अन्तर्राष्ट्रिय

ब्रिटिस प्रधानमन्त्रीद्वारा अमेरिकी राष्ट्रपतिको कडा आलोचना

एजेन्सी । ब्रिटेनकी प्रधानमन्त्री टरीजा मेले अमेरिकामा भएको हिंसाप्रति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको टिप्पणीको प्रतिकृया दिँदै चरम दक्षिणपन्थी विचारधारालाई सधैं निन्दा गर्नुपर्ने बताएकी छिन्। फासीवादी र उनीहरुका विपक्षीबीच कहिल्यै नैतिक समानता हुन नसक्ने उनले पत्रकारहरुलाई बताएकी छन्।

सोमबार अमेरिकाको भर्जिनिया राज्यको शारलट्सभिलमा चरम दक्षिणपन्थीको विरोध गर्दै निकालिएको जुलुसलाई एउटा कारले ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले सो घटनामा श्वेत अतिवादीका साथसाथै अतिवादको विरोध गर्ने प्रदर्शनकारी पनि दोषी भएको बताएपछि उनको आलोचना भएको थियो।

सोही विषयलाई लिएर ब्रिटिस प्रधानमन्त्रीले समेत उनको आलोचना गरेकी हुन् भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।