राजनीति

यी हुन् कांग्रेसभित्रका भावी सभापतिका उत्तराधिकारी, जसले एक दशकभन्दा बढी समय नेतृत्व गर्दैछन् !

काठमाण्डौ । नेपाली कांग्रेसभित्र बेला–बेलामा पार्टी नेतृत्व र त्योसँग जोडिएको उत्तराधिकारीको बहस चर्को रुपमा उठ्ने गरेको छ । वीपी कोइरालाको पालादेखिनै सो पार्टीभित्र दुई वा त्यो भन्दा बढी समुहहरुबीच अन्तरसंघर्ष झेल्दै आएको कांग्रेसमा बेला–बेलामा यो खालको बहस उठ्नु स्वाभाविक पनि हो । किनभने मुलुकमा आधा शताब्दीमा बढी समय प्रभाव जमाएर बसेको पार्टीमा लामो र तिव्र अन्तरसंघर्ष चल्नु स्वाभाविक पनि हो । यो पटक भने हामीले कांग्रेसभित्र कसरी नेतृत्व विकास भइरहेको छ र भावी पार्टी सभापतिमा क–कसको नाम अग्रपंक्तिमा आउँछ भन्ने विषयमा केन्द्रीत रहेर टिप्पणी गर्ने जमर्को गरेका छौ ।

वास्तवमा नेपाली कांग्रेसभित्र यसबेला संस्थापन पक्षको नेतृत्व पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । पार्टीभित्र वैचारिक मतभेद राख्ने केही समुहहरु छन् । जसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसको नेतृत्व गरेका छन् । कहिलेकाही कृष्ण सिटौला लगायतका नेताहरुले नेतृत्व गरेको समुह पनि पार्टी केन्द्रमा हावी हुने गरेको देखिन्छ ।

लामो समयदेखि कोइराला परिवारको नेतृत्वमा रहेको नेपाली कांग्रेसमा पछिल्लो समयमा अन्य जाति, क्षेत्र र भुगोलबाट पनि केन्द्रमा प्रतिनिधित्व हुने क्रमचाहि ह्वात्तै बढेको छ । जसका कारण नेपाली कांग्रेसभित्र पार्टी सभापति हुने नेतृत्वको विकास समेत तीव्र गतिमा हुने क्रम देखिएको जानकारहरु बताउँछन् । कोइराला परिवारभित्रै पनि राम्रो छबि भएका र त्यागी नेताहरु देखिएका छन् ।

जसमा शेखर कोइरालाको नाम अग्रपंक्तिमा आउँछ । त्यस्तै, सो पार्टीभित्रै केही युवा नेताहरुले समेत नेतृत्व विकासमा क्षमता प्रदर्शन गरिरहेका छन्, जो मुलुक र मुलुकवासीले नै आशा गरेका युवा नेताहरुमा पर्दछन् । सो पार्टीका युवा नेताहरु गगन थापा, प्रदिप पौडेल लगायतको नाम यसमा अग्रपंक्तिमा आउने गरेको छ । नेपाली कांग्रेसभित्र अबको दश वर्षभित्र कुन–कुन नेताहरुले सभापति भएर पार्टी नेतृत्व हाक्न सक्लान् भन्ने केही प्रारम्भिक अनुमान लगाउन थालिएको छ । त्यसलाई हामीले वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वदेखि नै जोड्ने कोशिस गरेका छौ । दशवर्ष पछिसम्म देउवा पार्टी सभापति हुने सम्भावना अत्यन्तै न्युन भएपनि वर्तमान सभापति भएकोले हामीले उनको समेत नाम लिएका छौ ।

यी हुन अब कांग्रेसको नेतृत्वमा (सभापति) आउने सम्भावित नेताहरु
नेपाली कांग्रेस यसबेला पुराना र सुदुरपश्चिमबाट उठेका नेता शेरबहादुर देउवाको नेतृत्व चलिरहेको छ । जो अहिले कांग्रेस सभापतिका अतिरिक्त मुलुकको प्रधानमन्त्री समेत रहेका छन् । उनको नेतृत्वमा पार्टी कसरी अघि बढिरहेको छ भन्ने विषयमा अहिले कांग्रेसभित्र गम्भीर बहस समेत चलिरहेको छ ।

उनी पछि पार्टी नेतृत्वमा आउने नेताहरु को–को होलान् ? यसबारेमा हामीले केही नेताहरुको नाम तयार पारेका छौ । सो पार्टीमा सभापति देउवा पछिका बरिष्ठ नेतामा रामचन्द्र पौडेल पर्छन् । जसले देउवापछि पार्टी नेतृत्व गर्ने हैसियत राख्छन् । उनले अब पार्टीको नेतृत्व गर्नुपर्छ भन्ने कांग्रेस कार्यकर्ताहरुको ठुलो पंक्ति देखिन्छ ।

त्यस्तै,कांग्रेसभित्र पार्टी सभापति हुन योग्य भैसकेका अन्य नेताहरुमा विमलेन्द्र निधि,कृष्ण सिटौला,डा.शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, खुमबहादुर खड्का, सुजाता कोइराला, प्रदिप पौडेल लगायतका युवा नेताहरुको समेत नाम आउन थालेको छ । उल्लेखित नेताहरुका अतिरिक्त केही नेताहरुले अबको एक दशकभन्दा बढी नेपाली कांग्रेसको नेतृत्वमा कब्जा जमाउने सम्भावना देखिएको छ । उनीहरुनै पार्टी सभापति बन्ने सो पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको रोलक्रममा देखिन्छ । यद्यपि, महाधिवेशनले गर्ने निर्णयलाई अहिलेनै किटान गर्न नसकिने भएपनि यी नेताहरुको वरिपरिनै कांग्रेसको मत घुमिरहने देखिन्छ ।

फेरि कांग्रेभित्र नेतृत्व हत्याउन तत्काल ठूला–साना षडयन्त्रहरु समेत हुने भएकोले त्यो बीचमा कुनै अमुक नेता समेत पार्टी नेतृत्वमा आउने सम्भावना पनि उत्तिकै छ । तर माथि उल्लेखित नेताहरुको नाम भने अबको केही वर्ष कसैले काट्न नसक्ने कांग्रेसका नेता–कार्यकर्ताहरु बताउँछन् ।

त्यसर्थ पनि कांग्रेसका भावी पार्टी सभापतिहरुमा यी नेताहरुको नाम लिन सकिने नेपाली कांग्रेसलाई नजिकबाट बुझेका राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् ।