समाचार

यसरी राहत वितरण गर्दैछ सरकार, सेना र निजी क्षेत्रका १५ वटा हेलिकोप्टर तराईको आकाशमा

काठमाण्डौ । केही दिनअघि देखि तराई–मधेसको जनजीवन बाढीका कारण अस्तव्यस्त छ । पूर्वदेखि पश्चिम तराईसम्म नै बाढीका कारण बबण्डर मच्चिएको छ । ९० जना भन्दा बढीले ज्यान गुमाएका छन् भने भने तीन दर्जनभन्दा बढी अझै बेपत्ता रहेका छन् ।

यसै सिलसिलामा सोमबार प्रधानमन्त्री शेरबहादुर देउावले बाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । डुबानमा परेका बारा,पर्सा, रौतहट, सर्लाही,महोत्तरी, सप्तरी, सुनसरी,मोरङ, झापा लगायतका जिल्लाको अवस्थाबारे प्रधानमन्त्री देउवाले जानकारी लिएका छन् ।

प्रधानमन्त्री देउवाले डुबान क्षेत्रको अवलोकन गरेसँगै सरकारले डुबान क्षेत्रका लागि राहत तथा उद्धारका कार्यक्रम घोषणा गरेको छ । करिब एक दर्जन हेलिकोप्टरहरु अहिले डुबान क्षेत्रमा राहत वितरणमा व्यस्त भैरहेको श्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवालाई नै बोकेर पूर्वको इटहरी पुगेको सेनाको हेलिकोप्टरले राहत बाँड्न सुरु गरेको थियो । त्यहाँ अवतरण गरेलगत्तै प्रधानमन्त्री देउवाले आफै राहत वितरण गर्न सुरु गरेका थिए ।

त्यसलगत्तै सरकारले डुवानमा परेका सबै जिल्लामा राहत रकमम विनियोजन गरेर प्योकज बनाउन जिल्ला प्रशासन कार्यलय काठमाण्डौलाई निर्देशन दिएको श्रोतले बताएको छ ।

सरकारले अहिले बारा,पर्सा,रौतहट,सर्लाही,महोत्तरी, धनुषा, सुनसरी, सप्तरी,सिराहा,मोरङ झापा र पश्चिमका दाङ,बाँके, बर्दिया, कैलाली लगायतका जिल्लामा राहतको कार्यक्रमलाई अघि बढाइरहेको जनाइएको छ ।

 त्यसका लागि अहिले सेनाका ७ वटा र नीजि क्षेत्रका ८ वटा हेलिकोप्टरहरु डुबान क्षेत्रमा राहत वितरणका लागि उडिरहेका छन् ।

जसअनुसार झापामा आठ सय ५१ थान त्रिपाल, चार सय ७५ थान कम्बल र दुई सय ६१ सेट भाँडाकँडा र ड्राइफुड, सुनसरीमा ६ हजार चार सय ८५ किलो चामल, १२ हजार ६० केजी चिउरा, ६ हजार सात सय १० केजी भुजिया, नौ सय १० किलो नुन, २१ हजार चार सय ५० प्याकेट चाउचाउ, ५० लिटर तेल, ६ सय ५० पोका चाउचाउ र तीन सय २५ केजी दालमोठ वितरण गरिएको छ ।

त्यसैगरी, सप्तरीमा ६ सय ७० वटा त्रिपाल, १५ बोरा चिउरा, ५० बोरा भुजिया, १० बोरा चामल, लत्ताकपडा एक सय ४६ थान र विराटनगरबाट पाँच हजार केजी ड्राईफुड पठाएको मन्त्रालयले जनाएको छ।

झापा, सुनसरी, सप्तरीसँगै अन्य आठ जिल्ला सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलालीमा त्रिपाल, कम्बल, सिटामोल, जीवनजलसँगै ड्राइफुड, भाडाकुँडा र लत्ताकपडा पठाइएको जानकारी गृह मन्त्रालयले जनाएको छ ।

राहत वितरण एवं उद्धारकार्यका लागि निजी क्षेत्रमार्फत सिम्रिक एयरलाइन्सको दुईवटा हेलिकोप्टर एक बजे राहत लिएर रौतहट र बारा पुगेर फर्किएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोतका अनुसार अन्य निजीतर्फ अल्टिच्युड एयरको एउटा, मनाङ एयरको दुईवटा, हेली एभरेस्टको एउटा, एयर डाइनेस्टीको दुईवटा हेलिकोप्टर बाढीग्रस्त क्षेत्रमा राहत तथा उद्धारका लागि उडान भरिरहेका छन्।