पु.समाचार

यी हुन् नेपालका मुख्य सुन तस्कर, प्रहरीले ल्यायो बाहिर यस्तो रिपोर्ट !

काठमाडौं । साढे ३३ किलो सुनको मुख्य मालिक गुप्तलाल (रोशन) भुसाल र हरि खड्का भएको सिआइबीले जनाएको छ । दुवैजना हाल दुबईमा छन् । सुन बरामद भएको भोलिपल्टै भुसाल दुबई गएका थिए । खड्का दुबईस्थित याक एन्ड यती नेपाली रेस्टुरेन्ट तथा याक एन्ड यती सुनपसलका मालिक हुन् । दुबईको सो सुनपसलका अन्य सञ्चालक पनि तस्करीमा संलग्न हरेको स्रोत बताउँछ ।

तस्करीमा लगानी गर्ने चूडामणि उप्रेती (गोरे), रामकिशन अग्रवाल (काले) र अर्जुन खरेलको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ । लगानीकर्ताले सुन ओसारपसारमा आफन्तलाई नै प्रयोग गर्दै आएका थिए । शुक्रबारको नयाँ पत्रिकामा लेखिएको छ, हरि खड्काका भाइ राजकुमार खड्का र अर्जुन खरेलका भाइ प्रकाश खरेल फरार छन् । लाजिम्पाट उत्तरढोकास्थित दरबार रोधीघरमार्फत तस्करीको सुन विभिन्न पसलमा जाने गरेको प्रहरीले पत्ता लगाएको छ ।

तस्करद्वारा विदेशबाटै प्रहरीलाई धम्की
साढे ३३ किलो सुन तस्करीमा फरार रहेका व्यक्तिहरूले विदेशबाटै प्रहरीलाई धम्क्याएका छन् । अनुसन्धान नगर्न भन्दै उनीहरूले फोन गरेर सिआइबीका प्रहरीलाई धम्क्याएका हुन् । इन्टरनेट कलमार्फत फोन गर्दै उनीहरूले सिआइबीका डिएसपी प्रवीण पोखरेल, वीरेन्द्र जोहारीलगायतलाई धम्क्याएका हुन् । सिआइबीले धम्कीको अडियोसमेत अनुसन्धान प्रतिवेदनमा राखेर बुझाएको छ ।