राजनीति

सप्तरीमा मधेसी मारिएपछि एमाले नेतृ शान्ता चौधरीले नै गरिन् कडा टिप्पणी !

काठमाण्डौ । शनिबारदेखि सुरु भएको एमालेको मेची महाकाली अभियान सोमबार बेलुका ३ दिनका लागि स्थगित भएको छ । सप्तरीको राजविराज पुगेकै बेला मधेसी मोर्चा र प्रहरीको झडपमा परेर आधा दर्जन प्रदर्शनकारीको मृत्यु भएपछि एमालेले ३ दिनका लागि अभियान स्थगित गरेको हो । चुनावी अभियानकै रुपमा सुरु गरेको सो अभियानकै क्रममा त्यस्तो दुर्घटना भएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् ।

एमालेभित्रैबाट विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । एमालेले तराई मधेससँग जोडिएको आन्दोलनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने भित्री तयारी पनि नगरेको होइन । उसले मेची महाकाली अभियान सुरु गर्नु पूर्वसन्ध्यामा झापामै स्थायी कमिटी बैठक बसेर २० जना मधेसी, थारु नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित समेत गर्यो । यो निर्णयलाई उसले मधेसी जनता र उनका जनप्रतिनिधिहरु प्रतिको सम्मान गरेको ठहर गरेको थियो । तर त्यसको ४८ घण्टा नवित्दै सप्तरीमा आधा दर्जन मधेसी युवाहरुको झडपका क्रममा मृत्यु भयो । त्यसपछि एमालेले ३ दिनका लागि अभियान स्थगित गर्यो भने मधेसी मोर्चाले २ दिनका लागि मधेस बन्दको आह्वान गरेको छ ।

यही बीचमा झापा बैठकबाटै केन्द्रीय सदस्य मनोनित भएकी एमालेकै एक जुझारु थारु नेतृ शान्त चौधरीले सप्तरी घटनालाई लिएर एउटा तिखो टिप्पणी गरेकी छन । मृतकहरुलाई श्रद्धाञ्जली दिँदै उनले मधेसी मोर्चाका नेताहरुले यसको जिम्मेवारी लिनुपर्ने बताएकी छन् । उनै चौधरीले लेखेको एउटा टिप्पणीलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
यस्तो छ शान्ताले लेखेको टिप्पणीः

सप्तरीमा हिंसावादी–निषेधकारीहरुले मच्चाएको ताण्डवबाट तीनजना नेपालीको ज्यान गएको छ । मृतकको संख्याबारे फरकफरक समाचार आइरहेको छ) । मृतक नेपाली दाजुभाईहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सो घटनाका दोषी हिंसावादीहरुलाई कडाभन्दा कडा कानुनी कारवाही गर्न माग पनि गर्दछु । यस्ता घटनाका दोषीलाई कारवाही गरिएन भने हिंसावादी–निषेधकारीहरुको हौसला झन बढ्छ । त्यसैले कारवाहीका लागि सरकारले कठोर कदम चाल्नुपर्छ ।

आफू बाहेक अरुले सभाजुलुस गर्न नपाउने भनेर मधेसी मोर्चा तथा त्यसमा आवद्ध दलहरुले घोषणा गरेका थिए । घोषणा अनुसार नै एमालेको सभामा उनीहरु आक्रमण गर्न आएका थिए । त्यसैले सप्तरी घटनाका दोषी मधेसी मोर्चाका नेताहरु हुन् ।

तराईका मधेसी, थारु, जनजाति तथा अन्य विभिन्न समुदाय मधेसी मोर्चाका नेताहरुका रैती हुन् ? मधेसका जनता कुन पार्टीको सभामा जाने या नजाने भनेर उनीहरुले तोक्ने हो ? के मधेसी मोर्चाका नेताहरुको विर्ता हो तराई ? उनीहरुले कसलाई सभा गर्न दिने र नदिने भनेर तोक्नु कतिसम्म अत्याचार हो भनिरहन परेन । तराईका जनता भेंडाबाख्रा हुन् र उनीहरुले आफ्नो बाहेक अरु पार्टीको विचार सुन्न हुँदैन भन्ने मधेसी मोर्चाका नेताहरुको व्यवहार मधेसका समस्त जनताका लागि अपमानजनक छ ।

राजविराजमा एमालेको सभामा हजारौं हजार मानिस सहभागी भए, अधिकांश मधेसी तथा थारु थिए । यसबाट प्रमाणित हुन्छ कि मधेसी तथा थारु समुदायका अधिकांश मानिस एमालेको साथमा छन् । यही कुरा प्रमाणित नहोस्, मधेसका जनता आफ्नो रैती हुन्, आफूले भनेको भन्दा मधेसका जनताले दायाँवायाँ केही गर्न सक्दैनन् र पाउँदैनन् भनेर देखाउने हिंसावादीहरुको प्रयास असफल भएको छ । तर उनीहरु हिंसा मच्चाउन भने सफल भएका छन् । हिंसावादीहरुलाई सघाउ पुराउने काम सरकारले पनि गरेको छ ।

हिंसावादीहरुले राजविराजमा एमालेको सभा विथोल्न हिंसात्मक बाटो अपनाउने घोषणा गरेका थिए र त्यही अनुसार हिंसा मच्चाए । सो हिंसाबाट मृत्यु हुनेहरुको आत्माले अब मोर्चाका हिंसावादी नेताहरुलाई धिक्कार्नेछ । मृतकका परिवारको आँशु हिंसावादीहरुले कसरी पुछ्न सक्छन् ? यी हिंसावादीहरु मानिसको मृत्युमा रमाउँछन्, मृत्यु भएमा आन्दोलनको बहाना पाइन्छ भनेर ढुकेर बसेका थिए । हिंसा मच्चाउने, हिंसामा मानिस मराउने अनि अरुलाई दोष लगाउँदै आन्दोलन गर्ने अपराध हिंसावादीहरुले गर्ने गरेका छन् र अहिले पनि त्यही गरेका छन् ।

हिंसाको जवाफ हिंसा हुन सक्दैन, नेकपा एमाले त्यो पक्षमा कहिल्यै उभिन सक्दैन । एमाले शान्तिवादी पार्टी हो । हिंसालाई शान्तिले जहिले पनि जितेको छ । हिंसावादीहरु केही समय चम्कन्छन्, उनीहरु केही समय रगत बगाउन सक्छन् तर अन्तिममा जित शान्तिकै हुन्छ । त्यसैले आउनुस्, शान्तिकामीहरु एकजुट बनौं, शान्तिका लागि हरेक व्यक्ति मन वचन र कर्मले प्रतिवद्ध बनौं ।