राजनीति

सम्झनामा गिरिजाप्रसाद कोइराला, कति पूरा भए उनका सपना ?

काठमाण्डौ । सोमबार नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सातौ स्मृति दिवस । स्व.कोइरालाको सम्झनामा यो दिवस राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपाली कांग्रेस र उसका भातृसंगठनहरुले विविध कार्यक्रमहरुको आयोजना गरी मनाउँदैछन् । नेपालको शान्ति प्रक्रियालाई सहज अवतरण गर्न सफल स्व.कोइरालाको नेपाली राजनीतिक इतिहासमा ठूलो योगदान रहेको छ । नेपाली राजनीतिक रंगमञ्चमा सबैभन्दा अग्रणी भूमिका निर्वाह गरिरहेका बेला उनको २०६६ साल चैत ७ देहवसान भएको थियो ।

मुलुकमा जारी हत्या–हिंसाको राजनीतिलाई कुशल व्यवस्थापन गर्ने मुख्य कमाण्डरको भूमिका निर्वाह गरेका कोइरालाको सोही बीचमा निधन भएपछि राजीतिक नेतृत्वको अभाव खड्किएको थियो । उहाँको देहवसान भएको करिब आधा दशकपछि मात्र नेपालले नयाँ संविधान पाएको थियो ।

तत्कालीन शसस्त्र विद्रोही माओवादीलाई मुलधारमा ल्याउन र शान्ति प्रक्रियाको नयाँ खाका कोर्न सबैभन्दा अग्रणी भूमिका खेल्ने कोइरालाको अहिले पनि अभाव खड्किएको छ, किनभने नयाँ नेपालको नयाँ संविधान निर्माण र कार्यान्वयन गर्दै मुलुकलाई नयाँ ढाँचामा बदल्ने उनको त्यसबेलाकै सपना हो । त्यो सपना पूरा नहुँदै उनको निधन भएको थियो । कोइरालाको सपना समृद्ध नेपालको सपना हो, तर त्यसले अझै पनि सार्थक रुप लिन पाएको छैन ।

वि.सं.१९८१ साल असार १८ गते भारतको बिहारमा जन्मनुभएका कोइरालाले आफ्नो युवाकालदेखि नेपाली कांग्रेसको तर्फबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । वीपी कोइरालाको नेतृत्वमा सुरु भएको समाजवादी आन्दोलनलाई स्थापित गर्न उहाँको ठूलो योगदान रहेको थियो । नेपालका विभिन्न राजनीतिक संग्राम लगायत भारतीय स्वतन्त्रता संग्राममा समेत योगदान दिनुभएका कोइरालाको नेपाली राजनीति परिवर्तनहरुमा जहिल्यै अभाव खड्किने छ ।