पु.समाचार

अस्पतालको लापर्वाहीका कारण नौ वर्षीया बालिकाको मृत्यु, केएमसी अस्पताल रातभर तनावग्रस्त

काठमाण्डौ । काठमाण्डौ मेडिकल कलेजमा अस्पतालको लापर्वाहीका कारण एक बालिकाको ज्यान गएको छ । सोमबार साँझ ७ बजे सोलुखुम्बुकी नौ वर्षीया सुनिता बस्नेतको अस्पतालको लापर्वाहीका कारण मृत्यु भएको हो ।

गोडाको उपचार गर्न अस्पताल भर्ना भएकी सुनिताको अस्पतालको लापर्वाहीका कारण एक्कासि मृत्यु भएको उनका आफन्तहरुको आरोप छ । बालिकाको मृत्यु भएपछि उनका आफन्त र अस्पताल प्रशासनबीचको विवादका कारण केएमसीको प्राङ्गण रातभर तनाबग्रस्त भएको थियो ।

मृतक बालिकाका आफन्तहरुले क्षतिपूर्तिको माग गर्दै विरोध प्रदर्शन समेत गरेका छन् । सो घटनाको छानबिनका लागि अहिले वार्ता टोली तयार भैरहेको गौशला वृत्तका प्रहरी निरिक्षक प्रकाश राउतले बताए ।

काठमाण्डौ मेडिकल कलेजकी प्रिन्सिपल डा.चन्दा कार्कीले घटनबारे गम्भीर अनुसन्धान भैरहेको र त्यसमा चिकित्सकहरु दोषी देखिए कडा कार्वाही गरिने बताएकी छन् ।

मृतक बालिकाका आफन्तहरुको धर्ना अहिले पनि जारी छ । घटनाका दोषीमाथि कडा कार्वाही नभए जस्तोसुकै कदम चाल्न पछि नपर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।