राजनीति

नेपाली सेनाको टोली बेइजिङ पुगेकै बेला भारतको यस्तो तयारी !

काठमाण्डौ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यासको तयारीका लागि नेपाली सेनाको एक टोली चीन गएको छ । सहायकरथी झंकर कठायतको नेतृत्वमा रहेको सेनाको एक टोली मंगलबार चीन गएको हो । विश्वमा बढ्दो आतंकवादको खतरालाई रोक्ने उद्धेश्यका साथ नेपाली सेनाले छिमेकी लगायतका अन्य केही मुलुकसँग यसअघि पनि संयुक्त सैन्य अभ्यास गर्दै आइरहेको छ ।

सेनाले चिनियाँ जनमुक्ति सेनासँग पहिलोपटक हुन लागेको संयुक्त सैन्य अभ्यासलाई पनि त्यसैको निरन्तरता र सामान्य प्रक्रिया भएको बताउँदै आएको छ । नेपाल र चीन दुवैले केही महिनाअघिदेखि सैन्य अभ्यास गर्ने घोषणा गर्दै आएपनि त्यसको मिति भने तय हुन सकेको छैन ।

सम्भवतः यही मार्चको मध्यतिर नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास हुने संकेत सेनाले दिएको छ । त्यसैको तयारी र मोडालिटी तयार गर्न सेनाको एक टोली बेइजिङ गएको सैनिक श्रोतको भनाई छ । सैन्य अभ्यासको तयारी अन्तिम चरणमा पुगेकोले अब छिट्टै त्यसको मिति समेत घोषणा गरिने श्रोतको दाबी छ ।

चिनियाँ जनमुक्ति सेनाले पनि नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेको कुरा यसअघि नै सार्वजनिक भएको थियो । चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता याङ युजुनले केही महिनाअघि बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा नयाँ वर्ष २०१७ मा चिनियाँ सेना र नेपाली सेनाको संयुक्त सैन्य अभ्यास हुने घोषणा गर्नुभएको थियो ।

चीनको त्यो घोषणासँगै दक्षिण एसियामा एउटा नयाँ तरङ फैलिएको थियो । विशेषगरी यो उद्घोषलाई भारतले नजिकबाट नियालिरहेको जानकारहरु बताउँछन् ।

चीनसँग नेपालले संयुक्त सैन्य अभ्यास गर्न सुरु गरे दक्षिण एसियामा थप सुरक्षा चुनौती थपिन सक्ने महसुस गर्दै आएको भारतले नेपाल र चीनको संयुक्त सैन्य अभ्यासबारे खुल्ला प्रतिक्रिया दिएको छैन र तत्काल दिन पनि चाहिरहेको छैन ।

प्रारम्भिक चरणमा दैवीप्रकोप उद्धार र विपत् व्यवस्थापनमा केन्द्रित गरेर सैन्य अभ्यास गर्ने छलफल भए पनि विश्वमा बढ्दै गएको आतंकवादी गतिविधिलाई ध्यान दिँदै चीन र नेपालका सैनिक अधिकारी आतंकवाद र त्यसबाट उत्पन्न सुरक्षा चुनौती सामना गर्न सैन्य अभ्यासका लागि सहमत भएका थिए । नेपाल र चीनले संयुक्त सैन्य अभ्यास गर्ने तयारी र प्रक्रियालाई भने सेनाले सामान्य रुपमा लिएको छ । उसले यो अभ्यास भारत र अमेरिकी सेनासँग यसअघिनै गरिसकेको छ ।

नेपाल र भारतको भने यस्तो तयारी  
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच मार्चको मध्यतिर सैनिक अभ्यास हुनसक्ने खबर बाहिर आइरहँदा नेपाल र भारतबीच पनि सोही समयमा संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त परेड खेलिरहेका बेला भारतीय सेनासँग पनि संयुक्त परेड खेल्दैछन् । वर्षेनी संयुक्त सैन्य अभ्यास गर्दै आएका नेपाल र भारतका सेनाले यो पटक भारतमा संयुक्त सैन्य अभ्यास गर्दैछन् । भारतले भने यसको मिति समेत घोषणा गरिसकेको छ ।

सुर्यकिरण नाम दिइएको सो संयुक्त सैन्य अभ्यास आगामी मार्च २० मा आयोजना हुन लागेको हो । एक साल नेपालले आयोजना गरेपछि अर्को साल भारतले संयुक्त सैन्य अभ्यासको आयोजना गर्ने परम्परा रहेको छ । भारतको पिथौरागढमा हुन लागेको सो संयुक्त सैन्य अभ्यासमा नेपालका एक बटालियन सैनिक जवानहरु सहभागी हुने श्रोतले बताएको छ ।

नेपाल र भारतबीच प्रत्येक वर्ष सैन्य अभ्यास गर्ने चलन रहेको छ । सायद नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास हुने हप्तानै नेपाल र चीनबीच सैन्य अभ्यास हुनसक्ने श्रोतको दाबी छ । श्रोतका अनुसार दुबै छिमेकी मुलुकलाई सन्तुलित सम्बन्ध राख्न सरकार र सेनाले एउटै समयमा सैन्य अभ्यास गर्ने तयारी गरेको हुनसक्ने आंकलन गरिएको छ ।