समाचार

राजा पृथ्वीनारायण शाहको पाला देखीको ऐतिहासिक भगवती मन्दिर ओझेलमा

नवलपरासी, १९ साउन । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अवस्थित पाल्ही भगवती मन्दिर यतिबेला उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुल देवी पाल्ही भगवतीको स्थापना भएको हो ।

नवलपरासी जिल्लाको सदरमुकाम परासीदेखि आठ किमी परासी महेशपुर मार्गको दायाँ भागमा पाल्ही भगवती मन्दिर अवस्थित रहेको छ । पाल्ही भगवती मन्दिर नवलपरासी जिल्लाका अतिरिक्त अन्य जिल्ला र भारतको उत्तर प्रदेशसम्म ख्याति प्राप्त रहेको पाइन्छ ।

सेनवंशी राजाको पाल्हीमा दरबार रहेको र दरबारभित्र पुजिने इष्ट देवीका रुपमा पाल्ही भगवती रहेकी थिइन् । सेनवंशी शासनकालमा रतन सेनले आफ्नो दरबारमा पाल्ही भगवतीको पूजा गर्दै आएको पाइन्छ ।

हाल यो मन्दिर पुरानो भए पनि उचित प्रचारप्रसार हुन नसक्दा यस मन्दिरको अस्तित्व दिनप्रतिदिन लोप हुँदै जाँदा ओझेलमा पर्दै गएको हो ।

मूर्तिका रुपमा नभई माटोबाट निर्मित शक्ति पीठको स्थापना गरी पाल्ही भगवतीको पूजाआजा हुँदै आएको र साविकमा पाल्ही कोटकी कालीको नामले भगवतीलाई पुकारिने गरिन्थ्यो । सेन राजाहरुले पाल्हीमा दरबार बनाएकाले भगवतीको नाम पनि पाल्ही कोटकी काली राखिएको इतिहासमा पाइएको छ ।

तत्कालीन रुपन्देहीको केही भाग र परासी क्षेत्रलाई पाल्ही माझखण्ड भनिने गरेको र पाल्ही गोश्वारा माझखण्डका नामले स्थानीय प्रशासन पनि चल्दै आएको थियो । नेपालको एकीकरणपछि राणा शासनकाल (१९३९) भरि त्यहाँको प्रमुख अड्डाका रुपमा मालपोत कार्यालय रहेको र केन्द्रबाट सुब्बा खटिएर प्रशासन चलाउने गरेका थिए ।

मन्दिरको हाता वरिपरि मन्दिरले चर्चेको जग्गा १६ कट्ठा छ । पाल्ही भगवती मन्दिरमा देवीको अमूर्त मृण्मय पीण्डका रुपमा रहेको छ । मन्दिरभित्र वरिपरि देवीका मूर्ति र चित्र रहेका छन् । इनार, धर्मशाला, बहान घण्ट र मन्दिरको भित्र १२ फिट चौडा ५० फिट गहिरो इनार रहेको छ । सो इनार करिब ३०० वर्ष पुरानो मानिन्छ ।

लामो सयदेखि उचित प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै आएको यस पाल्ही भगमती मन्दिरलाई प्रचारप्रसारमा ध्यान दिइएमा यस क्षेत्रको धार्मिक पर्यटनको विकास गर्न सकिने छ ।