समाचार

लागूऔषध कारोबारमा संलग्न एक ब्यक्तिको प्रहरीले गर्यो इन्काउन्टर

२३ साउन, काठमाडौं । प्रहरीको इनकाउन्टरमा परि ललितपुरस्थित कुसुन्तीमा एक जनाको ज्यान गएको छ ।

लागूऔषध कारोबार गर्दै आएका प्रवीण खत्रीको साथमा हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

प्रहरीले दुई वटा पेस्तोल फेला पारेका छन् भन,े उनलाई कुन पेस्तोलको (प्रहरीको या उनको आफ्नै) गोली लाग्यो भन्ने कुराको पुष्टी भएको छैन् । उनले आफैँले आफुलाई गोली हानेको भन्ने अनुमान पनि गरिएको एसएसपीले बताए ।

एसपी प्रकाशजंग कार्कीका अनुसार प्रहरी टोलीले उनलाई विहानैबाटै पिछा गरेको थियो । प्रहरी टोलीबारे सूचना पाएपछि घरको पछाडिबाट हामफालेका खत्री भाग्ने प्रयास गरे ।

प्रहरीले पछ्याउँदै गर्दा उनले फायर गरेको र आफूहरुले जवाफी कारबाही गरेको प्रहरीले बताएको छ । गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन् ।एसएसपी अमात्यसहितको प्रहरी टोली अहिले पनि कुसुन्ती १३ स्थित अरुणिमा बस्तीमा छ ।