राजनीति

सर्वोच्चले फैसला सुनाएलगत्तै भरतपुर महानगरका मेयरका उम्मेद्वारहरुले दिए यस्तो प्रतिक्रिया

काठमाण्डौ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको मतगणना विवादबारे निर्वाचन आयोगको फैसलालाई सदर गरिदिएपछि विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

आइतबार सर्वोच्चले सो प्रकरणबारे फैसला गर्दै पुन मतदान प्रक्रिया गर्न निर्देशन दिएपछि एमालेले त्यसलाई दूर्भाग्यपूर्ण फैसला भएको जनाएको छ भने नेपाली कांग्रेस र माओवादीले त्यसलाई सही मानेका छन् ।

भरतपुर महानगरपालिकामा गत वैशाख ३१ भएको स्थानीय निर्वाचनको मतगणना भैरहेको बेला जेठ १४ गते राती मतपत्र च्यातिएको थियो ।

करिब २ महिना लामो सुनुवाईपछि सर्वोच्च अदालतले त्यहाँ पुन मतदान गर्न निर्देशन दिएको छ । यसै प्रसंगमा सर्वोच्चको सो आदेशपछि भरतपुर महानगरपालिकामा मेयरमा उठेका उम्मेद्वारहरुले पनि आ–आफ्नै खालका प्रतिक्रिया दिएका छन् । एमालेका तर्फबाट देवी ज्ञवाली र कांग्रेस–माओवादीको प्यानलबाट रेणु दाहाल त्यहाँको मेयरको उम्मेद्वार रहेका छन् ।

उनीहरुले सर्वोच्चको फैसला आएलगत्तै प्रतिक्रिया दिएका छन् । एमालेका तर्फबाट मेयरका उम्मेद्वार रहेका देवी ज्ञवालीले सर्वोच्चको फैसला न्यायोचित नभएको प्रतिक्रिया दिएका छन् ।

उनले अदालतको फैसला न्यायोचित छैन तर अदालती फैसला मान्दिन भन्न नमिल्ने भएकोले न्यायको फैसला अब जनतालेनै गर्ने संकेत दिए । उनले चोरलाई चौतारी र साधुलाई सुली चढाउने प्रवृत्तिको जनताले फैसला गरेरै छाड्ने दाबी गरेका छन् ।

न्यायालयभित्र राजकीय हस्तक्षेप भएको भन्दै जनमत त्यसलाई अस्वीकार गरेर छाडिदिने उनले उद्घोष गरेका छन् । मतपत्र च्यात्ने पक्षमा सर्वोच्चले फैसला गर्नु दुःखद रहेको बताउँदै जनताले त्यो निर्णय नमान्ने समेत उनले स्पष्ट पारेका छन् । उनले अब हुने निर्वाचनमा एमालेको पक्षमा मतदान गरेर अदालतको निर्णय सच्याउने समेत दाबी गरेका छन् ।

त्यस्तै कांग्रेस–माओवादीको तर्फबाट मेयरको उम्मेद्वार उठेकी रेणु दाहालले अदालतको फैसला न्यायसंगत भएको टिप्पणी गरेकी छन् ।  आइतबार सर्वोच्च अदालतले गरेको फैसलाले जनताको मतको कदर गरेको बताउँदै उनले यो निर्णय कसैको पक्ष वा विपक्षमा नभएको जिकिर गरेकी छन् ।

दाहालले आफुहरु लामो समयदेखि अदालतको फैसला कुरेर बसेको र अन्तिममा जनताको मतको कदर हुने गरी फैसला भएको टिप्पणी गर्दै अब आफुहरु जनताको बीचमा जाने उद्घोष समेत गरिन् ।

सर्वोच्च अदालतले करिब २ महिनाको सुनुवाईपछि आइतबार सो महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान प्रक्रियामा जान निर्देशन दिएको छ ।