समाचार

माधव नेपाल पुगेलगत्तै गौरमा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप

गौर । रौतहटको गौरमा प्रहरी र आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताबीच झड्प भएको छ । झडपमा प्रहरी जवान रामविनय यादव, स्थानीय पत्रकार प्रभातकुमार झा र सर्वसाधारण नन्दकिशोर पटेल  घाइते भएको प्रहरीले जनाएको छ ।

एमाले नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा आयोजित एमालेको कार्यक्रममाथि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

नेपाल आइतबार कडा सुरक्षा घेरामा रहेर रौतहट पुगेका थिए । उनले गौरमा करिब एक घण्टा बसेर पार्टीमा केही नवप्रवेशी कार्यकर्ताहरुलाई प्रवेश गराएर फर्किएका थिए ।

नेता नेपालको गृहजिल्ला समेत रहेको रौतहटको सदरमुकाम गौर तनावका कारण आइतबार दिनभर जस्तै बन्द रह्यो । नेता नेपाल हिडेलगत्तै पनि दोहारो झडपको स्थिति थप चर्किएको थियो । मोर्चाका कार्यकर्ताले एमाले विरोधी चर्का नारा समेत लगाएका थिए ।