राजनीति

संबिधान संसोधन मुलुकका लागी घातक : आचार्य

काठमाडौँ । नेकपा (एमाले)का सचिव भीम आचार्यले तीनै तहको निर्वाचनपछि मात्र संविधान संशोधन हुने बताएका छन् ।

काठमाण्डौमा बुधबार आयोजना भएको एक कार्यक्रममा उनले नयाँ जनादेशबाट आएका प्रतिनिधिबाट नै संविधान संशोधन गर्नुपर्ने बताए । उनले अहिले संविधान संशोधन हुन नसक्ने भन्दै राष्ट्रिय जनता पार्टीले जनताको मुद्दा नभई सत्ताका लागि संशोधन गर्न माग गरेको आरोप लगाए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले एमाले जस्तो ठूलो दललाई बाहिर राखेर संधोशन गर्दा देशमा ठूलो दुर्घटना हुनसक्ने भएकाले संशोधनमा ढिलाइ भएको उल्लेख गरे ।

नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले सरकार संशोधन प्रस्ताव पारित गराउन लागिपरेको भन्दै संशोधनबिना राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिनुपर्ने बताए । उनले संशोधन प्रस्ताव पास नभए राजपाको एजेण्डा नमर्ने भन्दै निर्वाचनमा गएर एजेण्डालाई स्थापित गराउनुपर्ने धारणा राखे ।

नेता शर्माले सरकार विस्तारका लागि आफ्नो पार्टीबाट बन्ने मन्त्रीको सूची तयार भइसकेको बताउदै प्रधानमन्त्रीले मागेका खण्डमा तुरुन्तै मन्त्रीहरुको नामावली दिने बताए ।

राजपाका नेता वृजेशकुमार गुप्ताले संविधान संशोधन नभए आफूहरु निर्वाचनमा भाग नलिने जिकिर गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भुवन पाठकले पार्टी सरकारमा गए पनि नगए पनि संविधान संशोधनमा सहयोग गर्ने बताए ।