पु.समाचार

बाढी पहिरोसंगै महंगियो बजार भाउ ! कहिले ओभाउला …? जनताको घाउ !!

काठमाण्डौ, १ भदौ । देशको पूर्वी तथा तराइ क्षेत्र बाढी र पहिरोको चपेटाले थलिएको छ । धेैरैजसो आफन्त गुमाएको शोकमै छन् । किसानले लगाएको तरकारी खेतीबारी भेलबाढीले नामा निशाना मेटाइदिएको छ ।

बर्ष दिनलाई जोहो गरेको अन्नबाली पनि भिजेर कुहिन थालेको छ । उद्योग कलकारखाना डुबानमा पर्दा मजदुरको रोजीरोटि चुडिएको छ । व्यवसायी ठूलो घाटामा छन् । सरकार बाढीमा फसेकाहरुको राहत र उद्धारमा कुनै कमि हुन दिने छैनौ भनिरहेको छ । साउनमा आखा फुटेको गोरुले सधै हरियो देख्छ भने झै सरकारको आखा दूर दृष्टिसम्म किन पुग्न सक्दैन ? किन रतन्धो लागेको कमजोर सरकार कहिल्यै फेरिएर बलियो र स्वस्थ बन्दैन । सरकारले एकद्वार प्रणाली अवलम्बन गर्दै प्रधानमन्त्री राहत कोष मार्फत राहत तथा उद्धार कार्य अघि बढाएको छ । तर बिपत्ति अघि नसोच्ने सरकारले पछि पनि कसरी सोच्न भ्याओस् र ?

देशको भौगोलिक बनौट नै यस्तो हो या यो मुलुकमा सम्भावना र विकासको पूर्वाधार नै सकिदै गएका हुन् । आकाशबाट पानी नझरे खेतबारी बाझै, झर्र पानी आयो, डुबाउँछ, घाम लागो मजदुर बेहोसीमै ज्यान गुमाउछ, घाम नलागे शितलहरले कठ्याग्रिर ज्यान जान्छ । भुकम्पले तहसनहस बनाएको गोरखा र सिन्धुपाल्चोकको व्यथा अझै सकिएको छैन । देशको शान धरहरा कहिले उठ्ने हो पत्तो छैन । देशमा बर्षेनी बिपत्ती आइरहेको छ । ति बिपत्तीको सामना मात्रै जनताले गरिरहेका छन् । प्रचण्ड घाम लागोस् नेतालाई पोल्दैन, जतिसुकै चिसो होस् न्यानोमा नेता लुटुपुटु गर्न पाएकै छन् । बाढी आओस् कि पहिरो जाओस् वा भुकम्पले सबै भत्कियोस् आखिर आकाशबाट रमिता हेर्न पाएकै छन् । दया देखाउने कला पनि जानेकै छ । किन चाहियो दिर्घकालिन सोच र योजना । फेरी मन्त्री बन्ने पालो नआउँला उतै चिन्ता, जनताले सबै सुविधा पाए भने । आखिर अभाव र अप्ठ्यारोमै त हो जनतालाई फस्याङ फुसुङ बनाउने अनि लट्याउने पनि ।

नत्र बर्षेनी विपतको जोखिम मोल्दै आएको सरकारले किन बिपत्ति हुनबाट बचाउने कुनै दिर्घकालिन योजना नल्याइ बिपत्तिमा ज्यान गुमाएका परिवारलाई यति र उति लाखको मुल्य तोक्छ । किन जीवन भन्दा मृत्युमाथि राहत मुल्यका लागि सरकारसंग जनताले बार्गेनिङ गरिरहनु पर्ने । आखिर जीवन त सबैको एकै होइन र ?

जब देशमा बिपत्ति आउँछ । त्यसपछि बजार भाउ ह्वात्तै बढ्ने गरेको परिदृष्य पनि छर्लंगै छ । बिपत्तिको चरम पिडा खेपिरहेका उनै कमजोर अवस्थाका परिवारले फेरी अर्को आर्थिक संकटको सामना गर्नुपर्छ । हुनेखानेले जसोतसो सरसापटमा पनि दैनिकी टार्लान तर हुँदा खानेको हालत दिन भन्दा नि रात पिडादायी र भयानक बन्ने गर्छ ।

सरकारले देशमा बिपत्तिपछि राहत कोषमा रकम लगायतका खाद्यन्न लत्ता कपडा त जुटाउछ । तर खास पीडितले त्यो राहात बुझ्न पाउँदैनन् । पीडितका नाममा अरुकै राज चल्छ । नियम र प्रक्रियाको पर्खाइमा जुटाइएको राहत गोदाममै यतिकै थन्किने र कुहिएर जाने गर्छ ।
थाहै छ ! भुकम्पपछि देशमा बजार भाउ ह्वात्तै बढ्यो । त्यसो त कति व्यवसायीले मौकाका रुपमा पनि खाद्यान्न लगायतका सामाग्रीको कृतिम भाउ पनि बढाए । तर त्यसको कारवाही भने गर्न सकेन सरकारले । विपत्तिमा होसहवास हराएका जनताको तन र मनमा आत्मबल बढाउँन मलम पट्टी त परको कुरा बजार भाउले आकाश छुदासम्म पत्तो पाउँदैन । अनुगमन र कार्वाहीको के आशा गर्नु र ?
तरकारीको बजार भाउ
अहिले बजारमा तरकारीको मूल्य आकासिएको छ । यसैपनि नेपालमा उत्पादित तरकारी धान्न मुस्किल परिरहेको भन्दै महंगोमा तरकारी किनिरहेका उपभोक्तालले बाढी र पहिरोपछि अब झनै महंगो तरकारी खान बाध्य भएका छन् । बिषादीयुक्त तरकारी होस् कि अर्गानिक खोजिचासो अहिले त्यो पनि गर्न भ्याउदैनन् । तरकारीको भाउले नै सात्तो लाने भइसक्यो ।

५ दिनको अवधिमा तरकारीको मुल्य बृद्धि कम्तिमा ६ देखि ६३ प्रतिशत भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका वरिष्ठ बजार संचालक अधिकृत मनोज घिताल करिब ५ दिन यतादेखि तरकारीको मुल्यमा बृद्धि भएको बताउँछन् ।
अविरल वर्षापछि देशका विभिन्न स्थानमा परेको बाढीपहिरोकै कारण तरकारीको मूल्य बढेको उनको भनाइ छ । बाढी,पहिरोको तथा लगातारको वर्षाले कारण तरकारी बारीमा कुहिने, बजारसम्म ल्याउन सडक राम्रो नभएको जस्ता कारण तरकारीको मुल्य बढेको उनले बताए ।
कालीमाटीमा काठमाडौ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, चितवन, धादिङ, पर्सा र मकवानपुरबाट तरकारी आउने गरेको छ । अहिले पनि ति सबै जिल्लाबाट तरकारी नियमित आउन थालेको बताइएको छ । तराईबाट ४ प्रतिशत मात्रै तरकारी भित्रिने गरेको हुँदा त्यहाँबाट आउने तरकारीको खासै प्रभाव नभएको धिताल बताउँछन् ।

आजदेखि दुधको भाउ बढ्यो

आजदेखि दूधको मूल्यमा पनि बृद्धि भएको छ । प्रतिलिटर ६ रुपैयाँ बढेको छ । दुग्ध विकास संस्थान र निजी डेरीको दूधको मूल्य प्रतिलिटर अब ७० रुपैयाँ हुनेछ । दुग्ध विकास बोर्डले दूधको मूल्य ६ रुपैयाँ बढाउन स्वीकृति दिए लगतै आजदेखि नयाँ मूल्य कार्यान्वयनमा आएको हो । एक प्याकेट (आधा लिटर) दूधको मूल्य अब ३५ रुपैयाँ कायम भएको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ६४ रुपैयाँ थियो ।
बोर्डका अनुसार बढेको मूल्यमा किसानले एक लिटरमा ४ रुपैयाँ १४ पैसा पाउनेछन् । दूध बिक्री गर्ने बुथम्यानले एक लिटरमा एक रुपैयाँ थप पाउनेछन् भने दूध प्रशोधन गर्ने उद्योगले लिटरमा ८६ पैसा मात्रै पाउनेछन् ।