समाचार

यस्ता छन् श्रीमतीका कारण सफल भएका नेपालका उच्च नेताहरु, जो एकपटकदेखि पाँच पटकसम्म प्रधानमन्त्री भए !

काठमाण्डौ । नेपालमा राजनीतिक नेतृत्व स्थापित हुन निकै ठुला कठिनाइहरु भोग्नुपर्ने स्थिति छ । लामो समय राजनीतिक यात्रामा विताएका नेताहरुले आफ्नो पारिवारिक, राजनीतिक र समाजिक लगायतका वातावरणमार्फत अघि देखिएका चुनौतीहरुलाई सामना गर्दै आइरहेका हुन्छन् । राजनीतिक नेतृत्व त्यतिक्कै स्थापित हुन्न्, किनभने उसलाई पारिवारिक वातावरणले पनि उत्तिक्कै प्रभाव पारिरहेको हुन्छ । कुनैपनि नेताको पत्नीदेखि छोराछोरीहरुले समेत उसलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । त्यसैले यो पटक हामीले मुलुकमा प्रधानमन्त्री भैसकेका र भैरहेका केही नेताहरुको आफ्ना पत्नीहरुले उनीहरुलाई राजनीतिमा स्थापित हुन खेलेको भूमिका र उनीहरुको स्वभावबारे यहाँ संक्षिप्त टिप्पणी गरेका छौ ।

सुरु वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक वातावरण र उनकी पत्नी डा।आरजु राणाको भूमिकाबाटै सुरु गरौं । आरजु राणाको पारिवारिक पृष्ठभूमी राणा खान्दान हो । उनको बाल्यकाल राणा परिवारको वातावरणमा हुर्किएको हो । तर पछि उनी डडेल्धुराबाट राजनीतिक उचाई हासिल गर्दै आएका शेरबहादुर देउवासँ विवाह बन्धनमा वाँधिन पुगिन् ।

राणा परिवार आफैमा राजनीतिक महत्व बुझ्न परिवार भएकोले प्रधानमन्त्री देउवालाई आरजुको राम्रो साथ रह्यो । अन्तत, उनी मुलुकमा चौथो पटकसम्म प्रधानमन्त्री बन्न सफल भए । यद्यपि,देउवाको सफलतामा पत्नीको मात्र साथ होइन, उनको लामो समय राजनीतिमाथिको लगावले पनि यो सफलता हासिल भएको हो । त्यतिमात्र होइन, आरजु आफैमा राजनीतिक नेतृ भएकोले देउवालाई राजनीतिमा उचाई लिन निकै सजिलो भयो ।

त्यस्तै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक जीवनमा पनि पत्नी सीता दाहालको निकै ठूलो भूमिका देखिन्छ । प्रचण्डले दश वर्षको शसस्त्र युद्धको नेतृत्व गर्नुअघि उनकी पत्नी सीताले उनलाई राजनीतिमा त्यति धेरै साथ नदिए पनि शसस्त्र युद्धताका भने सिता प्रचण्डसँगै युद्धमा होमिएकी थिइन् । उनले प्रचण्डका पाइला–पाइलामा साथ दिएकी थिइन् । भनिन्छ, पत्नी सिता दाहालको सल्लाहमा प्रचण्डले निकै ठुला निर्णयहरु समेत गरेका छन् र माओवादी नेतृत्वभित्र चर्किने गरेका ठूला–ठूला अन्तरसंघर्षमा समेत सिताले प्रचण्डलाई सल्लाह दिने गरेको बताइन्छ । त्यसैले यसबाट के पुष्टि हुन्छ भने प्रचण्डको राजनीतिक जीवनमा उनकी पत्नी सिताको ठूलो हात रह्यो ।

उता,पूर्वप्रधानमन्त्री एवम एमालेका वरिष्ठ नेता झलनाथ खनालको पारिवारिक पृष्ठभूमी पनि राजनीतिमय देखिन्छ । खनालको राजनीतिक यात्राको प्रारम्भ इलामबाट सुरु भएपनि उनले काठमाण्डौको नेवार समुदायकी रविलक्ष्मी चित्रकारसँग विवाह गरेका हुन् । काठमाण्डौकी स्थानीय नेवार परिवारसँग सम्बन्ध जोडेपनि उनीहरुबीच आन्दोलनमा रहँदै जनवादी विवाह भएको हो । रविलक्ष्मी पनि कम्युनिष्ट आन्दोलनमै भएकोले उनीहरुबीच मन मिल्यो र विवाह भयो । दुवै जनाको राजनीतिक पृष्ठभूमी राजनीतिनै भएकोले झलनाथको राजनीतिक सफलतामा रविलक्ष्मीको हात महत्वपूर्ण रहेको देखिन्छ ।

त्यस्तै,नेपालको राजनीतिक इतिहासमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि निकै प्रभावशाली नेताका रुपमा रहेका गिरिजाप्रसाद कोइराला र उनकी पत्नबीच लामो समय जीवन व्यतित नभएपनि पत्नी सुश्मा कोइरालाले राजनीतिक जीवनका सुरुका दिनमा निकै ठूलो सहयोग गरेको इतिहास भेटिन्छ । कोइराला परिवार आफैमा राजनीतिक वातावरण भएको परिवार भएकोले पनि उनलाई राजनीतिक उचाई लिन ठूलो मद्धत पुगेको थियो । यद्यपि,सुश्माको स्टोभ पड्केर निधन भएकोले उनले पति गिरिजाप्रसाद कोइरालालाई लामो समय सहयोग गर्न पाइनन् ।

 त्यस्तै, नेपालका प्रथम जननिर्वाचिन प्रधानमन्त्री वीपी कोइरालाको पारिवारिक पृष्ठभूमी हेर्दा पनि त्यस्तै देखिन्छ । वीपीले नेपाली कांग्रेसको स्थापनाकाल देखिनै ठूलो योगदान दिएका थिए ।

मुलुकमा नेपाली कांग्रसको स्थापना भएदेखिनै त्यसलाई स्थापित गर्न निकै धेरै पसिना बगाएका बीपी कोइरालालाई २०१६ सालमा सरकारले पक्राउ गरी ८ वर्षसम्म जेल राखेको थियो । उनको पारिवारिक राजनीतिक जीवन आफैमा अनुकुल त छँदैथियो, त्यसमा पनि उनलाई आफ्नी पत्नी सुशीला कोइरालाले राम्रो सहयोग गरेकी थिइन् । वीपी पत्नी सुशीला एक कुशल शिक्षिका भएपनि पतिको राजनीतिक अभियानमा निकै राम्रो साथ दिएको उनले लेखेको आत्मवृतान्तहरुमा पाइन्छ ।

त्यस्तै, नेपाली कांग्रेसबाट मुलुकको प्रधानमन्त्री भएका अर्का चर्चित नेता मातृकाप्रसाद कोइरालाको पनि पारिवारिक वातावरण राम्रो थियो । नेपालको राजनीतिक इतिहासिमा जब राणाहरुसँग जनताको अन्तरविरोध सतहमै देखिन थाल्यो, त्यसबेलादेखिनै कोइराला परिवार राजनीतिमा होमिएका कारण उनीहरुको राजनीतिक अभियानमा पारिवारिक अवरोध नआएको देखिन्छ, किनभने एउटा सिंगो परिवारनै राजनीतिमा होमिएकोले कोइराला परिवारका नेताहरुलाई सजिलो भयो । यद्यपि,केही वर्षअघि नेपालको प्रधानमन्त्री भएका कोइराला परिवारकै अर्का सदस्य सुशील कोइरालाको भने विवाह भएको थिएन । कांग्रेसका अर्का चर्चित नेता कृष्णप्रसाद भट्टराईको भने विवाह भएको थिएन ।

त्यस्तै, एमाले अध्यक्ष केपी ओली जो केही वर्षअघि नेपालको प्रधानमन्त्री रहेका थिए, उनको प्रारम्भिक पारिवारिक पृष्ठभूमी हेर्दा मध्यम वर्गीय स्तरको देखिन्छ । झापाबाट राजनीतिक यात्रा सुरु गरेका उनले काठमाण्डौकी राधिका शाक्यसँग विवाह गरेका थिए । आन्दोलनकै क्रममा विवाह बन्धनमा बाधिएका ओलीको राजनीतिक सफलतामा उनकी पत्नी राधिकाको पनि निकै हात रहेको बताइन्छ ।

एमाले नेताहरुबीचमा एकपटक अन्तरजातिय विवाह गर्ने चलनअनुसार धेरै नेताहरुले अन्तरजातिय विवाह गरेका छन् । त्यसमाथि उनीहरुले कम्युनिष्ट दृष्टिकोणअनुसार अन्तरजातिय विवाहलाई सामान्य मान्दा काठमाण्डौका नेवार परिवारमा बैबाहिक साइनो गाँसिएको देखिन्छ । काठमाण्डौको नेवार समुदाय आफैमा उच्च पारिवारिक वातावरणमा हुर्किएको देखिने गरेपनि नेता पत्नीका रुपमा भित्रिएका नारीहरुले भने परिवारमा राजनीतिक वातावरण बनाउन ठूलो सहयोग गरेका छन् । त्यसैकी एक पात्र हुन् ओली पत्नी राधिका शाक्य ।

उनी पनि सुरुदेखिनै एमालेको नेतृत्वमा हुने आन्दोलनमा होमिएकी हुनाले एमाले अध्यक्ष ओलीको राजनीतिक उचाईमा पत्नी शाक्यको ठूलो योगदान देखिन्छ । ओली अहिले बालकोटमा बस्छन् । त्यस्तै एमालेका अर्का लोकप्रिय नेता मनमोहन अधिकारीलाई पनि यो स्थानमा ल्याउन परिवारको पूर्ण सहयोग रहेको इतिहास अध्ययन गर्न पाइन्छ ।

अधिकारीको ५० को दशकमै निधन भैसकेको छ । त्यस्तै, एमालेकै लोकप्रिय नेता स्व। मदन भण्डारीको राजनीतिक उचाई हासिल प्राप्त गर्न उनकी पत्नी विद्या भण्डारीको पनि ठुलो योगदान रहेको थियो । भण्डारीको २०५० सालमा चितवनको दासढुंगामा रहस्यमय ढंगले दुर्घटनामा परेर निधन भैसकेको छ । विद्या भण्डारी यसबेला नेपालको राष्ट्रपति रहेकी छन् ।

त्यस्तै, पूर्व माओवादी नेता एवम् नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईको पारिवारिक पृष्ठभूमी हेर्दा पनि उनको पारिवारिक राजनीतिक वातावरण निकै सहज देखिन्छ । गोरखामा जन्मेका बाबुरामको काठमाण्डौका रत्न यमीकी छोरी हिसिला यमीसँग विवाह भयो । हिसिलाका पिता पञ्चायतकालमा एकपटक मन्त्री समेत भएको व्यक्ति हुन् । त्यसैले हिसिला काठमाण्डौकी नेवार समुदायकी नारी भएपनि उनको आफ्नो पारिवारिक वातावरणनै राजनीतिमय थियो ।

त्यसैले भारतमा अध्ययन गरिरहेका बाबुराम र हिसिलाबीच उतै भेट भयो । बाबुराम त्यसबेला राजनीतिमा पनि सक्रिय भैसकेका थिए, हिसिला पनि राजनीतिमा जोडिएकी थिइन् । जसका कारण उनीहरुबीच विवाह भयो । त्यसैले अहिलेसम्म उनीहरु दुवैजना राजनीतिक यात्रामै रहेका छन् ।

एमाले बरिष्ठ नेता माधव नेपालको पनि पारिवारिक राजनीतिक पृष्ठभूमि निर्माण गर्न उनकी पत्नीको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । नेता नेपालकी पत्नी गायत्री आचार्य नेपाल वास्तवमा बैंककी कर्मचारी हुन् तर उनले आफ्नो परिवारमा राजनीतिक वातावरण तयार गर्न महत्वपूर्ण योगदान गरेको नेपालले लिनुभएको राजनीतिक उचाईले नै प्रस्ट पार्छ । एकपटक मुलुकको प्रधानमन्त्री भएका माधव नेपालको नेपाली कम्युनिष्ट आन्दोलनमा निकै ठूलो योगदान रहेको छ । रौतहटमा जन्मिएका नेपालको राजनीतिक यात्रालाई आजको उचाईमा ल्याउन गायत्रीको ठूलो भूमिका रहेको बताइन्छ ।

त्यस्तै, पञ्चायतकालदेखि बहुदलीय व्यवस्थामा सदाबहार रुपमा निकै पटक प्रधानमन्त्री भएका स्व।सुर्यबहादुर थापाको पारिवारिक पृष्ठभूमी हेर्दा पनि उस्तै देखिन्छ । धनकुटामा जन्मिएका थापालाई २०१५ सालमा तत्कालीन राजा महेन्द्रले केन्द्रीय राजनीतिमा ल्याएका थिए । उनको राजनीतिक यात्रामा पत्नीको कति भूमिका थियो भन्ने कुराचाहि त्यति धेरै खुलेको देखिदैन ।

उनी मुलुकमा ५ पटक प्रधानमन्त्री भएका थिए । उनको केही वर्षअघि निधन भइसकेको छ । त्यस्तै, पञ्चायतकालदेखिनै पटक पटक प्रधानमन्त्री भएका अर्का नेता हुन् लोकेन्द्रबहादुर चन्द । चन्दको राजनीतिक यात्रा पश्चिम नेपालको बैतडीबाट सुरु भएको देखिन्छ ।

चारपटक नेपालको प्रधानमन्त्री भएका चन्दको पारिवारिक पृष्ठभूमी पनि राजनीतिक यात्राका लागि अनुकुल भएकोले उनले सफलता प्राप्त गरेको बताइएको छ । यद्यपि, उनका पनि सबै पारिवारिक वातावरण बाहिर नआएकोले पत्नीको योगदानको बारेमा खुल्न सकेको छैन ।

उल्लेखित नेताहरु लगायत मुलुकका थुपै्र अन्य नेताहरु उनीहरुको परिवार र उनका पत्नीहरुको योगदानका कारण सफल राजनीतिक व्यक्तित्वको रुपमा स्थापित हुन सफल भएको देखिन्छ ।