पु.समाचार

कञ्चनपुरको जस्तै घटना हुँदा चीनले माफी मागेको थियो, भारतले अब के गर्ला ?

काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ मा पर्ने नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारका ३२ वर्षीय गोविन्द गौतमको मृत्यु भएको घटनाले देशव्यापी आक्रोश बढेको छ । राजनीतिक दल, नेता तथा विभिन्न क्षेत्रमा आबद्ध नागरिकहरूले त्यसको विरोधमा मत प्रकट गरिरहेका छन् । घटनाबारे सरकारले भारतसँग कुरा गर्नुपर्ने र भारतले त्यसमा माफी माग्नुपर्ने आवाज सर्वत्र छ ।

पहिलो र दोस्रो दल नेपाली कांग्रेस र एमालेलगायतले विज्ञप्ति प्रकाशित गरेका छन् भने विद्यार्थी संगठनहरूले काठमाडौंस्थित भारतीय दूतावास नजिक विरोध प्रदर्शन गरेका छन् । शनिबारको कान्तिपुरमा लेखिएको छ, यो घटनालाई कतिपयले भने १९६० मा चिनियाँ सुरक्षाकर्मीको गोलीले मुस्ताङमा एक नेपाली नागरिकको हत्या भएको घटनासँग तुलना गरिरहेका छन् । १९५० को दशकमा नेपाल र चीनबीच ३ वटा विवाद थिए । पहिलो, नेपाली व्यापारीहरूले चीनमा व्यापार तथा वाणिज्यसँग सम्बन्धित विभिन्न समस्या भोगिरहेका थिए । दोस्रो, नेपाल र चीनबीच सीमा विवाद थियो । तेस्रो विवादचाहिँ सगरमाथाबारे थियो । यी विवादका कारण नेपाल र चीनको सम्बन्ध त्यति मधुर थिएन ।

नेपाली कांग्रेसका सभापति बीपी कोइरालाले प्रधानमन्त्री भएलगत्तै यी विषय समाधानका लागि चिनियाँ सरकारसँग संवादको थालनी गरे । त्यसै मेसोमा १९५९ को अक्टोबर महिनामा मन्त्री तुलसी गिरीलाई प्रधानमन्त्री कोइरालाले चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न चीन पठाए । चीनबाट फर्केर गिरीले सीमालगायतका अन्य विषय समाधान गर्न चीन तयार हुनेमा आफू विश्वस्त नभएको प्रतिक्रिया दिएका थिए । गिरीको भ्रमणपछि समस्या समाधानको छनक नदेखिएपछि काठमाडौंमा चीनप्रतिको आक्रोश झन् बढेको थियो । समस्या समाधानका लागि प्रधानमन्त्री कोइराला आफैंले १९६० को मार्च महिनामा चीन भ्रमण गरको थिए ।

यो भ्रमणले दुई पक्षीय सम्बन्धलाई सुधार गर्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । कोइरालाले चीनको भ्रमण गरेको केही महिनामै चीनका प्रधानमन्त्रीले काठमाडौंको भ्रमण गरे । दुई देशका प्रधानमन्त्रीको भ्रमण आदान–प्रदान र कुराकानीको प्रतिफलस्वरूप १९६० को पूर्वाद्र्धमा नै नेपाल र चीनबीचका धेरै समस्या समाधान भए । तर, सीमा तथा सगरमाथाको विवाद कायम नै रहेका बेला मुस्ताङको सीमामा नयाँ विषय उत्पन्न भएको थियो । १९६० को जुन २८ तारिखमा चिनियाँ सुरक्षाकर्मीहरूले सीमा पार गरेर मुस्ताङको नेपाली भूभागमा प्रवेश गरे । चिनियाँ सुरक्षाकर्मीको गोलीबाट एक नेपाली नागरिकको मृत्यु भयो भने उनीहरूले केहीलाई आफ्नो कब्जामा लिए । त्यो घटनालाई नेपाली पक्षले चीनसँग दह्रोसँग उठायो ।

नेपाल मामिलाका जानकार एसडी मुनीले नेपालको परराष्ट्र नीतिसम्बन्धी पुस्तकमा उल्लेख गरेअनुसार उक्त घटनामा चिनियाँ पक्षले आफ्नो सुरक्षा निकायको तल्लोस्तरको जवानले गरेको असावधनीका कारण घटना भएको स्वीकर गर्योे । तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइले चीन सरकाका तर्फबाट घटनाका सम्बन्धमा माफी मागे र नेपाल सरकारले मागेअनुसार मारिएका सुरक्षा गार्डको परिवारलाई क्षतिपूर्ति दिने बताए । अहिलेको घटनामा पनि नेपाल सरकारले भारतीय पक्षसँग यो विषयमा कुराकानी भएको जनाएको छ । घटनाको भोलिपल्ट भारतीय विदेश मन्त्रालयले यस सम्बन्धमा सीमा सुरक्षा बलले अनुसन्धान गरिरहेको बताएको छ । उसले आफ्ना सुरक्षाकर्मीको गोलीबाट नेपाली नागरिक मारिएको भन्ने अझै स्वीकार गरिसकेको छैन । विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरेर घटनाको सम्बन्धमा पोस्टमार्ट रिपोर्ट र फोरसेनिक रिपोर्ट उपलब्ध गराएर अनुसन्धानका लागि सहजीकरण गर्न नेपाललाई आग्रह गरिएको बताएको छ ।

आफ्नो पुस्तकमा चिनियाँ सुरक्षाकर्मीले नेपाली नागरिकको प्रसंग उल्लेख गर्ने मुनीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलद्वारा नेपाली नागरिक मारिएको घटनाबारे ट्वीटमार्फत भनेका छन्, ‘जमिनसम्बन्धी विवादमा गोली चलाएर र नेपाली नागरिकको हत्या गरेर सीमा सुरक्षा बलले ठूलो गल्ती गरेको छ । भारतले सकेसम्म छिटो यस घटनाका सम्बन्धमा माफी माग्नुपर्छ र क्षतिपूर्ति प्रदान गर्नुपर्छ ।’

नेपाली भूमिमै कल्भर्ट बनाइए पनि एसएसबीले भारतको भूमि भएको दाबी गरेपछि विवाद भएको हो । सुस्ता र कालापानीबाहेक अन्य भूभागमा समेत सीमासम्बन्धी विवाद छन् । यसले गर्दा बेलाबेला तनाव सिर्जना हुने गरेको छ ।