राजनीति

प्रधानमन्त्री देउवाको भारत भ्रमणः ‘यसरी तोडिन सक्छ ऐतिहासिक रेकर्ड !’

काठमाण्डौ । सरकारको नेतृत्व गरेको करिब दुई महिनाको हाराहारीमा प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मुलुक भारतको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री देउवा चौथोपटक प्रधानमन्त्री भएपछि पहिलोपटक छिमेकी मुलुक भारतको भ्रमणमा जान लागेका हुन् । भ्रमणको लागि परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतस्थित नेपाली दूतावासले तयारीलाई तीव्रता दिएका छन् । परराष्ट्रमन्त्री महराले यसबेला भारत र चीन दुवैतर्फ प्रधानमन्त्रीको भ्रमणलाई सन्तुलित ढंगले व्यवस्थापन गर्ने तयारीलाई तिव्रता दिइरहनुभएको बताइएको छ ।

नेपालका प्रधानमन्त्रीहरुले पहिलोपटक भारत भ्रमण गर्नु परम्परागत राजनीतिक संस्कारनै भएपनि कहिलेकाही उत्तरी छिमेकीसँगको बढ्दो सामिप्यताले दक्षिण भारतसँगको सम्बन्धमा चिसोपन पनि ल्याइदिने गरेको छ ।

केही वर्षअघि एमाले अध्यक्ष केपी ओली नेपालको प्रधानमन्त्री हुँदा समेत त्यो अवस्था देखिएको थियो । भारत परम्परागत रुपमै घनिष्ठ मित्र भएको नाताले नेपालका प्रधानमन्त्रीहरुले त्यहाँ पहिलो भ्रमण गर्ने गरेका छन्, तर यसलाई पछिल्ला वर्ष नेपालको भारतपरस्त मनोवृति भनेर आलोचना समेत हुने गरेको छ ।

भारत भ्रमणमा जाने प्रधानमन्त्रीहरुले यी आरोपहरुलाई छल्दै र पछिल्लो समयमा विकसित नेपाली मनोभावनालाई समेत बुझेर भारत भ्रमण र त्यहाँको कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउनुपर्ने अवस्था छ । प्रधानमन्त्री देउवाले सम्भवतः यही साउनको दोश्रो सातापछि भारत भ्रमण गर्दैछन् । के उनले यी सबै कुरा र चूनौतीहरुलाई सन्तुलित ढंगले ब्रेक गर्न सक्लान त ? यो विषयमा उनले अप्नाउनुपर्ने सजगताका बारेमा यहाँ थोरै टिप्पणी गरिएको छ ।

दुई देशबीचको सम्बन्धलाई थप उचाईमा ल्यानुपर्छ !
पछिल्ला वर्ष नेपाल र भारतबीच राजनीतिक, कुटनीतिक र सामाजिक रुपमै केही दरारहरु पैदा भएका छन् । यी कुराहरुलाई बुझेर प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा त्यहाँको संस्थापन पक्षसँग सम्बन्ध विकास गर्नुपर्छ । भ्रमणका क्रममा दुई देशबीच कस्ता खालका सम्झौताहरु गर्ने हो, त्यो विषयमा प्रधानमन्त्रीले अहिलेदेखि नै गम्भीर तयारी गर्नुपर्छ ।

अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण औपचारिकतामा मात्र सिमित रहेको थियो । केपी ओली प्रधानमन्त्री हुँदा बिग्रिएको दुई देशबीचको सम्बन्ध सुधार गर्न मात्र दाहाल नेतृत्वको सरकार केही सफल भएको थियो । अरु महत्वपूर्ण काम केही भएन । तर यो पटक प्रधानमन्त्री देउवाले भने ओलीको पालादेखि बिग्रिएको सम्बन्धलाई समेत थप सुधार गर्नुपर्ने देखिन्छ ।

भारतले नेपाललाई हेर्ने नजर जहिले पनि उही हुनु स्वाभाविक हो । नेपालमा जारी भएको नयाँ संविधानदेखि मधेसी दलहरुले उठाएका मुद्धाहरुमा समेत भारतले नेपाली नेतृत्वसँग असन्तुष्टि जनाइरहेको छ । अहिले पनि उसले मधेसलाई समावेशीको नाराभित्र हाल्न नसकेको आरोप लगाइरहेको छ । यी आदि विषयमा समेत प्रधानमन्त्री देउवाले भारतलाई बुझाउन सक्नुपर्छ र थप सम्बन्ध विकास गर्नुपर्छ । त्यसले मात्र उनको भारत भ्रमणको सार्थकता निर्भर रहन्छ ।

चीनसँगको सम्बन्धबारे
प्रधानमन्त्री देउवाले चीनसँग सम्बन्ध विस्तारबारे पनि भारतसँग स्पष्ट रुपमा कुरा राख्नुपर्छ । नेपाल र चीनबीच पछिल्लो समयमा भैरहेका विभिन्न समझ्दारीहरुका कारण भारत झस्किरहेको छ । एक पेटी, एक मार्गको विषयमा नेपालले चीनसँग सम्झौतानै गरिसकेको अवस्था छ । चीनले अघि सारेको यो अभियानलाई भारतले त्यति राम्रो मानेको छैन ।

केपी ओलीको पालामा चीनसँग भएका दिर्घकालीन र अल्पकालीन सम्झौताहरु त भारतले नेपालमाथि लगाएको नाकाबन्दीसँग जोडिएर आउँछन् । त्यसबेला यी सम्झौता हुँदा भारत निकै चिढिएको छ । यी विषयमा समेत प्रधानमन्त्री देउवाले दुई छिमेकी बीचको सन्तुलित सम्बन्धको दृष्टिकोण अनुसार प्रस्ट पार्न सक्नुपर्छ ।

यी लगायत प्रत्यक्ष–अप्रत्यक्ष रुपमा जोडिएका अन्य थुप्रै सन्धि,सम्झौता र सम्बन्धका विषयहरु पनि रहेका छन्, ती सबैलाई सन्तुलित ढंगले सम्बोधन गर्न दुई देशबीचको नेतृत्व चुक्नुहुन्न् । त्यसले मात्र प्रधानमन्त्री देउवाले नेपाल र भारतबीचको सम्बन्धमा ऐतिहासिक छलाङ हानेको ठहर्छ र नयाँ रेकर्ड राखेको पुष्टि हुन्छ ।