पु.समाचार

वीर अस्पतालमा छट्पटाइरहेकी गंगामायालाई जर्मनीका सांसदले दिए यस्तो आश्वासन

काठमाण्डौ । जर्मनीका सांसद ओमिद नुरीपौरेले गंगामाया अधिकारीलाई भेटी न्यायका लागि उनले गरेको संघर्षमा साथ दिने प्रतिबद्धता जनाएका छन् ।  नेपाल भ्रमणमा आएका जर्मनीको ग्रिन पार्टीका प्रवक्तासमेत रहेका सांसद नुरीपौरेले गंगामायाले अघि सारेको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा पुर्यााउने प्रतिबद्धता व्यक्त गरे ।

‘न्यायको संघर्ष जारी राख्नुभएकी गंगामाया नैतिक संघर्षको उदाहरण हुनुहुन्छ,’ वीर अस्पतालमा रहेकी गंगामायालाई भेट्न आफ्नो टोलीसहित पुगेका सांसदले नुरीपौरेले भने, ‘तपाईंको संघर्षको उद्देश्य प्राप्त हुनेमा हामी आशावादी छौं, त्यसो हुन नसके अन्तर्राष्ट्रियस्तरमा आवश्यक पर्ने सहयोगका लागि पनि प्रतिबद्धता व्यक्त गर्छु ।’

सोमबारको कान्तिपुरमा लेखिएको छ, वीर अस्पतालमा उपचाररत गंगामायाले आफूले शान्तिपूर्ण रूपमा न्यायको संघर्ष गरेको बताइन् । ‘म झन्डा लिएर पनि जान्न, हतियार पनि उठाउदिनँ,’ उनले भनिन्, ‘तपाईंहरूकै आश्वासनका कारण मैले भोक हडताल त्यागेकी हुँ । सरकारले जति सहयोग दिन्छु भनेको छ, त्यो खोलामा बगाइदेओस् । मलाई त्यो चाहिँदैन । मेरो छोरा मार्नेलाई कारबाही होस् ।’

भेटमा सांसद नुरीपौरेले गंगामायालाई आत्मविश्वासका साथ रहन आग्रह गर्दै उनको न्यायको संघर्षले प्रतिफल पाउने आशा व्यक्त गरे । हिंसाको विरोधमा शान्तिपूर्वक गरिएको संघर्ष आफैंमा उदाहरणीय रहेको उल्लेख गर्दै उनले आफूहरूले सक्दो सहयोग गर्ने बताए ।

गंगामायाका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन विद्रोही माओवादीले २०६१ जेठ १४ गते हत्या गरेका थिए । हत्यामा संलग्नहरूमाथि कारबाही हुनुपर्ने माग राखी गंगामाया र उनका पति नन्दप्रसादले भोक हडताल गरेका थिए । भोक हडतालकै क्रममा नन्दप्रसादको साढे २ वर्षअघि मृत्यु भएको थियो ।

दोषीमाथि कारबाही नहुन्जेल पतिको अन्त्येष्टिसमेत नगर्ने गंगामायाको अडानका कारण नन्दप्रसादको शव त्रिवि शिक्षण अस्पतालमै छ । हत्याको छानबिन गरी १३ जनालाई प्रतिवादी बनाइएको कर्तव्य ज्यान मुद्दा चितवन जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाको फैसलाको मिति ३ पटक तोकिएर सरेको छ । आगामी २३ गतेका लागि मुद्दाको पेसी तोकिएको कानुन व्यवसायी आशिकराम कार्कीले बताए ।