पु.समाचार

एमाले विरुद्ध कसरी प्रयोग गरिएको रहेछ मधेसीहरुलाई, ओलीले खोले यस्तो रहस्य !

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मधेसमा ‘राजनीतिक जागरणको मुहान’का रूपमा रहेको बताएका छन् । भूमिजा मानवअधिकार मञ्चले बिहीबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमाले मधेसमा जन्मेको र पहिलो किसान आन्दोलनको नेतृत्व लिने पार्टी भएकाले कसैका कुनै प्रकारका प्रचारले पछि नपर्ने दाबी गरे ।

‘एमालेले तराईका गरिब दलितहरूमाथि दमन गर्नेलाई नियन्त्रण गर्नुपर्छ भन्छ। उनीहरूविरुद्ध संघर्ष गर्छ। कहिलेकाहीं तिनीहरू तिनै दमितलाई प्रयोग गरेर हाम्राविरुद्ध जाइलाग्छन्’, उनले भने, ‘अस्ति राजविराजमै पनि त्यस्तै भयो। हामीविरुद्ध ढुंगा हान्न दमनकारीले दमितलाई प्रयोग गरे।’

शुक्रबारको अन्नपूर्णमा लेखिएको छ, उनले तराई–मधेस सुगम भएर पनि दुर्गमभन्दा पछि परेको बताए । कर्णालीको विकट गाउँभन्दा मधेस अझै अविकसित रहेकोमा उहाँले चिन्ता व्यक्त गरे । ‘ढल्केबरबाट जलेश्वर जान खोज्यो भने रोडको अवस्था नाजुक, हरिवनबाट मलंगवा जाने अवस्था छैन’, उनले भने, ‘रौतहटजस्तो सुगम जिल्लाको साक्षरता, आर्थिक स्रोत र गरिबीको प्रतिशत बाजुराको भन्दा कम छ।’