मनोरञ्जन

यसकारण राजनीतिमा लाग्दा रहेछन् कलाकारहरु !

काठमाण्डौ । गणतन्त्र स्थापनासँगै कलाकारहरूमा राजनीति मोह बढ्दै गएको छ । पछिल्ला १० वर्षमा सयौँ नाम चलेका कलाकार विभिन्न दलमा आबद्ध भए । कलाकारिता क्षेत्रमा नाम र दाम कमाएका कलाकारको आगमनले एकताका दलहरूभित्र तरंग नै ल्यायो । तर, सक्रिय राजनीतिमा उत्रिएका कलाकार पार्टीभित्र स्थापित हुन सकेका छैनन् ।

पटक–पटक पार्टी परिवर्तन
भूमिका र सफलता नपाएपछि नेता कलाकार पनि निराश नै छन् । केहीले त पटक–पटक पार्टी परिवर्तन पनि गरिरहेका छन् । कलाकारिताबाट देशको समृद्धि सम्भव नभएकाले राजनीतिमा उत्रिएको बताउने कलाकार राजनीतिमा आखिर किन जम्न सकेनन् ? माओवादीमा आबद्ध भएर स्थानीय निर्वाचनअघि राप्रपा प्रवेश गरेकी रेखा थापा भन्छिन्, ‘म देशको सेवा गर्न राजनीतिमा आएकी हुँ । तर, हाम्रो आवाज र एजेन्डालाई दबाउन खोजियो । त्यसकारण कलाकारले आफ्ना एजेन्डा स्थापित गर्न सकेका छैनन् ।’ उनी अहिले राप्रपाको केन्द्रीय सदस्य छिन् ।

भुवन जिल्ल:

थापा मात्र होइन, एमालेमा प्रवेश गरेर एकाएक चर्चा कमाएका नायक भुवन केसी पनि राजनीतिबाट पीडित छन् । दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१ बाट टिकट उम्मेदवार बनाउने आश्वासन पाएका केसीको नाम अन्तिममा काटियो । एमालेले टिकट नदिने भएपछि भुवन तत्कालीन राप्रपा नेपालमा जाने मनस्थितिमा पुगेका थिए । शनिबारको नयाँ पत्रिकामा लेखिएको छ, यसको सुइँको पाएपछि उनलाई पार्टीमै रोक्न वरिष्ठ नेता माधव नेपालको पहलमा नायक भुवनलाई टिकट दिने लगभग पक्का भयो ।

टिकट पाएपछि भुवन पनि निकै खुसी थिए । मिडियामा उनले तीन करोड नेपालीको साथ पाएको बताउँदै हिँड्नसमेत भ्याए । तर, रातारात पार्टीभित्रैका नेताको दबाबमा उनको टिकट खोसियो । भुवन जिल्ल परे ।

आश्वासन पाउने धेरै:

आफू राजनीतिक लाभ लिन पार्टीमा प्रवेश नगरेकाले यसले आफूलाई कुनै असर नपारेको उनी बताउँछन् । भन्छन्, ‘म निःस्वार्थ भावनाले राजनीतिमा प्रवेश गरेको हुँ । त्यसैले पार्टीले दिएको जिम्मेवारी बहन गर्न तयार छु, तर पदको लालचमा भने लाग्दिनँ । न पद पाइनँ भनेर पार्टी नै परिवर्तन गर्छु ।’ केसी त एक उदाहरण मात्र हुन्, उनीजस्तै पार्टीमा विभिन्न आश्वासन पाउने धेरै छन् ।

कलाकार किन राजनीतिमा लाग्छन् ?
एउटा अन्तर्वार्तामा समालोचक महेश पौडेलले पछिल्लो समय पार्टी प्रवेश गरेका प्रायः कलाकारसँग केही भिजन नभएको बताएका थिए । तर, जागिर नै छाडेर राप्रपामा प्रवेश गरेकी कोमल वली भने तीन कारणले कलाकार पार्टी प्रवेश गर्ने बताउँछिन् । ‘कलाकारहरू अवसर, लोकप्रियता र योगदानका लागि पार्टी प्रवेश गरेका हुन्छन् । कतिपय भने लहलहैमा पनि प्रवेश गरेको देखिएको छ,’ उनी भन्छिन् । वलीले आफू भने कलाकारिताबाट परिवर्तन सम्भव नभएपछि नीति निर्माण तहमा पुगेर जनताको पक्षमा काम गर्न राजनीतिमा लागेको दाबी गर्छिन् ।

आवाज उठाउन:

एमालेसँग आबद्ध नायक भुवन केसी आफू कलाकारको हकहित र अधिकारको पक्षमा आवाज उठाउन राजनीतिमा लागेको बताउँछन् । तत्कालीन माओवादी हुँदै राप्रपा प्रवेश गरेकी नायिका रेखा थापा कालाकारिताले चेतना प्रदान गर्ने भए पनि जनताको जीवनस्तरलाई आमूल परिवर्तन गर्न नसक्ने भएकाले आफू राजनीतिमा आएको बताउँछिन् । भन्छिन्, ‘न्याय र जनताको एजेन्डा बोकेर कार्यान्वयन गर्ने तहमा हस्तक्षेपकारी भूमिका खेल्न म राजनीतिमा आएकी हुँ ।’

देश विकास र समृद्धिका लागि:

कांग्रेससँग आबद्ध लोकगायिका राधिका हमाल कलाकारिता क्षेत्रबाट समग्र राष्ट्रको विकास हुन नसक्ने भएकाले आफू राजनीतिमा आएको बताउँछिन् । उनले राजनीतिमार्फत देश विकास र समृद्धिका लागि पहल गर्ने र जनहितमा काम गर्ने आफ्ना योजना रहेको सुनाइन् ।

राजनीति बुझ्न:

स्थानीय तहको निर्वाचनमा एमालेको निर्वाचन प्रचारप्रसारका लागि गीत गाएका गायक बद्री पंगेनी राजनीति बुझ्न मात्र आफू यस क्षेत्रमा लागेको बताउँछन् । माओवादी केन्द्रसँग आबद्ध संगीतकार चेतन सापकोटाले राजनीतिमार्फत कलाकारिता पेसालाई व्यवस्थित र मर्यादित बनाउन आफू राजनीतिमा प्रवेश गरेको बताए ।