पु.समाचार

सात नम्बर प्रदेशमा किन हार्यो कांग्रेसले, यस्तो रहेछ कारण

धनगढी । कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्लावाट पराजय सुरु गरेको कांग्रेसले दुई दशकपछि भएको स्थानीय तह निर्वाचनमा आफ्ना धेरै आधार क्षेत्र गुमाउन पुगेको छ। ८८ स्थानीय तह रहेको प्रदेश नं ७ को मत परिणाम आउन बाँकी धनगढी उपमहानगर र कंचनपुरको पुर्नवास नगरपालिका वाहेक कांग्रेस दोस्रो स्थानमा झरेको छ। यो प्रदेशमा एमाले पहिलो शक्तिका रुपमा उदाएको छ।

अहिलेसम्म एमालेले प्रदेश ७ का महत्वपूर्ण नगरपालिकासहित ३८ स्थानमा जित हासिल गरेको छ। कांग्रेसले अधिकांस नगरपालिका गुमाएर ३७ स्थान प्राप्त गरेको छ। माओवादीले १० स्थानमा जितेको छ भने फोरमले १ स्थानमा बिजय हासिल गरेको छ।

देउवाको गृह जिल्ला डडेलधुरा सदरमुकामको अमरगढी नगरपालिका, क्षेत्रीय सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिका, कांग्रेसभित्र प्रभावशाली देखिने गरेका नेता एनपी साउद र रमेश लेखकका क्षेत्र कंचनपुरको भिमदत्त नगर, कृष्णपुर नगरसंगै कञ्चनपुरकै बेलौरी नगरपालिकामा पराजित हुनु परेको छ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, कैलालीका टिकापुर नगरपालिका, गोदावरी नगरपालिका जस्ता राजनीतिक रुपमा समग्र प्रदेशलाइ प्रभाबित पार्ने क्षेत्रमा कांग्रेसले पराजय भोग्नु परेको छ। यस अघि आफ्नो बर्चस्व भएका अधिकांस राजनैतिक आधार क्षेत्र गुमाएको कांग्रेसका लागि आगामी निर्वाचन झन वढी चुनौतीपूर्ण हुने देखिएका छन्।

‘मतदाताको चाहना अनुरुप कांग्रेसले आफुलाइ परिवर्तन गर्न नसकेको संकेत हो’ सुदूरपश्चिम बिश्वविद्यलायका पूर्व कुलसचिव प्राध्यापक डा. हेमराज पन्तले भने, ‘न चुनावी रणनीति भयो नत जन चाहनाअनुसार आफूलाइ परिवर्तन नै गर्न सक्यो, जसको परिणाम हो कांग्रेसले आफ्ना परम्परागत आधार क्षेत्र गुमाएको छ उनले भने, ‘ठूलो संख्यामा थपिएका युवा मतदाताको चाहनाअनुरुप कांग्रेस अगाडी वढ्न नसकेको पनि भन्न सकिन्छ।’ टिकट बितरणमा देखिएको अन्योल र ढिलाइले पनि कांग्रेसलाइ कमजोर वनाएको विश्लेषकहरुको भनाइ रहेको छ।

बैसाख ३१ को पहिलो चरणलाइ लक्ष्यित गरि एमालेले चुनावी प्रचार प्रसार सुरु गरेको २ महिनापछि कांग्रेस चुनावी मैदानमा उत्रनु पनि हारको अर्को महत्वपूर्ण पक्ष देखा परेको छ। एमालेले सुदुरपश्चिमका अधिकांस स्थानिय तहका उम्मेदवारहरुको छनौट बैसाख पहिलो साता नै गरिसकेको थियो, कांग्रेस भने असार पहिलो साता नामांकन दर्ता गराउने दिनसम्म उम्मेदवार टुंगो लगाउन नसकिरहेको अवस्था पनि देखियो।

सुदूरपश्चिममा देउवापछि कांग्रेसको नेतृत्व हत्याउने होडवाजीमा लागेका कांग्रेस नेता एनपी साउद र रमेश लेखकले टिकट बितरणमा गरेको प्रत्यक्ष हस्तक्षेपले पनि कांग्रेस कमजोर वनाएको कांग्रेस कार्यकर्ताको गुनासो रहेको छ। कञ्चनपुरमा त दुवै नेता आ–आफ्ना गुटका उम्मेदवारकै चुनावी प्रचारमा देखा परे। सामुहिक रुपमा कांग्रेस उम्मेदवारहरुले उनीहरुको साथ सहयोग पाउन सकेनन् ।

राजनीतिशास्त्रका उपप्राध्यापक टीआर विनाडी भन्छन, ‘०४६ अघिको पुस्ता, ०४६ पछिको पुस्ता र ०५२ पछि जन्मीएको पुस्ता बिच टिकटका लागि भएको हानथाप पनि कांग्रेस पराजयको मुख्य कारण हो।’ प्रदेशमा कांग्रेस राजनीतिमा आफ्नो बर्चस्व जमाउने होडवाजीमा नेताहरुले राम्रा भन्दा पनि हाम्रालाइ टिकट दिए जसलाइ जनताले पत्याएन र कांग्रेसले आफ्नो गढमा नराम्रो पराजय भोग्नु परेको उनले वताए। कांग्रेस नेताहरु एनपी साउंद, रमेश लेखक, बहादुर थापा र वलदेव वोहराले नै मतदान गरेका नगरपालिकामा कांग्रेस पराजय भएको छ।

कांग्रेसले मात्र होइन एमालेले पनि आफ्ना केही प्रभाव क्षेत्र गुमाएको छ। केही प्रभाव क्षेत्र गुमाएपनि एमालेले कांग्रेसका बलिया गढ भत्काउन सफल भएकाले चित्त बुझाएको छ। एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछाममा पनि यस पटक उलटपुलट भएको छ। एमाले जित्दै आएको कमलबजार नगरपालिकामा कांग्रेसका ओमप्रकाश बिष्ट र भूमिसरा बजगाईं मेयर र उपमेयरमा निर्वाचत भएका छन्। अछामका दश स्थानीय तहमध्ये पांच कांग्रेस र दुई माओवादी केन्द्रले जितेको छ भने एमालेले ३ स्थानीय तहमै चित्त बुझाउन बाध्य भएको छ।

अछाम र बाजुरामा कांग्रेसले सुधार गरेको देखिएपनि राजनैतिक रुपमा भबिष्यका निर्वाचनमा प्रभाव राख्ने क्षेत्र गुमाएर कांग्रेस राजनीति कमजोर भएको छ। प्राध्यापक डा.त्रैलोक्यनाथ जोशी भन्छन, ‘गणितीय रुपमा हारजित भन्दा पनि कांग्रेसले रणनैतिक महत्वका क्षेत्र गुमाएर ठूलो घाटा वोर्होनु पर्ने देखिएको छ।’ ‘तत्कालको संख्यात्मक जोड घटाउले कांग्रेस धेरै पछाडी नदेखिएपनि राजनैतिक रुपमा प्रभावित पार्न सक्ने क्षेत्रमा कहिं पनि कांग्रेस जित्न नसक्नु उ कमजोर हुंदै गएको प्रमाण हो’ डा. जोशीले भने।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ७ स्थानीय तह मध्ये सदरमुकामको अमरगढी नगरपालिका सहित २ एमालेले र १ माओवादी केन्द्रले जितेको छ। कांग्रेसले यसपटक देउवाको संसदीय निर्वाचनमा ३३ हजार मत रहेका सदरमुकाम सहित साविकका ४ गाविस मिलेर वनेको नवदुर्गा गाउंपालिका र ५ गाविस मिलेर वनेको अजयमेरु संगै सदरमुकामको अमरगढी नगरपालिकामा नराम्रो पराजय भोगेको छ।