राजनीति

सप्तरी घटनाबारे एमालेले निकाल्यो यस्तो निश्कर्ष

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार सप्तरीमा भएको घटनाको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्ने बताएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित विशेष पत्रकार सम्मलेनमार्फत एमालेले सो कुरा बताएको हो । एमालेले सप्तरीमा भएको घटना दुःखद भएको बताउँदै गृहमन्त्री विमलेन्द्र निधिको भूमिकामा समेत प्रश्न उठाएको छ ।

गृहमन्त्री निधिले बेला–बेलामा आफ्नो पार्टीले सुरु गर्न थालेको अभियान विरुद्ध अभिव्यक्ति दिनु र सोमबारको घटना हुनुमा आशंका व्यक्त गर्दै गृहमन्त्रीले यो घटनाबाट नैतिक उन्मुक्ति पाउन नसक्ने जनाएको छ ।

सप्तरीमा आफ्नो पार्टीका शीर्ष नेताहरुको सामुहिक रुपमा हत्या गर्ने षडयन्त्र समेत भएको जनाउँदै महासचिव इश्वर पोख्रेलद्धारा जारी विज्ञप्ति भनिएको छ, ‘सोमबार राजविराजको औद्योगिक क्षेत्रमा भएको आमसभा सकिएर राजमार्गतर्फ जाने बेलामा घेरा हालेर एमाले नेतृत्वको सामूहिक हत्याको प्रयास भएको छ, यो घटनाको निष्पक्ष छानविन गर्न मानव अधिकार आयोग समक्ष माग गर्दछौं ।’

एमालेको मेची महाकाली अभियान चलिरहेकै बेला सोमबार सप्तरीमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ४ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । त्यसलगत्तै एमालेले ३ दिनका लागि अभियान स्थगित गरेको छ भने मधेसी मोर्चाले २४ र २५ गते मधेस बन्दको आह्वान गरेको छ ।