अन्तर्राष्ट्रिय

अन्तिम सुनुवाईमा उपस्थित नहुने दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा

एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हे संवैधानिक अदालतद्वारा सोमबार गरिने उनीमाथिको महाअभियोगका विषयमा हुने अन्तिम सुनुवाईमा उपस्थित नहुने भएकी छन् ।

उक्त अदालतले महाभियोग लगाइएका दक्षिण कोरियाली नेतालाई प्रतिवादीका रुपमा अन्तिम बचाउका लागि उपस्थित हुने वा नहुने विषयमा जानकारी दिन आइतबारसम्मको समय दिएको थियो ।

सन् २०१६ को डिसेम्बर ९ मा दक्षिण कोरियाली संसदले राष्ट्रपति हे विरुद्ध महाअभियोग विधेयक पास गरेको थियो । सो विषय अहिले अदालतमा विचाराधिन अवस्थामा छ ।

अदालतले मार्च १३ को आसपासमा उनको महाअभियोग विधेयकका सम्बन्धमा अन्तिम फैसला दिने अपेक्षा गरिएको छ ।

स्मरणीय कुरा के छ भने मार्च १३ मा नै यहाँका कार्यवाहक प्रधानन्यायाधीशले अवकाश पाउँदै छन् ।

महाअभियोगसम्बन्धी प्रस्ताव सदर हुनका लागि सर्वोच्च अदालतका बाँकी आठ न्यायाधीशमध्ये छ जनाले समर्थन गर्नुपर्ने हुन्छ । समाचारमा जनाइएअनुसार थप एक न्यायाधीशको अवकाशले अदालतको फैसलाको वैधतामा ‘खतरा’ हुने देखिएको छ ।