राजनीति

काँग्रेस, एमाले र माओबादी केन्द्रको बैसाख ३१ गतेको निर्बाचनका लागी यस्तो छ तीब्र तयारी

काठमाण्डौ । तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले स्थानीय तह चुनावको तयारी तीव्र बनाएका छन् । उम्मेदवार छनोट, प्रचार र घोषणापत्र तयार गर्न तीनै दलले नेताहरूलाई जिम्मेवारी दिइसकेका छन् । जिम्मेवारी पाएका तीनै पार्टीका समितिहरूले आफ्नो काम थालिसकेका छन् ।

कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेल र घोषणापत्र मस्यौदा समितिका संयोजक महेश आचार्यले आ–आफ्नो समितिलाई पूर्णता दिँदै तयारी अघि बढाएका छन् । निर्वाचन परिचालन समिति सातै प्रदेशमा चुनावी सभा घोषणा गरी त्यसको तयारीमा जुटेको छ । मस्यौदा समितिले पनि घोषणापत्रमा समेट्ने विषयबारे सुझाव लिन थालेको छ ।

‘हाम्रा सबै समितिले काम अघि बढाइरहेका छन्,’ वरिष्ठ नेता पौडेलले भने । कांग्रेसले निर्वाचन सार्नुपर्ने औचित्य नदेखेका कारण संविधान संशोधनमा साझा धारणा बनेका विषयलाई अघि बढाएरै मधेसी मोर्चाले निर्वाचनमा भाग लिनुपर्ने पौडेलले बताए । राष्ट्रिय सभा गठनका लागि बन्ने निर्वाचनमण्डलबाट स्थानीय तहका प्रमुखरउपप्रमुखको प्रतिनिधित्व हटाउन तयार भएपछि मोर्चाको सरोकार सम्बोधन भएको पौडेलको भनाइ छ । मधेसमा स्थानीय इकाईको संख्या कम हुँदा राष्ट्रिय सभाको प्रतिनिधित्वमा असर गर्ने भन्दै मोर्चाका नेताले स्थानीय इकाईको संख्या बढाउन माग गरेका हुन् ।

‘मतदाता नामावली थप गर्ने र स्थानीय तहको संख्या बढाउने विषयले निर्वाचनका लागि अप्ठ्यारो बनाउँछ, यसले कतै निर्वाचन हुन नदिने उद्देश्य त होइन भन्ने शंका भएको छ,’ पौडेलले भने, ‘अन्तिम तयारी अघि बढिसकेकाले अब निर्वाचन सार्नु या दुई चरणमा गर्नुको औचित्य छैन ।’ उनले निर्वाचन सार्दा प्रधानमन्त्रीलाई फाइदा पुगे पनि मोर्चालाई कुनै फाइदा नहुने बताए । ‘औचित्यका आधारमा मोर्चाका माग सम्बोधन गर्न लचक छौं तर वैशाख ३१ मै निर्वाचन हुनुपर्छ,’ पौडेलले भने, ‘निर्वाचन आयोग र राजनीतिक दलले समेत सबै तयारी अघि बढाइसकेकाले फर्कने ठाउँ छैन ।’

कांग्रेसको निर्वाचन परिचालन समितिले मंगलबार पूर्वसांसद र शुभेच्छुक संघसंस्थाका प्रतिनिधिसँग छुट्टाछुट्टै परामर्श गरेको थियो । मस्यौदा समितिले पनि पार्टीको घोषणापत्रमा ल्याउनुपर्ने विषयबारे समितिका सदस्यबीच छलफल गरेको थियो । समितिले बुधबार बुद्धिजीवी, शुभेच्छुक र नागरिक समाजका प्रतिनिधिसँग बृहत् अन्तक्र्रिया गर्दैछ ।

दोस्रो ठूलो दल एमालेले चुनावका लागि गत साता नै उम्मेदवार छनोट मापदण्ड बनाएर तल्लो तहमा पठाइसकेको छ । स्थायी समितिको सोमबारको बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा घोषणापत्र र महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा निर्वाचन समन्वय समिति बनाइएको छ । यी दुवै समितिले मंगलबारबाट आफ्नो काम थालेका छन् । गौतम संयोजकत्वको समितिले मंगलबार बैठक गरी विज्ञहरूबाट राय लिएर घोषणापत्रलाई अन्तिम रूप दिने निर्णय गरेको छ । घोषणापत्रमा मुलुकको विकास र समृद्धिको खाका अघि सार्ने र संविधानले नै समाजवाद स्थापनाको परिकल्पना गरेकाले त्यो दिशामा जाने खालको विकासको मार्गचित्र ल्याउन एमाले तयारी छ ।

‘संविधानले नै अबको कार्यभार आर्थिकरसामाजिक रूपान्तरणमार्फत समाजवाद उन्मुख हुने तय गरिसकेकाले समाजवाद प्राप्तिका लागि आवश्यक घोषणापत्र जनतामा लैजाने गरी छलफल अघि बढाइएको छ,’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने । एमालेले प्रवासमा रहेका सबै नेपालीलाई स्वदेश फर्किएर चुनावमा भाग लिन अपिल गरेको छ । करिब २० वर्षपछि हुन लागेको स्थानीय चुनावबाट नेतृत्व छनोट गर्ने अवसरमा सकेसम्म स्वेदश आउन उसको आग्रह छ ।

संसदको तेस्रो शक्ति माओवादी केन्द्रले पनि घोषणापत्र, निर्देशिका र उम्मेदवार छनोट कार्यविधि बनाएर छलफलका लागि मातहत कमिटीमा पठाइसकेको छ । सरकारको नियमित कार्य सञ्चालनमा सहभागीबाहेक सबै नेतालाई जिल्ला र स्थानीय तहमा केन्द्रित गरिएको पार्टीले जनाएको छ । पार्टी निर्वाचन परिचालन समिति सदस्य विश्वभक्त दुलाल ‘आहुति’का अनुसार त्यसै कार्यविधि र निर्देशिकाअनुरूप वैशाख पहिलो साताभित्र देशैभरि उम्मेदवार घोषणा भइसक्ने छन् ।

‘उम्मेदवार छनोटका लागि हामीले जिल्ला र सम्बन्धित स्थानीय तहअन्तर्गतका पार्टी कमिटीलाई निर्देशिका र कार्यविधि पठाइसकेका छौं,’ दुलालले भने, ‘त्यसलाई अगाडि बढाउन पार्टी केन्द्रका साथीहरू स्थानीय तहसम्म पुगिरहेका छन् । वैशाख पहिलो साता निर्वाचन समिति बैठक बसेर चुनाव परिचालनसम्बन्धी कामलाई अन्तिम रूप दिइनेछ ।’
माओवादी केन्द्रले यसअघि नै अर्को वर्ष पार्टी महाधिवेशन गर्ने कार्ययोजना बनाए पनि कतिपय मातहत कमिटीको एकता सम्मेलन अहिलेसम्म गर्न सकेको छैन । अधिवेशन गर्न बाँकी पार्टीका स्थानीय तह र जिल्ला अधिवेशन तथा भ्रातृ संगठनको समायोजन कार्यक्रमलाई पनि चुनावी तयारीकै रूपमा सम्पन्न गर्ने माओवादी केन्द्रको रणनीति छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘कसैगरी’ स्थानीय चुनाव गरिछाड्ने बताएका छन् । कान्तिपुरका अनुसार मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी निकट आदिवासी जनजाति राष्ट्रिय महासंघ प्रदेश नम्बर ३ को भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै दाहालले ‘परिवर्तनका एजेन्डा खोस्न चाहनेहरू मात्रै निर्वाचनको विरोधमा रहेको बताए ।

‘उनीहरूलाई परास्त गर्न पनि हामी चुनावमा जानुको विकल्प छैन,’ दाहालले भने, ‘माओवादीले जनयुद्धकालदेखि उठाउँदै आएका संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशिता, समानुपातिक सहभागिता, धर्मनिरपेक्षतासहितका एजेन्डा नयाँ संविधानमार्फत संस्थागत गरे पनि चुनाव नगरी कार्यान्वयन नहुने भएकाले अब स्थानीय तहको चुनाव सफल पार्नुपर्छ ।’

प्रधानमन्त्री दाहालले आफ्नै नेतृत्वको सरकारले लोडसेडिङ हटाउने, ठूला आयोजना छिटो सम्पन्न गर्न पहल गर्ने, हुलाकी मार्ग र फास्ट ट्रयाक निर्माण सुरु गर्ने, विदेशसँग सन्तुलित सम्बन्ध विकास गर्ने, २४ वर्षपछि सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्नेलगायत कैयौं उपलब्धि हासिल गरेको हुनाले त्यसैलाई चुनावी एजेन्डा बनाएर जाने बताए ।