राजनीति

झापामा मध्यरातमा बसेको एमाले स्थायी कमिटी बैठकले गर्यो मधेसी जनतालाई खुसी पार्ने बोल्ड निर्णय !

झापा । मेची–महाकाली अभियानको उद्घाटन गर्न झापा पुगेको एमाले केन्द्रीय नेतृत्व शुक्रबार राती बोल्ड निर्णय गरेको छ । झापाको विर्तामोडमा बसेको एमाले स्थायी कमिटी बैठकले रातारात २० जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय समितिमा प्रवेश गराउने निर्णय गरेको हो ।  मेची–महाकाली अभियानको विधिवत सुरुवात गर्नु केही घण्टाअघि एमालेले गरेको यो निर्णय मधेस आन्दोलनका लागि समेत निकै अर्थपूर्ण हुने एमाले निकट श्रोतले जनाएको छ ।

स्थायी कमिटी बैठकले १२ जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय समितिमा र ८ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरेको बताइएको छ ।  यसअघि १ सय ८५ जनाको केन्द्रीय समिति रहेको एमालेमा अब २ सय ५ जनाको केन्द्रीय समिति भएको छ ।

मेची–महाकाली अभियानको पूर्वसन्ध्यामा केन्द्रीय समितिमा प्रवेश पाउने मधेसी नेताहरुमा गंगा यादव,यदुवंश झा, रघुवीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, रामदयाल मण्डल, रविन्द्र बैठा,हरिनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र धर्मनाथ यादव रहेका छन् ।

त्यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा नारदमणि राना थारु, जुली महतो, रञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह र सरला यादव रहेको एमाले सचिव योगेश भट्टराईद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।