पु.समाचार

यस्ता जनप्रतिनिधिबाट जनताले के आशा गर्ने ? मेयर विद्यासुन्दर शाक्यले गरे अर्को विवादस्पद निर्णय !

काठमाण्डौ । स्थानीय निकायको पहिलो र दोश्रो चरणको निर्वाचन सम्पन्न भएको धेरै महिना भएको छैन् । बीस वर्षपछि भएको स्थानीय निकायको चुनावपछि त्यसको नेतृत्व गर्ने जनप्रतिनिधिहरुप्रति जनताले ठुलो आशा र अपेक्षा राखेका छन् ।

लामो समय मुलुकमा विकास र प्रगतिको बाटो नखुल्नुमा स्थानीय निकायको निर्वाचनलाई पनि लिने गरिन्छ । तर निर्वाचन सम्पन्न भएको केही महिना पनि नबित्दै मुलुकका प्रभावशाली स्थानीय निकायका जनप्रतिनिधहरुका रबैयाहरु देखेपछि जनताले आशा र विश्वास गरेका सोचहरुमा तुषारापात लाग्ने संकेत देखिन थालेको छ ।

जनप्रनिधिहरुले सपथ लिएर कुर्सीमा बसेको महिना दिन पनि नबित्दै धमाधम जनअपेक्षा विपरित काम गर्न थालेको देखिन थालेको छ । यसको ज्वलन्त उदाहरण बनेका छन् मुलुककै सबैभन्दा ठूलो स्थानीय तहको रुपमा चिनिने काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य ।

मेयर शाक्यले जनप्रतिनिधिको रुपमा सपथ लिएलगत्तै एउटा विवादस्पद निर्णय गरेका थिए । काठमाण्डौ महानगरपालिकाका सबै जनप्रतिनिधहरुलाई एक–एकवटा अत्याधुनिक मोबाइल खरिद गर्ने निर्णय गर्नासाथ उनी विवादमा तानिए । उनले गरेको सो निर्णय चर्को विवादमा आएपछि फिर्ता लिइएको थियो ।

फेरि एकपटक उनै मेयर शाक्यसँग जोडिएर अर्को विवादस्पद निर्णय बाहिर आएको छ । भर्खरै मेयर शाक्यका लागि महानगरपालिकाले एक करोड बीस लाखको विलासी गाडी खरिद गरेको छ । उनका लागि खरिद गरिएको यो गाडी निकै अत्याधुनिक गाडी हो ।

मेयर शाक्यका लागि महानगरपालिकाले टोयोटा कम्पनीको ‘फच्र्यूनर’ गाडी खरिद गरेको जनाइएको छ । यद्यपि, यसअघि काठमाण्डौ महानगरले प्रयोग गर्दै आएका केही गाडी पनि एक करोड मूल्य बराबरका छन् र ती सबै गाडी कन्डिसनमा हुँदाहुँदै मेयर शाक्यका लागि यति धेरै महंगो गाडी खरिद गरिएको छ । गाडी खरिद गरिएपनि त्यसको नम्बर प्लेट भने नबनेको श्रोतले जनाएको छ ।

गाडी अहिले राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राखिएको छ । त्यस्तै, महानगरपालिकाले उपमेयर हरिप्रभा खड्गीका लागि पनि ८० लाख बराबरको गाडी खरिद गर्ने प्रक्रिया अघि बढाएको बताइएको छ । सो गाडी पनि केही दिनमै काठमाण्डौ आइपुग्ने बताइएको छ । यद्यपि, महानगरले भने गाडी खरिद प्रक्रिया जनप्रनिधिहरु आउनुभन्दा अघि नै सुरु गरिएको बताएको छ ।

यो प्रश्नको उत्तर दिन सक्छ्न् शाक्यले ?

उल्लेखित घटनाक्रमबाट के पुष्टि हुन्छ भने जनताको काम गर्न चुनिएका जनप्रतिनिधिहरु आ–आफ्नै स्वार्थपूर्ति गर्ने बिलासिताको अभियानमा लिप्त भैरहेका छन् । मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी क्रमसः नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु हुन् ।

उनीहरु निर्वाचित भएलगत्तै किन यस्ता विवादास्पद निर्णय गरिरहेका छन् ? बुझ्न सकिएको छैन । केही दिनअघि काठमाण्डौको ढलमा बालबालिकाहरु बगिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले महानगरपालिकालाई तत्काल ढल पूर्न र त्यसको व्यवस्थापनमा लाग्न निर्देशन दिएका थिए ।

तर मेयर शाक्यले वर्षामा ढल पूर्न नसकिने र पुरे पनि जनताबाट उठेको कर बिना काममा खर्च हुने भन्दै जिम्मेवारीबाट पन्छिन खोजेका थिए तर उनैका लागि अहिले करोडौका विलासी गाडीहरु खरिद हुँदा जनताले तिरेको करको कुरा किन उठेन ? यसको उत्तर एकपछि अर्को विवादास्पद निर्णयमा हस्ताक्षर गर्दै आएका लाचार मेयर शाक्यले दिन सक्छन् ? यो खालका जनप्रतिनिधिहरुबाट जनताले के आशा गर्ने ?

काठमाण्डौ महानगरपालिकाले यो खालका निर्णय गर्दै गए एउटा मेयरमाथिको अविश्वास मात्र होइन सिंगो काठमाण्डौ महानगरपालिकाको भविष्य सकिने खतरा देखिन्छ । सिंगो महानगरपालिकाको भविष्य मात्र होइन मेयर शाक्यले जुन पार्टीको नेतृत्व गर्दै महानगरपालिकाको जिम्मेवारीमा पुगेका छन्, सो पार्टीलाई समेत गम्भीर धक्का लाग्ने देखिदैछ ।

त्यतिमात्र होइन काठमाण्डौ महानगरपालिकाभित्र गडबड गर्नु भनेको सिंगो मुलुकमाथि गर्नुजस्तै हो, जसको प्रभाव राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्ने निश्चित छ । यस्ता खालको जनहित विपरित काम गर्ने जनप्रतिनिधलाई एमालेले किन संरक्षण दिइरहेको छ जनताले बुझ्न सकिरहेका छैनन् ।